कारोबार संवाददाता
मंगलबार, भदौ ३१, २०७६
367

गोरखा आरुघाट सडक खण्डअन्तरगत हरमटारीदेखि फिनामको एसमोडसम्मको सडक स्तरोन्नती गर्न जनप्रतिनिधिले माग गरेका छन् । गोरखा नगरपालिका वडा नं १, २, ४, ६ र ८ का अध्यक्षले अलपत्र रहेको सडक स्तरोन्नतिका लागि माग गरेका हुन् । ग्रहापानीदेखि फिनामको एसमोडसम्मको चार किलोमिटर सडकमा अलपत्र परेको कालोपत्रेको काम अघि बढाउन माग गरेको वडा नं २ का अध्यक्ष रहमतुल्ला मियाँले जानकारी दिए ।
सो खण्ड कालोपत्रेका लागि २०७२ साल साउन ३१ गते काष्टमण्डप कन्स्ट्रक्सनसँग सडक कार्यालयले ठेक्का सम्झौता गरेको थियो । सम्झौता अनुसार २०७३ पुषसम्म कालोपत्रे हुनुपर्ने सडक वर्षायाममा हिलाम्ये र हिँउदमा धुलाम्मे रहेको वडाअध्यक्ष मियाँले बताए ।

‘घ्याम्पेसालबाट आउँदा त्यो बाटोले गिज्याउँछ’ उनले भने ‘पानी पर्दा एम्बुलेन्स, मोटरसाइकल जान पनि समस्या छ ।’
तीन करोड ३७ लाख रुपैयाँमा ठेक्का लगाएपनि समयमा काम पूरा नभएपछि बजेटको अभावमा काम अघि बढ्न नसकेको सडक कार्यालयले जनाएको छ । ठेकेदार कम्पनीले काममा लापरबाही गर्दा कुनै कारबाही नभएको भन्दै जनप्रतिनिधिहरुले असन्तुष्टि व्यक्त गरे । सडक कालोपत्रे नहुँदा सवारी साधन सञ्चालन तथा पैदल यात्रुलाई समेत समस्या रहेको वडा नं ४ का अध्यक्ष खोपबहादुर अधिकारीले बताए । ‘हरमटारीदेखि ३ किलोमिटरसम्म पहिले नै पिच भएको’ उनले भने ‘त्यो सडक अहिले पिच जस्तो नै छैन । बाँकी पिच गर्नुपर्ने सडकको काम पनि तुरुन्तै अघि बढाउनुपर्छ ।’
छलफलका क्रममा योजनाको तालमेल नमिल्दा सो सडक स्तरोन्नतीमा ढिलाई भएको ११ किलो छेपेटार भालुस्ँवारा बारपाक सडक योजना कार्यालयका प्रमुख रविन्द्रलाल दासले बताए । ‘पहिले पिच भएकोमा मर्मत गर्न र बाँकी पिच गर्न एक करोड रुपैयाँ माग गर्दै अर्थ मन्त्रालयमा फाइल पेश गरेका छौं’ उनले भने ‘बजेट प्राप्त भएपछि काम अघि बढाउछौं । दशैं अगाडी नै सहज रुपमा सवारी चल्न सक्ने वातावरण बनाउन पहल गर्नेछु ।’