विप्लव काफ्ले
मंगलबार, आश्विन २८, २०७६
1238

चितवन-भरतपुर महानगर क्षेत्रमा नक्सा पास गरेर घर बनाउने क्रम घट्न थालेको छ । ४० वर्षको तथ्यांक हेर्दा वर्षेनी नक्सा पास गर्ने क्रम घटेदो देखिन्छ । २०७२ साल वैशाख १२ गते गएको शक्तिशाली भूकम्पपछि घर, संरचना बनाउँदा अनिवार्य रुपमा भूकम्प प्रतिरोधी बनाउनुपर्ने गरी मापदण्ड कडाईका साथ कार्यान्वयनमा आएको छ । तर, भरतपुर महानगरको ग्रामीण क्षेत्रमा अझै नक्सा पास नगरी घर बनाउनेहरु धेरै छन् ।
सरकारले राष्ट्रिय भवन संहिता, बस्ती विकास सहरी योजना तथा भवन निर्माण सम्बन्धि आधारभूत निर्माण मापदण्ड कार्यान्वयनमा ल्याएको छ । भरतपुर महानगरपालिकको अभिलेखका आधारमा ४० वर्षको अवधिमा ३९ हजार ४ सय ७८ घरका नक्सा दर्ता भएका छन् । जसमध्ये २९ हजार ८ सय ७८ नक्सा पास भएका छन् । २०३५ देखि ०५८ सालसम्म ११ हजार ५ सय ४१ घरका नक्सा दर्ता भएका थिए । सो बेला १० हजार ४ सय ८७ नक्सा पास भएको अभिलेख भेटिन्छ । २०५८ साल देखि ०७२ सालसम्म हरेक वर्ष सरदर १ हजार ५ सय घरका नक्सा दर्ता भएको देखिन्छ । वर्षेनी नक्सा पास गर्ने दर घट्दो देखिन्छ ।
महानगरमा केही वर्ष यता बसाईसरी आउने धेरै छन् । प्लटिङमा धमाधम घर बन्न थालेका छन् । तर, नक्सा पास गर्न आउने कम छन् । पछिल्लो ३ वर्षलाई केलाउँदा नक्सा पास गर्ने दर ओरालो लागेको छ । ०७३÷०७४ मा ३ हजार ५ सय ६४ घरका नक्सा दर्ता भएकोमा २ हजार ४ सय ३८ घरमात्रै नक्सा पास भएका छन् ।
२०७४÷०७५ मा २ हजार २३ घर नक्सा दर्ता भएकोमा ९ सय ७२ मात्रै पास भएका छन् । गत वर्ष १ हजार ७ सय ४९ नक्सा दर्ता भएकोमा ८ सय ९६ मात्रै पास भएका थिए । गत वर्ष कुल १ हजार ५ सय ६८ घरले निर्माण सम्पन्नको प्रमाणपत्र पाएका थिए । पुराना ३ सय ८९ घरले नक्सा पास गराएका छन् ।
“ग्रामीण क्षेत्रबाट अझै नक्सा पास न्यून भएको अवस्था छ”, महानगरको भवन निर्माण शाखाका इञ्जिनियर सूर्यप्रकाश लामाले भने, “शहरी क्षेत्रमा पनि सोचे अनुसारको छैन ।” कर्जा लिन, व्यावसायीक प्रयोजन, खानेपानी तथा विजुली लगायतका सुविधा उपभोग गर्न बाध्यतात्मक अवस्थाका कारणमात्रै नक्सा पास गर्नेहरु धेरै रहेको पाइन्छ । “आफ्नै सुरमा मापदण्ड विपरितका संरचना बनाउनेमाथि अब निगरानी बढाइनेछ”, उनले भने, “कुनै न कुनैदिन नक्सा पास अनिवार्य चाहिन्छ, त्यो बेला आउने समस्याबारे घरधनी बेलैमा सचेत हुन जरुरी छ ।” उनका अनुसार साविक नगरपालिका क्षेत्रमा नक्सा पास गर्नेहरु धेरै छन् ।
साविक उपमहानगरपालिका क्षेत्रमा गाभिएका मंगलपुर, फुलबारी, गीतानगर, शिवनगर, पटिहानी, साविक चित्रवन र नारायणी नगरपालिका र कविलास क्षेत्रबाट नक्सा पास गर्ने ज्यादै न्यून छन् । “जनशक्ति कम हुँदा अनुगमन, नियमन गर्न कठिन थियो”, उनले भने, “अहिले ३ वडासम्म १ इञ्जिनियरले हेर्ने व्यवस्था मिलाइएको छ, छिटै अन्य प्राविधिक समेत थप हुँदैछन्, अब नक्सा पास नगर्ने छुट रहनेछैन ।” उनका अनुसार वडा तहमा खटिने इञ्जिनियर, सव–इञ्जिनियरले नक्सा पास प्रक्रियामा ल्याउने बताए ।
१ हजार स्क्वायर फिटसम्मका भवनको दर्ता, पास, निर्माण सम्पन्न प्रमाणपत्र दिने काम वडा तहबाटै हुँदै आएको छ । भवन निर्माण गर्दा प्रयोग हुने रड, सिमेण्टको मात्रा, सडकबाट छोड्नुपर्ने दुरी, झ्याल–सटर बनाउँदा चाहिने सेटव्याक लगायतका विधि र मापदण्डबारे राष्ट्रिय मापदण्डमा उल्लेख छ । मापदण्ड विपरितका घर, संरचना भत्काउन सक्ने अधिकार स्थानीय तहलाई छ ।

सबैभन्दा धेरै घर ११ नम्बर वडामा
भवन निर्माण शाखाका नायव सुब्बा खगेन्द्र लामिछानेका अनुसार गत वर्ष ११ नम्बर वडामा सबैभन्दा धेरै घर बनेका छन् । ३ सय ७७ नक्सा दर्ता भएकोमा २ सय २३ घर नक्सा पास भएका छन् । यस्तै साउन यता ५२ वटा नक्सा दर्ता भएका छन् भने ११ घरको नक्सा पास भएका छन् ।
धेरै घर बन्ने वडाहरुमा १०, १२, ४, ५ अगाडी छन् । साउन यतामात्रै २ सय ६५ घरको नक्सा दर्ता भएका छन् । ७७ घरको नक्सा पास भएको छ । ३ सय ३९ घरले निर्माण सम्पन्नको प्रमाणपत्र लिएका छन् । नक्सा दर्ता गरेपछि निर्माण सम्पन्न गर्ने म्याद ४ वर्षको हुन्छ । डिपिसी बनाएपछि बल्ल नक्सा पास हुन्छ ।