कारोबार संवाददाता
शुक्रवार, आश्विन १७, २०७६
594

लमजुङ-वडा दशैंको अवसरमा बिधिपूर्वक चढाइने बलि भन्दा पनि मासु खानको लागि पछिल्लो समय च्यांग्रा रोजाइमा पर्न थालेको छ । तर लमजुङमा पहिले जस्तो च्यांग्रा आयात नहुँदा सर्वसाधरण भने निराश छन् ।
च्यांग्राको मासु खसी बोकाको भन्दा स्वादिलो र स्वस्थकर हुने हुनाले पनि दसैंमा च्यांग्राको मासु खानु उपयुक्त हुने सर्वसाधरणको बुझाई छ । च्यांग्राले लेकमा पाइने जडिबुटी खाने हुनाले च्यांग्राको मासु स्वास्थ्यको लागि उपयुक्त हुने भेटेरीनरी अस्पता तथा पशु विज्ञ केन्द्र लमजुङका प्रमुख डा रुपेश श्रेष्ठले बताए ।
“च्याँग्राको मासु स्वादीलो हुनुको साथै पोषिलो पनि हुन्छ” डा श्रेष्ठले भने, “उच्च लेकमा जडिवुटी खाएको हुनाले च्याँग्राको मासु खानको लागि उपयुक्त हुन्छ ।”
जिल्लामा पहिले जस्तो अपेक्षित च्यांग्रा भने आयत हुन छोडेको छ । कम आयत र माग बढी भएकोले च्यांग्राको मासु अलिक महंगो भएको छ । उत्तरी क्षेत्रबाट दसैं लाग्नु भन्दा अघिनै भेडा च्यांग्रा प्रसस्तै ल्याउने गरिए पनि विगत ३÷४ वर्ष अघिदेखि यसमा कमि हुन थालेको कार्यालयका पशु अधिकृत खिला घिमिरेले बताए ।
“पहिले पहिले तिव्वत देखि च्यांग्रा धेरै आउने गथ्र्यो” घिमिरेले भने, “पछिल्लो समय च्यांग्राको आयत कम हुन थालेको छ, कम आयत भएर होला मूल्य पनि आकासिएको छ ।”
बाख्रा पालनमा लमजुङ आत्मनिर्भर भएकोले जिल्लामा उत्पादित खसीबोका निर्यात हुन्छन् । खसीबोका पर्याप्त भएपनि आर्थिकरुपमा सम्पन्न परिवारहरु भने च्यांग्रा रोज्ने गरेको पाइएको छ ।
चीनबाट मनाङको नाका हुँदै भेडा च्यांग्रा ल्याउने गरिएपनि गत वर्ष पनि मनाङमा नै कम मात्रा भेडा च्यांग्रा आएको बताइएको छ । विगतका वर्षहरुमा मनाङबाट लमजुङको घेर्मु, ताघ्रिङ, खुदी सिम्पानी हुँदै भेडा च्यांग्रा बेसीशहर आउने गरेको थियो ।
लमजुङमा च्यांग्रा आउछ भनेर चितवन, काठमाण्डौ तथा तराईका जिल्लाहरुबाट पनि सर्वसाधरणहरु आउने गरेका थिए ।

 

सन्देश पौडेल