दिलबहादुर केसी
बिहिवार, कार्तिक २८, २०७६
1988

 

नेपाल–चीन सीमा


दोलखा-नेपाल–चीन सीमामा पर्ने दोलखाको बिगु गाउँपालिका–१ लप्चीस्थित कोर्लाङपारिको ५७ नम्बर सीमा स्तम्भ भेटिएको छ । सीमा स्तम्भ नभेटिँदा अन्यौलको स्थिति भइरहेको बेला स्थानीयले पुरानै ठाउँमा सीमा स्तम्भ फेला पारेका हुन् ।

यो सीमा स्तम्भ चिनियाँ पक्षले सारेर नेपाली भूभाग मिचेको भनी विवाद हुँदै आएको छ । विगू गाउँपालिका वडा नं. १(साविक लामाबगर गाविस) का वडाध्यक्ष हिरण्यबहादुर गुरुङ सहितको टोलीले सीमाना पुगेर सीमा स्तम्भ फेला पारेको हो । लप्चीबाट सीमा स्तम्भबारे जानकारी पाएका स्थानीयलाई लिएर २ दिनमा लप्ची गाउँबाट ५७ नं. पिलर पुगेको उनले बताए । गत वैशाख अन्तिममा त्यहाँ पुग्दा हिउँले ढाकिएको थियो । कोर्लाङपारी डाँडामा पुगेर हिउँले ढाकिएको ठाउँ खोतल्दा चटरटानमै खोपेर ५७ नं. २०१९ लेखिएको सीमा स्तम्भ फेला परेको वडा अध्यक्ष गुरुङले बताए । स्थानीयले २०१९ सालमा नेपाल र चीनको संयुक्त टोलीले गाडेको सीमा स्तम्भ यही भएको दाबी गरेका छन् ।
राज्यको कुनै पनि संयन्त्रको उपस्थिति नहुने लप्चीमा चिनीया अधिकारीहरु बेलाबेलामा आउने गरेको स्थानीय बताउँछन् । हराएको भनिएको सीमा स्तम्भ नदेखाउन चिनीयाँ पक्षले लप्चीबासीलाई धम्की समेत दिने गरेको स्थानीय बताउँछन् । चिनीया पक्षको धम्कीकै कारण स्थानीयले नेपाली पक्षलाई स्तम्भ देखाउन नमान्दा पटक पटकको आफ्नो अनुरोधपछि मात्र स्थानीयले आफूलाई सीमा स्तम्भ देखाएको वडा अध्यक्ष गुरुङले जानकारी दिए ।
लप्ची गाउँबाट विहानै सीमा खोजीका लागि हिँडेको टोली बीचमै रात विताएर भोली पल्ट ९ बजेतिर मात्र सीमाना पुगेको थियो । टोलीले २०१९ साल (सन् १९६३) मा निर्माण गरिएको सो स्तम्भ फेला पारेको हो । २०१९ सालमा निर्माण गरिएको स्थान कोर्लाङपारिको टुप्पोबाट फेदमा सारिएको रिपोर्ट नापी विभाग हुँदै सरकारलाई बुझाएको थियो । स्तम्भ नभेटेपछि सीमा मिचिएको भन्दै उक्त सीमा स्तम्भ पुरानै अवस्थितिमा लैजान सरकारले चिनियाँ पक्षसँग अडान राख्दै आएको छ ।
“ढुंगामा कुँदेर दुवै देशको नाम लेखेर बनाइएको सीमा स्तम्भ कोर्लाङपारिको टुप्पोमा फेला पा¥यौं,” वडा अध्यक्ष गुरुङले कारोबारसँग भने, “सीमागाउँ लप्चीबाट त्यहाँ पुगेर ३ दिनमा तल आइपुगियो । बीचमा आफैंले बोकेका खानेकुरा खाएर टेण्टमा बसेर फर्कियौं ।” सीमा स्तम्भ खोजीमा विगू गाउँपालिका उपाध्यक्ष सञ्जिव ओलीले नेतृत्व गरेर गएता पनि खराब मौसम र कठिन भूगोलका कारण अरु लप्चीगाउँमै बसेका थिए ।
२०६३ मा सरकारले खटाएको टोलीले पहिरोले बगाएको अवस्थामा फेला पारेको ५६नम्बर पिलर पुनर्निर्माण गरेको छ । यो पिलर पुग्न भने लप्चीबाट डेढ घण्टामात्र हिँडे पुग्छ । लप्चीका स्थानीय कर्मा शेर्पाले ५७ नं. पिलरका बारेमा लप्चीका पनि केही वृद्धहरुलाई मात्र जानकारी भएकाले सबैले देखाउन नसक्ने बताए । ५७ नम्बर सीमा स्तम्भ २०१९ पछि दुईपटक भएको सीमा अद्यावधिक साथै सुपरीवेक्षणका क्रममा नभेटिएको भन्दै नेपाली पक्षले आशंका गर्दै आएको थियो । गाउँबाट नजिकै बाटोमा पर्ने हुनाले धेरैले ५६ नं. पिलर पुगेर फर्किन्छन् ।
सीमानाको ५८ र ५९ नं. पिलर भने जुमखोलाको दायाँबायाँ ङ्याङलुङमा पर्छ । यहाँ पुग्न भने लामाबगरबाट एकदिनमा पुग्न सकिन्छ ।