कारोबार संवाददाता
सोमवार, मंसिर २, २०७६
323

म्याग्दी-ठेकेदारको लापरबाहीले ७६ किलोमिटर बेनी–जोमसोम सडक स्तरोन्नति अलपत्र भएको छ । पर्यटकीय र ब्यापारिक केन्द्रको राष्ट्रिय गौरवको आयोजना रहेको कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडक आयोजना निर्माणमा ठेकेदारको लापरबाहीले अलपत्र परेको हो ।
रािष्ट्रयसँगै गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको ४३५ किलोमिटर दूरीको त्रिवेणी–कोरला जोड्ने कालिगण्डकी करिडोर सडक योजनामा पूर्वाधार निर्माणमा ढिलासुस्तीले समयमा काम सम्पन्न नहुने देखिएको छ । करिडोर पाँच अर्ब रुपैयाँको लागतमा म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोम हुँदै चीनको सिमाना कोरला नाका जोड्ने १८६ किलोमिटर दूरीको सडक स्तरोन्नतिमा ढिलासुस्ती भएको प्रतिनिधिसभा सदस्य मुस्ताङका प्रेम तुलाचनले बताए । खरिद पक्रियामा देखिएको मतभेदले ठेकदारले बेनी–जोमसोम र जोमसोम–कोरला सडक निर्माणमा ढिलासुस्ती भएको छ । जोमसोमदेखि ११० किलोमिटर उत्तरतर्फ कोरला नाकामा सहज रूपमा यातायातको पहुँच पु¥याउन ७ वटा प्याकेजमा दुई लेनको ग्राभेल सडक निर्माण भइरहेको सांसद तुलाचनले बताए ।
गण्डकी प्रदेशको गौरवको आयोजना २०७७ मंसिरसम्म सम्पन्न गर्नुपर्ने बेनी–जोमसोम सडकअन्तर्गत गलेश्वरदेखि नारच्याङका सडक निर्माणको ठेक्का लिएको युनाइटेड विल्डरले दसंै तिहारपछि कुनै पनि साइटमा काम गरेको छैन । समयमै काम सम्पन्न गर्नका लागि सडक निर्माणमा आवश्यक मेसिनरी साधन, श्रमिक जनशक्ति लगाएका छैनन् ।
जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले कालिगण्डकी करिडोर आयोजना स्तरोन्नतिको काम शून्य अवस्थामा रहेको छ । ठेकदारले काम नगर्ने अवस्थामा पुगेको बताउँदै ठेकेदारलाई कारबाही गर्नुपर्ने बताए । बेनी–जोमसोम सडक ढिलासुस्ती गर्ने ठेकेदारलाई कानुनी दायरामा ल्याउन सञ्चारमाध्यमले दबाब सिर्जना गर्न म्याग्दी मिडिया सोसाइटीको तेस्रो साधारणसभामा पत्रकारलाई आग्रह गरे ।
जोमसोमदेखि कोरलासम्मको सडकलाई दुई लेनको ग्राभेल र बेनी–जोमसोम सडकलाई दुई लेनको कालोपत्रे गर्ने योजना २०७७ मंसिरसम्म सम्पन्न गर्ने लक्ष्य छ । ११ वटा खण्डमा विभाजन गरिएको सडक योजनामा परिचालित निर्माण कम्पनीले मोटरेबल पुल निर्माणलगायतको पूर्वाधार निर्माणमा ढिलासुस्ती गरेका छन् । सडक निर्माणमा गुणस्तरभन्दा पनि जथाभावी मेसिनरी सामान प्रयोग गरेर कमाउने शैली मात्र प्रयोग भएको थियो ।

त्यस्तै गण्डकी प्रदेशका सांसद विनोद केसीले बजेट अभावले राष्ट्रिय, प्रदेश र जिल्लाका विकास आयोजना ढिलासुस्ती नभएको बताउँदै निर्माण ब्यवसायीको लापरबाहीले बेनी–जोमसोम लगायतका ठूला आयोजना ढिलासुस्ती तथा अलपत्र अवस्थामा छन् । अलपत्र छोड्ने निर्माण ब्यवसायीलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए ।
सडक निर्माण निस्केको ढुंगा र माटो जथाभावी फाल्नाल, जोखिमयुक्त ठाउँमा पुल समयमा नबन्दा हिमालपारिको जिल्ला जाने आन्तरिक तथा बाह्य पर्यटकले सास्ती खेप्नुपरेको छ । कालिगण्डकी करिडोर सडकको स्तरोन्नति समयमा सम्पन्न गरेर प्रदेशको समृद्धिको यात्रालाई टेवा पुग्ने आश गरिए पनि ठेकेदारको बेवास्ता, सरोकारवालाको कडा निगरानी नहुनु र कानुनी कारबाही निर्माण ब्यवसायीलाई नगर्दा कालिगण्डकी करिडोर सडक योजना अलपत्र अवस्थामा पुग्ने देखिन्छ ।

 

धिरन खत्री