कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६
163

बाराको सिमरा औराहमा तेस्रो कृषि, पर्यटन, औद्योगिक व्यापार महोत्सव हुने भएको छ । आयोजक एस फाउन्डेसन अफ नेपालले पत्रकार सम्मेलन गर्दै सिमरा औराहमा तेस्रो बारा महोत्सव २०७६ मंसिर १९ देखि मंसिर २९ गतेसम्म हुने जानकारी गराएको हो । द लिड इन्टरटेनमेन्ट एन्ड एडभरटाइजिङसँगको सहकार्यमा आयोजना गर्न लागिएको महोत्सवमा आयोजक एस फाउन्डेसन अफ नेपालका अध्यक्ष बेदप्रसाद भट्टले कृषि, पर्यटन, औद्योगिक ब्यापार मेलाका रूपमा (तेस्रो बारा महोत्सव–२०७६) आयोजना गर्न लागिएको बताए ।
महोत्सवमा १५० भन्दा बढी स्टल रहने महोत्सवमा कृषि उत्पादनको बजारीकरण तथा प्रवद्र्धन, पर्यटन प्रवद्र्धन, औद्योगिक उत्पादनको प्रदर्शनी, दैनिक स्थानीय तथा राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रमको प्रस्तुती सहित महोत्सवमा बालमेलाको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

महोत्सवमा करिव एक लाख दर्शकले सहभागिता जनाउने आयोजकको दाबी छ । महोत्सवलाई सफल बनाउन बिभिन्न उप समिति बनाइने बताउँदै अध्यक्ष भट्टले विशेष आर्थिक क्षेत्र सेजसमेत अवलोकन गर्न मेला उपयुक्त रहने बताए । जितपुर सिमरा उपमहानगरपालिका–४ का वडा अध्यक्ष भोजबहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा द लिडका अध्यक्ष बिमल खड्गी, समाजसेवी त्रिलोक ठकुरी, द लिडका व्यवस्थापक पारश श्रेष्ठ, सत्यराज घिमिरे, आयोजक कमिटिका व्यवस्थापकहरू विकास पाण्डे, गणेश ठकुरी, सारदा पोखरेल लगायतको उपस्थिति थियो ।