सागर परियार
बुधवार, आश्विन १५, २०७६
559

जुम्लामा यतिबेला मार्सी धान पाक्ने बेला भएको छ । कालीमार्सी धानका बाला लहलही झुलिरहँदा सबै मन झट् तान्छ । १२ सय वर्ष पहिलेबाट जुम्लामा मार्सी उत्पादन भएको तातोपानीको लाछु जिउलोदेखि विश्वकै अग्लो स्थानमा मार्सी फल्ने छुमचौरका खेतमा धानका बाला लहलह भएका छन् । हरेक वर्ष मार्सीमा बलाष्ट रोगले संक्रमण गर्दा उत्पादन कम हुने श्रम अनुसारको उत्पादन नहुने समस्याबाट किसान मर्कामा छन् ।
तर यो वर्ष भने, जुम्ली मार्सी धानको महत्व बचाइ राख्न, धानको उत्पादन वृद्धि र संरक्षणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ टोली अनुसन्धान गर्न जुम्ला पुगेको छ । जुम्लामा उत्पादन हुने रैथाने बाली उत्पादन तथा संरक्षण गर्ने उद्देश्यले विज्ञको टोली यति बेलाको समयमा जुम्ला पुगेको हो । टोलीले जुम्लाका विभिन्न ज्यूलमा रोपिएको धानलाई अवलोकन तथा अनुसन्धान गरेको छ । पछिल्लो समयमा जुम्लामा रैथाने बाली उत्पादनको केन्द्र भनेर मुखमुखमा भगन्जीदा, मार्सी संरक्षण चासो दिँदै विज्ञ टोली जुम्ला आएको हो । तर परापूर्वकालदेखि उत्पादन हुँदै आएको रैथाने बाली विकासे बालीको प्रभावले गर्दा लोप हुने खतरामा रहेको विज्ञहरूको भनाइ छ ।

जलवायु परिवर्तन कारण स्थानीय बालीमा लाग्ने रोग किरा व्यवस्थापन तथा उत्पादनमा वृद्धि ल्याउने लक्ष्यका साथ लिवर्डले जुम्लाले स्थानीय धान बाली र सिमी बालीको संरक्षण गर्दै आएको छ । जुम्लामा बिगत एक वर्षदेखि स्थानीय बाली धान र सिमीको संरक्षण गरी विभिन्न ठाउँमा बीउ बैंकको रूपमा काम गर्दै आएको छ । जैविक विविधता अनुसन्धान तथा विकासको स्थानीय पहल लिवर्डले कृषिका क्षेत्रमा गर्दै आएको छ । जुम्लामा लिर्वडले कृषिका क्षेत्रमा गरेको कार्य प्रगतिका बारेमा बुझ्न तथा कालिमार्सीको उत्पादन र संरक्षण रुस, इथियोपिया, इटली, पोखरा र लमजुङका दर्जनौं विज्ञ टोली जुम्लामा पुगेर मार्सीको अनुगमान तथा अनुसन्धान गरेका छन् ।
जिन बैंक नेपालका डा. कृष्णहरि घिमिरेले जिन बैंककले स्थानीय बाली संरक्षण गरी कृषिका क्षेत्रमा लागेका किसानलाई प्रत्यक्ष लाभाम्वित हुने खालका कार्यक्रम गर्दै आएको बताए । उनले भने, ‘किसानसँगै खेतमा गएर प्रयोगात्मक तरिकाले स्थानीय बाली उत्पादन वृद्धि बाली संरक्षणमा जोड दिनेछौं ।’
जुम्ली मार्सी धान सरंक्षण विज्ञहरुको रोजाइमा छ । यता जुम्लाको धौलीघाट समूहले १२ वटा प्लटमा ३५ जातका स्थानीय धान खेती गरेको छ । ३५ जातमध्ये जुम्लामा पाइने कालीमार्सी धान अनुसन्धानकर्ताको रोजाइमा परेको छ । बजारमा माग बढ्दै गएको मार्सीको संरक्षणमा विज्ञहरुको चासो बढेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए । जुम्लाको चर्चित ब्राण्ड मानिएको काली मार्सी धान खाना स्वादिलो र दाना पनि पोटिलो हुने हुँदा अनुसन्धान गर्न आएको स्वदेशी तथा विदेशीको रोजाइमा परेको धौलीगाड जैबिक विविधता सामुदायिक बीउ बैंक समूह अगुवा कृषक तिलकप्रसाद रावतले बताए ।
‘१२ वटा पलडमा ३५ जातका धान खेती गरेका छौं ।’ रावतले भने, ‘जुन राम्रो हुन्छ, त्यसलाई बीउको रूपमा राख्ने गर्दैछौं ।’