सागर परियार
बिहिवार, आश्विन १६, २०७६
743

 भोजपुरका थमन्कुमार राई जुम्लाको रत्न चुडेश्व माविमा पढाउँछन् । वर्षभरि पढाएर केही पैसा कमाउँला दसैं तिहारजस्तो चाडपर्वमा खुसीका साथ घर जाने सोच बनाउँछन् बाहिरका शिक्षक । तर राईले दसैंको मुखमा पनि तलब नपाउँदा गाउँको महिला समूहबाट ऋण निकालेर भाडा गरी निरास हँुदै रित्तै घर फर्किएका छन् । त्यस्तै सोही विद्यालयमा पढाउने रोल्पाका मनीष बुढाथोकीले पनि सापटी गरेर भाडा गरी घर फर्केका छन् । गएको असार महिनादेखि तलब नखाएका उनले दशैंमा एकमुष्ठ दुई लाख आउने सोच राखेका थिए । जुम्लाको स्याउ लिएर घर जाने सोच राखेका बुढाथोकीले अन्ततः तलबै नपाउँदा ऋण गरेर घर फर्किएका छन् ।
साथै कर्णाली मावि अनामनगरमा पढाउने बाजुराका जागेश्वर उपाध्याय र नेपालगन्जका विवेकराज मित्रको कहानी पनि उस्तै छ । दसैंकै मुखमा काम गरेको ज्याला मासिक तलब नपाँउदाको पीडा चन्दननाथ नगरपालिकाका चार विद्यालयका करिब ८६ जना शिक्षकले भोगिरहेका छन् । बाहिरका शिक्षकले ऋण गरेर भए पनि भाडा गरी गए, तर स्थानीय शिक्षकहरूको पनि दशैं फिक्का हुने भएको छ । गएको असारदेखि तलब नपाएका शिक्षकहरू दशैंमा पनि ऋण निकालेर मान्नु पर्ने अवस्था आएको छ । विव्यवस गठन नगरेकै कारण चन्दननाथ नगरपालिकाको नगर शिक्षा समितिले चार विद्यलायको खाता नै रोक्का गरेको छ । क

र्णाली मावि अनामनगर, चन्दननाथ मावि खलंगा, रत्नचुडेश्वर मावि बोहोरागाउँ र भैरवमावि ढुपीढुस्का गरी चार विद्यालयले तीन पटकसम्म परिपत्र गर्दा पनि विव्यस गठन नगरेको भन्दै खाता रोक्का गरिएको नगरपालिकाका शिक्षा संयोजक खडानन्द चौलागांइले बताए ।तलब नपाउनेमा कर्णाली मावि अनामनगरका १६ जना, चन्दननाथ माविका लगभग ३० जना, रत्नचुडेश्वका माविका १९ जना र भैरवमावि ढुपीढुस्काका २१ जना गरी ८६ जना शिक्षकले दसैंकै मुखमा तबल पाएका छैनन् ।
विव्यस गठन नभएको भन्दै विद्यालयको खाता रोक्का गर्नु न्यायोचित नभएको शिक्षकहरूको दाबी छ । चारै विद्यालयमा पढाउने बाहिर जिल्लाका शिक्षकलाई ऋण गरी पठाइएको छ । कर्णाली मावि अनानगरका प्रअ मिन शार्माका अनुसार शिक्षा ऐन र विव्यसहरूको कमजोरीका कारण शिक्षकहरू मारमा परेका छन् । ऋण निकालेर दशैं मनाउने तयारी छ । चौमासिक रूपमा आउने तलब पनि दशैंको बेला नदिएपछि शिक्षकहरूलाई निकै मुस्किल हुने उनले दुःखेसो गरे । 

विव्यसको आफ्नै दाबी
शिक्षा ऐन २०७४ को दफा १२ (क) मा विद्यालय व्यवस्थापन समितिको कार्यवधि ३ वर्ष हुने उल्लेखित छ । चन्दनाथ माविका विव्यस अध्यक्ष कृष्ण रोकायाले भने, “२०७४ सालमा गठन भएको विव्यसको अझै एक वर्ष बाँकी छ । ऐनमा भएको व्यवस्थाअनुसार अझै एक वर्ष बाँकी छ । तर नगर शिक्षा समितिले सिधै विव्यस भंग गरी नयाँ गठन गर्न परिपत्र दियो ।”एकातर्फ शिक्षा ऐनको व्यवस्था र परिपत्रबीच कुरा बाझिँदा र समय अभावले गर्दा विव्यस गठन गर्न नसकिएको उनको भनाइ छ । ऐनअनुसार एक वर्षअझै बाँकी रहेकाले तत्काल नयाँ गठन सम्भव नरहेको उनको दाबी छ । तर विव्यस गठनकै कुरा लिएर विद्यालयको खाता रोक्का गर्नु न्यायोचित काम हैन । दसैंलगत्तै अदालतमा गएर न्याय माग्नेसमेत उल्लेख गरे । प्रक्रियागत कुरा विस्तारै गथ्र्यौं तर खाता रोक्का गरी शिक्षकहरूलाई नगर शिक्षा समितिले मर्कामा पारेको गुुनासो गरे । ऐन र कानुनका कुरा गरेर नगर शिक्षा समितिले ८६ जना शिक्षकलाई दशैंमा सुक्का मुख बनाएको भन्दै शिक्षकहरू आक्रोसित भएका छन् । स्थानीय सरकार आइसकेपछि प्रक्रियागत कुरालाई अझै अप्ठ्यारो बनाएको छ । शिक्षा संयोजक खडानन्द चौलागांइका अनुसार विव्यस गठन नभएकै कारण महान पर्व दशैंकै मुखमा तलब नपाउनु दुःखद पक्ष हो । तर नीतिगत कुरामा विद्यालय चुकेको देखिन्छ । 

निर्णय कार्यान्वय नहुँदा खाता रोक्का
शिक्षा ऐनको आठौं संशोधन २०७३ साल असार १३ गते आयो । ऐनले जुम्लाका १ सय ७० वटै विद्यालयमा नयाँ विव्यस गठन गर्न भनेको थियो । मेयर कान्तिका सेजुवालले  भनिन्, “नगरपालिका भित्रका १९ वटा विद्यालयका विव्यसहरू साउन २६ गते भंग गरियो । भदौ मसान्तसम्म सबै विद्यालयमा नयाँ विव्यस गठन गर्न पनि परिपत्र गरियो । तर भदौ मसान्तसम्म १९ विद्यालय मध्य ४ विद्यालयले तीन पटकसम्म ताकेता पत्र पनि विव्यस गठन र सूचना प्रसारणसमेत गरेनन् । जसका कारण नगर शिक्षा समितिले आफ्नो निर्णय कार्यान्वयन नभएको भन्दै चार विद्यालयको खाता रोक्का गरेको मेयर कान्तिका सेजुवालको बताइन् । उनका अनुसार बुधबार र बिहीबारसम्म भैरव मावि र चत्नचुडेश्वरको खाता खोल्ने सम्भावना देखिन्छ । मेयरले थपिन्, नगरपालिका एक संवैधानिक अंग हो, नगर शिक्षा समितिको निर्णय नमान्नेलाई बाध्यात्मक अवस्थामा खाता रोक्का गरेका हांै । धेरै अघि दसैं आइसक्यो छिटो गर्नुहोस् खाता रोक्का हुन्छ भन्दा पनि अटेरी गरेको मेयर सेजुवालको दाबी छ । तर कार्यपालिकाको निर्णयलाई कार्यान्वयन नगर्नु विद्यालयको अटेरी हो । प्रक्रियामा नजाने विद्यालयलाई वर्षौंसम्म पनि रोक्का गर्ने उनको चेतावनी छ ।