कारोबार संवाददाता
आइतवार, फाल्गुन ६, २०७४
1181

भरतपुरमा अस्पतालजन्य फोहर व्यवस्थापन केन्द्र निर्माण हुने भएको छ । सरकारको ‘एक सहर एक पहिचान’ नीतिअनुसार भरतपुरलाई मेडिकल सिटी बनाउने अवधारणाअनुसार अस्पतालजन्य फोहर व्यवस्थापनका लागि समेत काम हुने भएको हो । 

भरतपुर महानगरपालिकाले पुस पहिलो साता भरतपुर अस्पताल परिसरभित्र अस्पतालजन्य फोहर व्यवस्थापन केन्द्र बनाउन सकिने गरी सहरी विकास मन्त्रालयमा सुझाव पठाएको छ । सहरी विकास मन्त्रालयले सो क्षेत्रमा फोहर व्यवस्थापन केन्द्र निर्माण गर्न कन्सल्ट्यान्ट नियुक्त गरेर विस्तृत परियोजना (डीपीआर) तयार गर्ने प्रक्रिया थालनी गरेको छ । सहरी विकास मन्त्रालयले मेडिकल सिटी बनाउने कार्यक्रमअनुसार यो वर्ष १० करोड बजेट छुट्याएको छ । भरतपुरमा क्यान्सर अस्पताल, भरतपुर सरकारी अस्पताल, दुई ठूला मेडिकल कलेज, दुइ दर्जन बढी निजी अस्पताल, आँखा अस्पताल, थुप्रै मेडिकल हल तथा क्लिनिक सञ्चालनमा छन् । विगतमा अस्पतालबाट फोहरका रूपमा निस्कने सालनाल, मानवजन्य अंग, मासुका टुक्रा, अन्य सड्ने फोहर व्यवस्थापन गर्न निकै चुनौतीपूर्ण बन्दै आएको थियो । “झण्डै ५ टन अस्पतालजन्य फोहर दैनिक संकलन हुने अवस्था छ,” महानगरको वातावरण शाखाका प्रमुख वरिष्ठ इन्जिनियर विराट घिमिरेले भने, “महानगरको अस्पतालजन्य फोहरको अन्तिम विर्सजन गर्न अब सहज हुनेछ, १ वर्षमा निर्माण हुने लक्ष्य छ ।” उनका अनुसार संकलित अस्पतालजन्य फोहरमध्ये सरदर २० प्रतिशत फोहर हानिकारक मानिन्छ । “दूषित फोहरको प्रभाव न्यूनीकरण हुने अपेक्षा छ,” उनले भने, “हाल अस्पताल, मेडिकल, क्लिनिक सञ्चालक आफंैले व्यवस्थापन गरेपछि फाल्न योग्य फोहरमात्रै महानगरले फाल्ने गरेको छ ।” उत्पादित फोहरका आधारमा शुल्क लिएर फोहर व्यवस्थापन गरिने बताए । सहरी विकास मन्त्रालयले लगानी गर्नेछ, महानगरले सार्वजनिक निजी साझेदारी अवधारणामा सो फोहर व्यवस्थापन सञ्चालन गर्नेछ । “एक दशक पहिलेबाट स्थानीय निकायको ध्यानाकर्षण गराउँदै आएका थियौं,” प्राइभेट हस्पिटल एसोसियसन चितवनका सचिव विक्रम अधिकारीले भने, “अस्पतालजन्य फोहर व्यवस्थापन केन्द्र बन्ने प्रक्रिया सुरु हुनु सकारात्मक छ, हामी पनि सहयोग गर्न तयार छौं ।” उनले केही निीज अस्पतालले आफ्नै लगानीमा फोहर व्यवस्थापनका लागि ‘प्लाण्ट’ निर्माण गरेर व्यवस्थापन गर्दै आइरहेको बताए । “मेडिकल सिटीका रूपमा विकास गर्न फोहर व्यवस्थापन कार्य पहिलो प्राथमिकतामा पार्नुपर्ने नै थियो,” उनले भने, “एकीकृत रूपमा फोहर व्यवस्थापन हुने संकेत देखिएको छ, छिटो निर्माण हुनुपर्छ ।” “अस्पतालजन्य फोहरको हालको विर्सजन विधिले महामारी निम्त्याउने खतरा छ,” अस्पताल रोडमा बस्दै आएका माओवादी नेता बद्री तिमल्सिनाले भने, “हानिकारक फोहर पनि अन्य फोहर सरहनै ट्याक्टर मार्फत महानगरले उठाउँदै आएको थियो, उचित विधिमार्फत विर्सजन गर्नुपर्छ ।” दुइ दर्जन बढी अस्पतालबाट उत्पादन हुने फोहरको हाराहारीमा एउटै मेडिकल कलेजबाट अस्पतालजन्य फोहर उत्पादन हुने अवस्था रहे पनि हालसम्म कसरी व्यवस्थापन भएको छ भन्नेबारे हालसम्म कुनै अध्ययन भएका छैनन् । भरतपुर अस्पतालले केहि वर्ष यता अस्पतालजन्य कुहिने फोहरलाई बायोग्याँस प्लाण्टमार्फत व्यवस्थापन गर्ने अभ्यास गर्दै आएको छ । फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रमार्फत विस्तृत अध्ययन प्रतिवेदन बन्न सकेको छैन । “महानगरमा हालसम्म ल्याण्डफिल साइट बन्न सकेको छैन, नदी किनारका निजी जग्गामा लगेर फाल्ने, पुर्ने काम हुँदै आएको छ,” सांसद कृष्णभक्त पोखरेलले भने, “छिटो ल्याण्डफिल साइट बनाउनुपर्छ, फोहरबाट मोहर बनाउने विधि अनुसरण गर्नुपर्छ ।” उनले अस्पतालजन्य फोहर व्यवस्थापन पनि निकै चुनौतीपूर्ण रहेको बताए । महानगरमा हाल दैनिक ६० टन फोहर संकलन हुँदै आएको छ । जसमध्य कुहिने फोहर झण्डै ३० टन संकलन हुदै आएको छ । 
फोहरबाट ऊर्जा बनाइने

भरतपुर महानगरमा कुहिने फोहरबाट ऊर्जा बनाउने काम सुरु गरिने भएको छ । वैकल्पिक ऊर्जा केन्द्रसँग सहकार्य गरेर ल्याण्डफिल साइट निर्माण गर्ने गरी भोगाधिकार पाएको जलदेवी सामुदायिक वनमा जैविक ऊर्जा कार्यक्रम सञ्चालन गरिने तयारी छ । दैनिक संकलन हुने २० टन फोहरबाट जैविक मल बनाउने, ग्याँस उत्पादन गर्ने, विद्युत् निकाल्ने लक्ष्य लिइएको छ । झण्डै २५ करोड लागतमा २ बिघा क्षेत्रफलमा बनाइने ऊर्जा प्लाण्ट निर्माणका लागि निजी क्षेत्रको खोजी भएको छ । “डेढ वर्षमा यो काम पूरा हुन्छ,” प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले भने, “दुई निजी क्षेत्रबाट प्रस्ताव आएको छ, मूल्यांकन गरेर आर्थिक प्रस्ताव गर्ने प्रक्रिया अघि बढ्नेछ ।” ४ हजार १८१ केजी जैविक मल, ३८ सिलिण्डर ग्यास उत्पादन, ७७ किलोवाट विद्युत् उत्पादन गर्न सक्ने गरी प्लाण्ट सञ्चालनमा आउने बताए । ऊर्जा प्रर्वद्धन केन्द्रले दिने १० करोड अनुदानमा र निजी क्षेत्रले १५ करोड थप गरेर फोहरमैला व्यवस्थापन गर्ने योजना कार्यान्वनतर्फ जान लागेको जानकारी दिए । 
सरसफाइ गर्न अध्याधुनिक मेसिन

भरतपुर महानगरपालिकाले सरसफाइका लागि अत्याधुनिक मेसिन प्रयोगमा ल्याउने भएको छ । धुलाम्मे सडक सफा गर्न कठिन हुन थालेपछि महानगरले बढार्ने मेसिन ‘बु्रमर’ ल्याउन लागेको हो । यस्तै ढल सरसफाइ गर्न मिनि स्काभेटर खरिद प्रक्रिया सुरु गर्दैछ ।“भारतीय दुतावासले बु्रमर सहयोग गर्ने आश्वासन दिएको छ,” भरतपुर महानगरपालिका वातावरण शाखाका प्रमुख वरिष्ठ इञ्जिनियर विराट घिमिरेले भने, “एक साताभित्र सहयोग पाउने वा नपाउने टुंगो लाग्छ, सहयोग नपाए स्वयं महानगरले नै खरिद प्रक्रिया सुरु गर्छ ।” ब्रुमर मेसिन खरिद गर्न झण्डै १ करोड ३ लाख लाग्ने अनुमान छ । यस्तै मिनि स्काभेटरका लागि ३५ लाख लाग्ने अनुमान गरिएको छ । “सरसफाइ गर्ने जनशक्ति पाउनै मुस्किल छ,” उनले भने, “अत्याधुनिक प्रविधिमार्फत सफा पार्ने अभियान चलाउन महानगर तयार बनेको छ ।” ब्रुमर पानी छर्केर धुलो संकलन गर्ने अत्याधुनिक मेसिन हो । महानगरमा करिब २० किमि पक्की ढल बर्सेनि सफाइ गर्नुपर्ने हुन्छ । ११ जना सरसफाइका कर्मचारी छन् भने ३ जना सुपरभाइजर छन् ।

फोहर संकलनमा महागरले बर्सेनि झण्डै ६० लाख रुपैयाँ खर्च
झण्डै ६० लाख रुपैयाँ फोहर संकलनमा खर्चभरतपुर महानगरले फोहरलाई मोहरमा परिणत गर्न सकेको छैन । फोहर संकलनमा महागरले बर्सेनि झण्डै ६० लाख रुपैयाँ विकास बजेट खर्च गरेको छ । महानगरले वेष्ट म्यानेजमेण्ट ग्रुप नेपालले साविक ७–१२ सम्मका  र ग्रीन नेपाल सिटी वेष्ट म्यानेजमेण्टले साविक १–६ सम्मका वडामा सरसफाइ सेवा शुल्क उठाउने जिम्मा थिएको थियो । संकलित सरसफाइ शुल्कबाट ७० प्रतिशत निजी क्षेत्रलाई र ३० प्रतिशत सम्बन्धित टोलसुधार समितिलाई दिँदै आइरहेको छ । यस्तै महानगरले विकास बजेटमार्फत पनि फोहर संकलन गर्ने जिम्मा पाएको निजी क्षेत्रलाई अतिरिक्त रकम निकासा गर्दै आएको छ । गत वर्ष वेष्ट म्यानेजमेण्टलाई २३ लाख रुपैयाँ र ग्रीन नेपाललाई ३६ लाख ३७ हजार २८० रुपैयाँ रकम निकासा गरेको थियो । निजी क्षेत्रले फोहर संकलन गर्न १५ वटा ट्याक्टर र महानगरले २ वटा कम्याक्टर र २ ट्याक्टर प्रयोग गर्दै आएको छ । भरतपुर महानगरपालिकाले फोहर उठाएवापत नगरबासीबाट गत आर्थिक वर्षमा १ करोड ३४ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । सरसफाइ सेवा शुल्क महानगरले विगत ४ वर्षदेखि उठाउँदै आएको छ । 

-विप्लव काफ्ले