कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६
172

पोखरा- सहारा एकेडेमीको सहयोगार्थ पोखरामा आयोजना गरिएको देउसीभैलो कार्यक्रमबाट ७ लाख ६९ हजार ४ सय ११ रुपैयाँ संकलन भएको छ । पोखराका विभिन्न ठाउँमा ५ दिन खेलिएको देउसीभैलो कार्यक्रमबाट गत वर्षको तुलनामा यसवर्ष २ लाख ५८ हजार रुपैयाँ बढी संकलन भएको सहारा क्लबले जनाएको छ ।
क्लबले एकेडेमीका लागि हरेक वर्षजसो तिहारमा देउसीभैलो कार्यक्रम आयोजना गर्दै आएको क्लबका अध्यक्ष केशवबहादुर थापाले बताए । सहारा एकेडेमीमा आश्रित कठिन परिस्थितिका १३ जिल्लाका २५ जना बालकको भरणपोषण र शिक्षाका लागि खर्च गरिने अध्यक्ष थापाले बताए । क्लबको स्थापनाकालदेखि नै यसरी नै भैलो खेल्दै संकलित रकमबाट पोखराको सामाजिक र खेलकुद क्षेत्रमा खर्च गर्दै आएको उनले जनाए ।
सहारा क्लब पोखराले आयोजना गर्ने आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता र देउसीभैलो कार्यक्रमबाट बचत भएको रकम एकेडेमीमा खर्चिँदै आएको क्लबका महासचिव रामजी अधिकारीले बताए । नेपाली कला संस्कृतिको संरक्षण गर्ने अभियानअन्तर्गत पनि क्लबले विभिन्न कला संस्कृतिको आधारमा आधारित गीत तथा नृत्य प्रस्तुत गर्दै आएको सांस्कृतिक संयोजक विनु राना मगरले बताइन् ।