कारोबार संवाददाता
आइतवार, फाल्गुन ६, २०७४
438

बाजुराको पूर्वी भागमा पाँच वर्षदेखि खडेरी पर्दा खाद्यान्न बालीमा ठूलो क्षति पुगेको छ । लगातारको खडेरीले पूर्वी क्षेत्रमा खाद्यान्नको समस्या परेको छ ।
खडेरीले यस वर्ष मात्र २१ करोड ८ लाख रूपैयाँ बराबरको खाद्यान्नमा क्षति गरेको छ । जिल्ला दैविक प्रकोप उद्धार समितिले जनतालाई तत्काल राहत उपलब्ध गराउन २५ सय मेट्रिक टन खाद्यान्न आपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

वर्षैपिच्छे परेको खडेरीका कारण जिल्लामा खाद्यान्नको बिउनै उम्रिन छाडेको छ । हिमाली गाउँपालिका र स्वामीकार्तिक गाउँपालिकामा ७५ प्रतिशत बालीनाली क्षती भएको छ भने जगन्नाथ गाउँपालिकामा ३० देखि ४० प्रतिशत उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख मिनप्रसाद जोशीले बताए ।
जिल्लाको २० प्रतिशत खेतीयोग्य जमिनमध्ये २.२७ प्रतिशतमा सिँचाइ हुने गरेको छ । बाजुरामा प्रत्येक वर्ष ११ हजार मेट्रिकटन खाद्यान्न आयात हुने गरेको छ ।
प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले सम्बन्धित निकायको आपत्कालीन बैठक बोलाउनुपर्ने अवस्था आएको बताए । खडेरी प्रभावित क्षेत्रमा जाने सडक दानसाँगुदेखि पिलुचौरसम्म ठेक्का सम्झौता भए पनि काम हुन नसकेको र त्यस क्षेत्रका हिमाली स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकाका जनताले सडकको उपभोग गर्न पाएका छैनन् । तत्काल कामका लागि खाद्यान्नको पहल गर्ने र हिमालीका जनताले कोल्टी खाद्य डिपोबाट चामल लिन कठीन भएका कारण यस बर्षबाट कवाडीमै राहतको खाद्यान्न उपलब्ध गराउने प्रबन्ध मिलाई दिन समितिले केन्द्रमा माग गरेको छ ।

-पदम सिंह