कृञ्जला पुलामी
शुक्रवार, आश्विन १७, २०७६
757

सिन्धुली- दसैं भन्ने बित्तिकै सबैलाई पिङको सम्झना आउँछ । तर। पछिल्ला दिनहरूमा पिङ संस्कृति भने ओझलमा पर्दै गएको छ ।
केही समय अघिसम्म दसैंको नौरथा सुरु भएपछि गाउँदेखि सहरसम्म पिङको माहोल देखिन्थ्यो । खासमा दसैं र तिहार भनेपछि गाउँमा पिङकै बढी महत्व हुन्थ्यो । तर, आजभोलि भने त्यो उत्साह गाउँघरमा देखिँदैन । विभिन्न प्रविधिको विकास तथा युवा पुस्ता सहर केन्द्रत हुन थालेका कारण पिङको मौलिकता हराउँदै गएको देखिन्छ ।

“अहिले समय फेरियो । पिङ संस्कृतिलाई हामी भुल्दै गइरहेका छौँ ।” ज्येष्ठ नागरिक रामबहादुर हायूले भने, “पहिले पिङ नहाली दसैं नै आउँदैन थियो । पिङ बाट्न सबैले घरबाट एक–एक मुठ्ठा बाबियो ल्याउँथे । अरू बेला रिसाएका आफन्त छरछिमेक पनि यो बेला मिलेर काम गर्थे ।” ‘रिसाएका र टाँडिएका आफन्तलाई पनि नजिक ल्याउने चाड दसैं पछिल्लो समय खल्लो हुँदै गएको छ,” उनले भने ।
बढ्दो आधुनिकीकरण, युवा पुस्ताहरू सहर, बजार र बिदेसिएका कारण गाउँघरमा पिङ संस्कृति हराउँदै गएको उनि बताउँछन् । “अहिलेका पुस्ताको खाने, लाउनेतिर मात्र ध्यान छ । चाड पर्व संस्कार, संस्कृति प्रति ध्यानै छैन । उनले भने, “अझै पनि हाम्रा सन्तानलाई मौलिक संस्कृतिप्रति जागरुक बनाएनौं भने पिङ एकादेशको कथामा मात्रै सीमित हुनेछ ।”
एक सय ३ वर्षकी कुमारी सुनुवारलाई हिजोआजको दसैं–दसैं जस्तै लाग्दैन । “खै गाउँ घरमा पिङ नै हाल्दैनन्, कसरी दसैं लाग्नु त ? उनले पहिलेका दिन सम्झदै भनिन्, “पहिले नौरथा लाग्ने बित्तिकै पिङ हालिन्थ्यो । टीकाको दिन धर्ती छोड्न् पर्छ भनेर सबैले लाइन लागेर पिङ खेल्थ्यौं । अहिले त टीका लगाएपछि सकियो दसैं ।” बाबियो सुकाउने र पिङ बाट्ने काममा पाकादेखि युवा र किशोर–किशोरी लाग्थे । आखिर त्यो समयमा गाउँमा मनोरञ्जन भनेकै पिङ संस्कृति थियो ।
उनका अनुसार पहिले किसिम–किसिमका पिङ बनाइन्थ्यो । “ठूला रुखका तेर्सो परेको हाँगामा पिङ । बाँस वा सालका चारवटा लिंगो गाडेर पनि पिङ बनाइन्थ्यो ।” कुमारीले भनिन्, “काठका दुई ठूला खम्बामा फल्याकबाट बनाइएको फनफनी घुम्ने रोंगटे पिङ र जाँते पिङ पनि हुन्थ्यो ।”
दसैंका बेला हालिने पिङ गाउँमा पनि हराउन थालिसकेको छ । केही वर्ष अघिसम्म दसैं आउँदा गाउँमा र चोक–चोकमा देख्न पाइने पिङ अहिले भने त्यती देख्न पाइँदैन ।
दसैंको बेला पिङमा मच्चिएर खेल्ने पुरानो परम्परा अहिले ग्रामीण क्षेत्रमा विरलै मात्र देख्न सकिन्छ । दसैं लाग्नासाथ गाउँघरमा युवाहरू जम्मा हुने बाबियो काटेर ल्याउने लठ्ठे पिङ राख्ने र बालबालिकादेखि वृद्धवृद्धासम्म दसैंको दिन भुइँ छोड्नुपर्छ भन्ने मान्यताले पनि गाउँघरमा अनिवार्य पिङ हाल्ने चलन थियो ।
कतिपय ठाँउहरूमा पिङ भेटिइहाले पनि त्यो बजारका डोरी तथा लठ्ठाका मात्रै हुन्छन् । रमाइलोका लागि बाँसका लिंगोमा डोरी झुन्याउने गरिन्छ । साथै दसैंमा मात्र खेलिने पिङ अहिले सहर बजारमा भने मेला महोत्सवमा राखिन्छ ।