दीननाथ बराल
बिहिवार, आश्विन १६, २०७६
588

 
पोखरामा हिँडन क्यामरा र सादा पोशाकका सुरक्षाकर्मी खटिँदै 

पोखरा-नेपालीहरूको महान पर्व विजया दशमीको दिन नजिकिँदै गर्दा देशका मुख्य बजार क्षेत्रमा हिजो-आज किनमेल गर्नेको अत्यधिक भीड लागेको छ । यसैक्रममा पोखरा क्षेत्रमा पनि दसैंको अवसरमा बजारमा किनमेल गर्नेको हिजो-आज भीडभाड सुरु भएको हो ।
विभिन्न पेशा तथा व्यवसाय गरेका व्यक्तिहरू पोखरा आएसँगै केही व्यक्ति आफ्नो जन्मथलो जान थालेसँगै उनीहरूले बजारबाट दसैं पर्वलाई आवश्यक पर्ने खाद्य, लत्ताकपडा सहितका अन्य उपभोग्य वस्तुहरू खरिद गर्दा बजारमा घटस्थापनादेखि निकै भीडभाड भएको पाइन्छ ।

मुख्य सहर बजारभन्दा बाहिरका विभिन्न गाउँ ठाउँका जनता यतिबेला किनमेलमा व्यस्त हुँदा मुख्य बजार क्षेत्रमा दसैंका बेला चहलपहल भएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले बताए ।
उनले भने, “विभिन्न पेसा व्यवसायका लागि बजार झरेकाहरू आफ्नो जन्मथलो जाने आफन्तसँग भेटघाट र मिठो मसिनो खाने प्रचल रहेकोले पनि दसैंको मुखमा बजारमा चहलपहल भएको हो ।” दसैं पर्वलाई लक्षित हुने गरी विभिन्न व्यापारी तथा व्यवसायीले यस अवसरमा आमउपभोक्तालाई अकर्षण गर्न विशेष छुट तथा उपहार योजना ल्याएका छन् । दसैं पर्वमा प्रायः खाद्यान्न र लक्ता कपडा र मनाङ मुस्ताङबाट आएका भेडा च्याङग्रासहित मासु खाने प्रचलनले गर्दा दसैंको अवसरमा अर्थतन्त्रलाई समेत धेरै चलायमान पार्ने भएको अध्यक्ष अधिकारीले बताए ।
उनले भने, “पहिला पैसा बोकेर बजार आउने आवश्यक पर्ने सरसामान करिब एक महिनालाई नै पुग्ने गरी किनमेल गरेर दसैं मनाउने परिपाटी थियोे, पछिल्लो वर्षमा अनलाइनबाट व्यक्तिलाई आवश्यक परेको बेला घरमै उतिखेर नै प्रयोग गर्ने परिपाटीको विकास हुँदै आएको छ, हिजो दसैंमा नयाँ कपडा र मिठो खाने एक प्रकारको प्रचलन रहिआएको थियो भने अहिले त्यो प्रचलन विस्तारै पविर्तन हुँदै आएको छ ।”
पोखराको महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक, पालिखेचोक, विभिन्न सपिङ कम्प्लेक्स तथा मिनी मार्केटमा दशैं पर्वको अवसरमा अहिले निकै चहल बढेको छ । दशैं पर्व लक्षित गरी कास्की प्रहरीले शान्ति सुरक्षा र समाजमा हुनसक्ने चोरी डकैतिका घटनालाई न्यूनीकरण गर्न विशेष टोली खटाएको छ । कास्की प्रहरीले बजारका संवेदनशील तथा आर्थिक क्रियाकलाप हुने स्थल, बैंक, वित्तीय क्षेत्र, सुनचाँदी पसल, सपिङ कम्प्लेक्स, आवास क्षेत्रलगायका ठाउँमा हिँडन क्यामरासहितको सादा पोसाकमा सुरक्षाकर्मी खटाएको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए । उनले भने, “दसैं पर्वको अवसरमा हिजो-आज बजारमा चहलपलह बढेसँगै हामीले आज जनतालाई शान्ति सुरक्षा र चोरी डकैतीका घटनालाई न्यूनीकरण गर्न पनि विशेष टोलीको व्यवस्था गरेका हौं ।”
देशका धेरै ठाउँमा जनता यतिबेला आवतजावत गर्ने हुँदा यातयात क्षेत्रमा सचेतना सहित पोखराका मुख्य तीन नाका पश्चिमतर्फ छोरेपाटन, पूर्वतर्फ पृथ्वीचोक र उत्तर पश्चिमको बागलुङ बसपार्कमा यात्रु सहायता कक्षा स्थापना गरिएको उनले जनाए ।