लक्ष्मण ढुंगाना
सोमवार, आश्विन १३, २०७६
746

नुनदेखि सुनसम्म भारतकै भरनुनदेखि सुनसम्म भारतकै भरनेपालगन्जनेपालीहरूको सबैभन्दा ठूलो चाड दसैं नजिकै आइसकेको छ । नयाँ लुगा लगाउने, मिठो मसीनो खाने, हर्षाेल्लासका साथ खुसी साटासाट गर्ने दसैंको विशेषता हो । दसैं मनाउन अध्ययन तथा कामको शिलशिलामा जिल्ला बाहिर गएकाहरू घर आउन थालिसकेका छन् ।
बसपार्क, एयरपोर्ट तथा सीमानाकामा दैनिक रूपमा दसैं मनाउन घर फर्किनेहरूको भीडभाडले दसैं नजिकै आइसकेको सहजै अनुमान गर्न सकिन्छ । तर, विडम्बना दसैंको समयमा ग्राहकले भरिभराउ हुनुपर्ने नेपालगन्जका मुख्य व्यापारिक क्षेत्र भने सुनसान छन् । यहाँ हालसम्म दसैंको कुनै रौनक छाएको छैन । प्रायःजसो व्यस्त देखिने नेपालगन्जको ऐतिहासिक बजार सदरलाइनमा उपभोक्तालाई चाहिने सबै किसिमका सामान पाइन्छन् । साँघुरो गल्लीका दुवै किनारमा स–साना चिटिक्कका लस्करै पसलमा नुनदेखि सुनसम्ममा सामग्री पाइन्छन् । कुनै पनी किसिमको सामान नपाए एकलैनीमा पाइन्छ भन्ने आमउपभोक्ताको विश्वास छ ।

त्यसैले पनि यहाँ बाह्रै महिना व्यापार राम्रो हुने गरेको छ । तर, दुर्भाग्य अरु समयमा ग्राहकको व्यस्तता भए पनि  एकलैनीमा दसैंको समयमा भने कुनै उल्लास छैन । कारण नेपाली उपभोक्तालाई भारतीय सीमावर्ती बजार रुपैडिहामा सस्तो पाइन्छ भन्ने मोहले गाँजेको छ । अरु समयमा स–साना सामान यतै किने पनि चाडबाडका बेला अलि बढी किन्नुपर्ने भएपछि यहाँका ९० प्रतिशत उपभोक्ता रुपैडिहा जाने गरेका छन् । यतिबेला नेपालगन्जका मुख्य व्यापारिक क्षेत्र घरबारी टोल, न्युरोड, सदरलाइन लगायतका स्थानमा चहल पहल हुनुपर्ने हो । तर, दसैंको किनमेल सुरु भइसक्दा समेत यहाँका व्यवसायी काम नपाएर फुर्सदिला देखिन्छन् । उता सीमापारि भारतीय बजारमा भने नेपाली उपभोक्ताको भीडले सडकमा खुट्टा टेक्नेसमेत ठाउँ छैन । सीमावारिको नेपाली बजार सुनसान भइरहँदा ५ मिनेटमै पुगिने सीमापारि थेगिनसक्नु ग्राहक छन् । सस्तो सामान पाउने लोभमा प्रायः नेपाली ग्राहक उतै केन्द्रित हुने गरेका हुन् ।
नेपाली ग्राहकको भीडले रुपैडिहा बजारको कारोबार ह्वात्तै बढेको छ । यहाँका स्थानीयमात्र नभएर बर्दिया, दाङ, सुर्खेत, दैलेख, रुकुम, सल्यान, जाजरकोटलगायत विभिन्न पहाडी जिल्लाका उपभोक्तासमेत किनमेल गर्न नेपालगन्जबाट मोटरसाइकल, अटोरिक्सा, ई–रिक्सा, माइक्रोबसजस्ता सवारीसाधनमा किनमेलका लागि रुपैडिहा पुग्ने गरेका छन् । रूपैडिहाको राष्ट्रिय व्यापार मण्डलका अनुसारका रुपैडिहामा साना–ठूला गरी एक हजार बढी पसल छन् । त्यहाँ जाने नेपाली ग्राहकले दैनिक रूपमा कतिको सामान किन्छन् भन्ने आधिकारिक तथ्यांक नभए पनि रुपैडिहाका स्थानीय व्यापारीका अनुसार त्यहाँका ठूला व्यापारिक पसलमा दैनिक २ देखि ५ लाखसम्मको कारोबार हुने अनुमान रहेको उनीहरू बताउँछन् । यो हिसाबले दसैं तिहारको बेलामा मात्र दैनिक करिब दैनिक ५ करोडको कारोबार हुने त्यहाँका व्यापारीहरूको अनुमान छ ।नेपाली ग्राहकले धानेको रुपैडिहा बजारमा धेरैजसो लत्ताकपडा, दैनिक उपभोग्य सामग्री, खाद्यान्न, कस्मेटिक, इलेक्ट्रोनिक्स सामग्रीलगायत हार्डवेयर र मेसिनका पार्टपुर्जा खरिद गर्ने गरेका छन् ।
तिबाहेक सबै किसिमका सामान नेपाली ग्राहकले खरिद गर्ने गरेका छन् ।   त्यसो त सस्तो पाइने लोभमा नेपाली उपभोक्ताहरू भारतमा विभिन्न बहानामा ठगिने गरेका छन् । म्याद नाघेका सामग्री, लेबल नभएका गुणस्तरहीन सामग्री र नापतौलमा ठगिने गरेको स्वयं सामान किनेर फर्किएका उपभोक्ताहरू बताउँछन् । सामान बेच्ने नाममा भारतीय व्यापारीहरूले गुणस्तरहीन सामग्री नेपाली उपभोक्तालाई भिराउने गरे पनि उपभोक्ताको मस्तिष्कमा सस्तो पाइन्छ भन्ने छाप लागेको छ । जसका कारण केही सामानमा बाहेक धेरैमा उस्तै मूल्य भए पनि नेपालगन्जभन्दा उतै आकर्षित हुने गरेका छन् । त्यहाँका व्यवसायीले साप्ताहिक रूपमा नेपालगन्जको बजार मूल्यबारे जानकारी लिने गरेको र त्यहीअनुसार थोरै मात्र फरक पारेर बिक्री गर्ने गरेको बताइएको छ । त्यसबाहेक नेपालगन्जका अधिकांश व्यवसायीका पसल रुपैडियामा पनि छन् । उनीहरूले यहाँको मूल्यभन्दा थोरै मात्र फरक पारेर बेच्छन् तर यहाँका उपभोक्तालाई सस्तो पाइन्छ भन्ने विश्वास छ । त्यहाँ जाने भाडालगायत विभिन्न खर्च जोड्ने हो भने झन महँगो पर्ने गरेको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यको भनाइ छ । “कतिपय सामान भारतमा भन्दा नेपालमै सस्तो पर्छ,” उनले भने, “मल्टिनेसनल कम्पनीको सामानहरू त झन भारतमा महंगो छ, तर नेपाली उपभोक्ता भने भारतमै सस्तो पाइने लोभमा रुपैडिहामा ठगिइरहेका छन् ।” भारतमा किन्ने नेपालीको प्रवृत्ति रोक्न सरकारले नीतिगत रूपमा पहल गर्नुपर्ने उनको भनाइ छ । त्यसबाहेक उपभोक्ताले पनि सचेत हुनुका साथै राष्ट्रियताको विषयमा ध्यान दिएर स्वदेशी उत्पादक तथा बजारलाई प्रोत्साहन गर्नुपर्ने उनी बताउँछन ।
धरासायी बन्दै नेपालगन्जको व्यवसायपछिल्लो समय नेपालगन्जको व्यवसाय धरासायी बन्दै गइरहेको छ । भारतीय बजारमा सस्तो सामान पाइने नेपाली उपभोक्ताको मोहका कारण नेपालगन्जमा व्यवसाय गर्न कठिन भएको हो । नेपालगन्जको घरबारी टोल फेन्सी कपडा, कस्मेटिकलगायत सामानको होलसेल तथा फुटकर सामान बिक्री हुने स्थान हो ।
यहाँका पसलहरूको मासिक भाडामात्र ८ हजारदेखि ४० हजारसम्म रहेको छ । चर्को सटर भाडाका बीच व्यवसाय गरेका यहाँका व्यवसायीहरू पहिले जस्तो बजार नचल्ने भएपछि चिन्तित बनेका छन् । “व्यापार चले पनि नचले पनि मासिक भाडा, बत्ती अनि व्यवसाय कर तिर्नैपर्छ,” व्यवसायी भवानी शर्मा पौडेलले बताइन् । घरबारी टोलमा जुत्ताचप्पल पसल सञ्चालन गरिरहेकी पौडेलले मासिक ३२ हजार रुपैयाँ घरभाडा तिर्न नसकिने भएपछि पसल बेच्न थालेको बताइन् । “धेरै दिन भयो बेच्ने कोसिस गरेको, घाटा खाएर दिने कुरो भएन, चर्को भाडाका कारण किन्ने मान्छे पाउन समेत गाह्रो छ,” उनले भनिन् ।घरबारी टोलमा मात्र होइन नेपालगन्जको मुख्य व्यापारिक केन्द्र मानिएको न्युरोडको व्यवसाय पछिल्लो समय दिन प्रतिदिन झन धरासायी बन्दै गएको छ । व्यापार नभएपछि यहाँका व्यवसायी निरास बन्दै गएको न्युरोडमा व्यवसाय गर्दै आएका भरत किशोर वैश्यले बताए । “अघिल्लो वर्षमा दसैं आउनुभन्दा एक महिना अघिदेखि यहाँ ग्राहकको भीडभाड हुन्थ्यो,” उनले भने, “अहिले हेर्नुस् कस्तो सन्नाटा छ ।”नेपालगन्जमा हाल व्यवसाय नचल्ने एउटा समस्या छ भने चर्को सटर भाडा अनि त्यसमाथि बिजुलीको बिलको नाममा भाडामा व्यवसाय गर्ने तथा कोठा लिएर बस्नेहरू ठगिने गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले खपत युनिटको आधारमा ३ रुपैयादेखि १३ रुपैयाँ प्रतियुनिटसम्म महशुल लिने गरेको भए पनि यहाँ खपत युनिट हेरिँदैन । मिटरमा प्रतिमहिना ४ सय युनिटभन्दा बढी आएमात्र १३ रुपैयाँ प्रतियुनिट तिर्नुपर्ने प्राधिकरणको नियम छ । तर यहाँ मूल मिटरमा २० युनिटमात्र चढे पनि १५ रुपैयाँको दरले महशुल तिर्नुपर्दछ । केही दिनअघि विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिंगले बढी महशुल लिने घरबेटीलाई कारबाही गरने बताए पनि यहाँ मनोमानी किसिमले तोकेरै १५ रुपैयाँ प्रतियुनिटका दरले महशुल तिराएर करिब दोब्बर मुनाफा बिलवाट घरबेटीले असुल्ने गरेको व्यवसायीहरूको गुनासो छ । यसले गर्दा उपभोक्ताहरू थप मारमा पर्ने गरेका छन् । विरोध गरांै भने घरभाडामा नपाइने हो कि भन्ने डर, चुपचाप बसांै भने आफू गठिनु परेको व्यवसायीको गुनासो छ । वित्तीय संघीयताको जोखिममुलुकमा आएको राजनीतिक परिवर्तन पश्चात नेपालगन्जमा पनि वित्तीय संघीयताको जोखिमको असर बढ्दै गएको छ ।
संघीयता आएसँगै संघीय राजधानी नेपालगन्जमा नहुने भएपछि यहाँ भएका ठूला उद्योग धन्दा, कलकारखाना धरासायी बन्दै गइरहेका छन् भने यहाँ भएका विभिन्न क्षेत्रीयस्तरका कार्यालय, विभिन्न एनजीओ-आईएनजीओ पनि यहाँबाट अन्यत्र गइसकेका छन् । संघीय राजधानी नहुने भएपछि नेपालगन्जलाई आर्थिक राजधानी बनाउने भनिए पनि त्यसअनुसार राज्यले नीतिगत कदम नचाल्दा नेपालगन्जको व्यवसाय झन धरासायी बन्दै गएको छ ।मुलुक संघीयतामा गएसँगसँगै दुईतिहाईको बलियो सरकार आयो । राजनीतिक दलले आर्थिक समृद्धिको जुन नारा लगाएका थिए, त्यो सरकारको प्राथमिकतामा पनि प-यो ।
अब मुलुकमा जनताले अनुभूत गर्ने गरी विकास सँगसँगै आर्थिक समृद्धि हुन्छ, भन्ने जुन नेपालगन्जका व्यवसायीको अपेक्षा थियो, त्यो हुन नसकेको नेपालगन्जका व्यवसायीहरूको भनाइ छ ।आर्थिक समृद्धिको विषयलाई सरकारले अघि बढाएर हिँडिरहेको अवस्थामा निजी क्षेत्रले पनि साथ दिएको छ । तर जति निजीक्षेत्रले आर्थिक समृद्धिका विषयमा मुलुक अघि बढ्छ भन्ने अपेक्षा गरेको थियो, सोअनुसार हुन नसकेको उनीहरू बताउँछन् । यो समग्र देशवासीकै अपेक्षा रहेकाले नेपालगन्जका उद्योगी ब्यवसायीमा पनि संघीयता आइसकेपछि व्यापार व्यवसायमा खासै परिवर्तन हुन सकेको छैन । 
यो राष्ट्रिय समस्या भएकाले सरकारले बोर्डरका जति पनि यस्ता समस्या भएका बजार छन्, त्यहाँका उद्योग वाणिज्य संघ, भन्सार, राजस्व कार्यालय र अन्य सरोकारवालासँग समन्वय गरेर त्यहाँ उपभोक्ता सचेतना गराउनुका साथै पारिपट्टि किनमेल गर्ने कार्यलाई कसरी न्यूनीकरण गराउन सकिन्छ त्यसको उपाय खोज्नुपर्ने व्यवसायीहरू बताउँछन् ।
संघियतापछि व्यवसायीको अपेक्षा अनुसार सरकारले स्वदेशी व्यवसायीलाई प्रोत्साहन गर्ने हो भने यो विषयमा कडाभन्दा कडा कदम चालेर अवैध ढंगबाट भित्रिने वस्तुहरूलाई नियन्त्रण गर्नुपर्ने उनीहरूको माग छ ।