कारोबार संवाददाता
शुक्रवार, आश्विन १७, २०७६
494

लमजुङ-बेंसीसहर नगरपालिकाले निर्माण गरेको नगर प्रोफाइल प्रमाणीकरणका लागि सरोकारवालासँग छलफल गरेको छ । करिब दुई महिना लगाएर तयार गरिएको नगर प्रोफाइलको प्रमाणीकरणका लागि सरोकारवालासँग छलफल गरेको हो ।
नगरपालिकाको योजना तर्जुमा सहज बनाउन साथै नगरको वस्तुस्थिति र नागरिकको अवस्थावारे जानकारी राख्नका लागि नगर प्रोफाइल बनाएको हो । नगरपालिकाले निर्माण गरेको नगर प्रोफाइलले नगरभित्रको जानसांख्यिक विवरण, शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक अवस्था, रोजगारी, बसाइँसराइको अवस्थालगायत विविध तथ्यांकहरू हुने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले बताए । नगर प्रोफाइलबाट नगरपालिकाको वस्तुगत विवरण, हालको अवस्था र अब तय गर्नुपर्ने भावी दिशाको मार्ग निर्देश गर्ने मरासिनीले बताए ।

कार्यक्रममा सूचना विश्लेषक विज्ञ अंकित खनालले घर दूरी सर्वेक्षणको क्रममा नगरवासीको जनसंख्या, जातजाति, शैक्षिक अवस्था, पेशा, वैवाहिक स्थिति, स्वास्थ्य, मृत्यदुर, घरजगाको स्वामित्व, बाटोघाटो, खानेपानी, फोहोर मैला र शौचालयको अवस्था, सूचनाको प्रयोग, इन्धनको प्रयोगको अवस्थावारे तथ्यांक प्रस्तुत गरेका थिए । निर्माणाधीन प्रोफाइल नगरपालिकाको ऐनाको रूपमा रहने र भावी दिनमा यसबाट नगरपालिकाले विकास निमार्णका साथै नगरलाई सुरक्षित राख्नसमेत प्रयोग गर्नसक्ने खनालको भनाइ थियो ।
बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले नगर प्रोफाइलले योजना तर्जुमा गर्न सहज हुनुका साथै कुन वडाको अवस्था कस्तो छ सो पहिचान गर्न सजिलो हुने बताए । प्रविधिको प्रयोगले नगरको विकासमा थप गति लिन सकिने नगरप्रमुख अर्यालले विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रस्तुत भएको सर्वेक्षणको तथ्यांकअनुसार बेंसीसहर नगरपालिका–११ शैक्षिक, पूर्वधार विकास, स्वास्थ्यको अवस्थामा सबैभन्दा पछि परेको देखिएको थियो भने वडा नं ७ र ८ सवल देखिएको छ । अब वडाबाट संस्थागत विवरण आएपछि नगर प्रोफाइल सार्वजनिक गरिने नगरपालिकाले जनाएको छ ।


सातामा धेरै पढिएको