कारोबार संवाददाता
बिहिवार, कार्तिक २८, २०७६
394

दाङ-जिल्लाको सदरमुकाम घोराहीमा एक टोल विकास संस्थाले आफ्नो क्षेत्रभित्र व्यवसाय गर्दै आएका व्यवसायीबाट गैरकानुनी रुपमा सहयोग रकम लिने गरेको छ । घोराही उपमहानगरपालिका–१५ भीमसेन टोल विकास संस्थाले टोलमा व्यवसायी गर्दै आएका व्यवसायीसँग रकम लिएको हो । संस्थाले व्यवसायीलाई सहयोग भनेर नगदी रसिद काटेको छ । तर रकम कुन प्रयोजनका लागि लिएको भनेर रसिदमा उल्लेख गरिएको छैन । प्रतिव्यवसायी ५ सयका दरले तोकेर रकम उठाइएको छ ।
संस्थाले बाहिरबाट आएर व्यवसाय गरेकाबाट मात्र रकम लिएको एक व्यवसायीले बताए । “आफ्नै घर भएका व्यवसायीबाट रकम लिएको छैन हामी भाडामा व्यवसाय गर्नेबाट रकम लिएको छ,” एक व्यवसायिले भने । टोल विकास संस्थाको लागि सहयोग भएको भए स्वेच्छिक हुनुपर्ने उनको भनाइ छ । तोकिएर नै रकम लिनु राम्रो नभएको व्यवसायीले बताएका छन् । टोल विकास संस्थाका सचिव नवराज श्रेष्ठले भने टोल विकास संस्थाले निर्णय गरेर नै सहयोग रकम लिएको बताएका छन् । उनले टोल विकास संस्थामा व्यवसाय गर्दै आएका व्यवसायीसँग वार्षिक रूपमा ५ सय रुपैयाँ लिइने बताए । घर धनीसँग भने पहिलेदेखि नै रकम लिइने गरेको उनको भनाइ छ । आफूहरू नगरपालिकासँग सहकार्य गरेर अगाडि बढने समेत बताए । यसरी उठाएको रकमबाट टोल विकास संस्थाको क्षेत्रमा सडक बत्ती मर्मत, सरसफाइ तथा सुरक्षाका लागि प्रयोग गरिने सचिव श्रेष्ठको भनाइ छ ।
सरसफाइमा बाहिरका मानिस प्रयोग गरेर गर्नुपरेमा, सडक बत्ती मर्मतका लागि आवश्यक सामग्री खरिदमा तथा सुरक्षाका लागि प्रयोग गरिने उनले बताए । “हामीले उठाएको रकम टोल विकासका लागि खर्च गर्ने होइन,” सचिव श्रेष्ठले भने । रकम उठाउन नमिल्ने भएमा नउठाउने समेत उनको भनाइ छ । “यदि रकम उठाउन मिल्दैन भने हामी रकम उठाउँदैनौं,” श्रेष्ठले भने । व्यवसायीबाट यसरी रकम लिन नहुने दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले बताए । यो नियमविपरीत रहेको उनको भनाइ छ । टोल विकास संस्थाले आफूखुसी तोकेर रकम लिन नपाइने बताए । “व्यवसायीले कति स्थानमा रकम तिर्ने हो व्यवसायीले रकम तिर्न सक्दैनन्,” अध्यक्ष भुसालले भने । घोराही उपमहानगरपालिका–१५ का वडाध्यक्ष रमेशकुमार पाण्डेले टोल विकास संस्थाले यसरी रकम लिन नहुने बताए ।