कारोबार संवाददाता
शुक्रवार, कार्तिक २२, २०७६
369

प्यूठान-स्थानीयको आयआर्जनमा सुधार गर्ने उद्देश्यले यहाँका बस्तीस्तरमा बाख्रापालन र तरकारी खेतीलाई व्यावसायिक रूपमा अगाडि बढाइने भएको छ । स्वर्गद्वारी नगरपालिका अन्तर्गत रहेका विभिन्न ९ वटा वडाका बस्तीमा स्थानीय सम्भावनामा आधारित रहेर पकेट क्षेत्र निर्माण गर्न थालिएको हो । आड्रा नेपालको आर्थिक सहयोग तथा रूपान्तरण नेपाल, फूलबारी एकीकृत ग्रामीण विकास संस्था र नगरपालिकाको सहझदारीमा कृषि तथा जीविकोपार्जन परियोजना अगाडि बढाइने भएको हो ।
नगरपालिकाका विभिन्न बस्तीमा ६० वटा समूह गठन गरी कार्यक्रम अगाडि बढाइने फूलबारि एकीकृत ग्रामीण विकास संस्थाका कार्यक्रम अधिकृत मोहोन सुवेदीले बताए । “झण्डै बाह्र सय सदस्य कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित हुनेछन्,” उनले भने, “व्यावसायिक उत्पादन र बजार प्रवद्र्धनलाई समेत कार्यक्रमले मुख्य जोड दिएको छ ।” स्थानीयको मागअनुसार कृषि तथा जीविकोपार्जन सम्बन्धी विभिन्न क्रियाकलाप सञ्चालन गरिने उनको भनाइ छ । स्थानीयको सहभागितामा सम्भाव्यता अध्ययनको कामसमेत सकिएको उनले बताए । “धेरै ठाउँबाट व्यावसायिक बाख्रापालन र तरकारी खेतीको सम्भावना र माग आएको छ,” उनले भने । कतिपय स्थानबाट गैरकाष्ठ वनपैदावार कार्यक्रमको माग आएको उनले बताए ।
समूह सदस्यलाई व्यावसायिक तालिम, बजार प्रवद्र्धन, सिँचाइ प्रणाली निर्माण, क्षमता विकास तथा वित्तीय साक्षारता कक्षालगायत कार्यक्रम अगाडि बढाइने छ । कार्यक्रमको उद्देश्यअनुसार व्यावसायिक उत्पादनसँगै लैंगिक हिंसा न्यूनीकण, उत्थानशिलता तथा समावेशी विकास प्रवद्र्धनलगायत क्रियाकलाप सञ्चालन गरिने आड्रा नेपालका परियोजना अधिकृत कविर स्थापितले बताए । ५ वर्षसम्म सञ्चालन हुने परियोजनाका गतिविधिमा नगरपालिकाले सहकार्य गर्ने नगरप्रमुख नेत्रबहादुर रोकायले बताए । परियोजनाका बारेमा बुधवार सरोकारवालाबीच स्वर्गद्वारी नगरपालिका भिगृमा प्रारम्भिक जानकारी गराएको छ । ५ वर्षमा झण्डै ५ करोड रुपैयाँ परियोजनामार्फत लगानी गर्ने जनाइएको छ ।