कारोबार संवाददाता
बिहिवार, कार्तिक २८, २०७६
325

पाँचथर- करिब दुई दशकपछि जनप्रतिनिधि पाएर खुसी भएका नेपाली जनता झन्डै साढे दुई वर्ष बित्दा पनि जनअपेक्षाअनुरुप काम नहुँदा गुनासो गरेका छन् । चुनाबको बेला चर्कोचर्को चुनावी नारा लिएर मैदानमा उत्रेका जनप्रतिनिधिले काम गर्न नसक्दा गुनासो गरेका हुन् । ढिलासुस्ती, कामचोर कर्मचारीतन्त्रबाट आजित जनताले जनप्रतिनिधिबाट अपेक्षा अनुरुप कार्य हुन नसकेपछि एक नगरपालिका र सात गाउँपालिका रहेको पाँचथरका जनता गुनासोको पोको बोकेर हिँड्ने गरेका छन् ।
साढे दुई वर्षसम्म धेरै जनप्रतिनिधि बिभिन्न कार्यक्रमको उद्घाटन, रिबन काट्ने र विभिन्न संघ संस्थाले आयोजन गर्ने सम्मान कार्यक्रममा अबिर लगाउँदै र अतिथिको रूपमा भाषण गर्दै बिताए । साना र टुक्रे योजनामा रुम्लिँदै साढे दुई वर्ष बिताएका जनप्रतिनिधिले नियम र कानुनले काम गर्न नदिएको भन्दै टार्ने गरेका छन् । जनप्रतिनिधिको भूमिका प्रभावकारी हुन नसक्दा उही ढिलासुस्तीले सेवाग्राही आजित हुनुपरेको छ । मिक्लाजुङ गाउँपालिका–३ का युवा रबिन फियाकले जनप्रतिनिधि पनि सेवाग्राहीमैत्री हुन नसक्दा कर्मचारीभन्दा फरक महसुस गर्न नसकेको बताए । “अब हामीले जिताएर पठाएको मान्छेबाट सजिलै काम हुन्छ होला भनेको तर पहिलेको कर्मचारीतन्त्र अझै सकिएको रहेनछ,” फियाकले दुःखेसो पोख्दै भने ।
जनअपेक्षा बढी र त्यसलाई पूरा गर्न समय लाग्ने जनप्रतिनिधि बताउँछन् । विभिन्न ऐन र नियमावली निर्माण गर्न समय लागेकाले अपेक्षाअनुरुप कार्य गर्न ढिला भएको मिक्लाजुङ गाउँपालिकाका प्रमुख अमरराज माखिमले बताए । उनले भने, “पहिलो वर्ष निर्णय प्रक्रियामा ढिला भएकाले काममा ढिला भएको हो ।” सुरुवाती समय नीति, नियम र निर्देशिका बनाउन लाग्यो अबको समय समृद्धि र विकासमै केन्द्रित हुने उनको भनाइ छ ।