कारोबार संवाददाता
बुधवार, आश्विन २९, २०७६
371

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमअफ) को बैठकमा सहभागी हुन अर्थमन्त्री डा. युवराज खतिवडा अमेरिका प्रस्थान गरेका छन् । आगामी बिहिबारदेखि अमेरिकाको वासिंटन डिसीमा आयोजना हुन लागेको विश्व बैंक र आइएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री खतिवडा मंगलबार अमेरिका प्रस्थान गरेका हुन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष अन्तर्गत नेपाल दक्षिण पूर्व एशियाली मतदान समूहको सदस्य हो । बैठकमा अर्थमन्त्रीले विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोषका वरिष्ठ अधिकारीहरुसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम तय भएको अर्थमन्त्रालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय विकास संस्थाबाट नेपालको नीतिगत सुधारको लागि प्राप्त हुँदै आएको सहायतालाई थप प्रभावकारी बनाउने उपायलका बारेमा छलफल गर्नेछन् । यस्तै नेपालले प्राप्त गर्दै आएको सहायताका थप क्षेत्र र सम्भावनाबारे विस्तृत छलफल गर्ने कार्यक्रम तय भएको मन्त्रालयले जनाएको छ । सोही अवसर पारेर विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थासँग नेपालको सहकार्यको ५० वर्ष पुगेको अवसरमा (अक्टुबर १७ तारिखका दिन) बिहिबार आयोजना हुने कार्यक्रममा समेत सहभागी हुने जनाइएको छ ।

बैठकमा सहभागी हुने सिलसिलामा संघीयता कार्यान्वयनको क्रममा नेपालले हासिल गरेको अनुभव तथा नेपाललाई सहयोग गरिरहेका अन्य दातृ मुलुक तथा संस्थाका उच्च पदाधिकारीहरुसँग पनि उनले द्विपक्षीय भेट गर्ने कार्यक्रम छ ।
दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्षता हाल नेपालले गरिरहेको छ । उक्त बैठकमा सार्क मुलुकका अर्थमन्त्रीहरु सहभागी हुँदैछन् । उक्त कार्यक्रम पनि बिहिबार नै तोकिएको छ । सार्क स्थतरीय अर्थमन्त्रीहरु सम्मिलित अनौपचारिक बैठकको अध्यक्षता अर्थमन्त्री खतिवडाले नै गर्ने कार्यक्रम तय भएको छ । सो अवसरमा खतिवडाले आगामी शुक्रबार नै एशियाली विकास बैंकका उपाध्यक्षसँग समेत आपसी सहयोगका विषयमा छलफल कार्यतालिका छ ।
प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सह–सचिव श्रीकृष्ण नेपाल समेत सहभागी छन् । अर्थमन्त्री खतिवडा कार्तिक ६ गते स्वदेश फर्किने कार्यक्रम छ ।