कारोबार संवाददाता
मंगलबार, भदौ ३१, २०७६
259

संखुवासभा-निरन्तरको वर्षाका कारण सवारीसाधन अवरुद्ध भएपछि संखुवासभाको जनजीवन कष्टकर बनेको छ । केही दिनदेखि निरन्तर पानी परेका कारण अन्य जिल्लाबाट संखुवासभा आउने र संखुवासभाबाट अन्य जिल्लाको यात्रामा हिँडेका यात्रुहरू सडक अवरुद्ध हुँदा विचल्लीमा परेका छन् । यात्रुको विचल्ली त छँदैछ वर्षाका कारण स्थानीय थप महंगीको मारमा परेका छन् ।
विशेषगरी अन्य जिल्लाबाट धनकुटा हुँदै संखुवासभा भित्रने कोसी राजमार्ग अन्तर्गतको हिले–तुम्लिंगटार खाँदबारी सडक र हिले–लेगुवा–तुम्लिंगटार दुवै सडक हिलाम्ये भएपछि अहिले सवारी साधन सञ्चालन, यात्रु ओहोरदोहोर र सामग्री ढुवानीमा समस्या भएको छ । दुई सय किलोमिटरको दूरीमा रहेको विराटनगरबाट ९, १० घण्टाको यात्रामा आइपुगिने जिल्ला सदरमुकाम खाँदबारी आइपुग्न अहिले कम्तीमा दुई दिन लाग्ने गरेको खाँदबारीका यातायात तथा हार्डवेयर ब्यवसायी नारायण श्रेष्ठ बताउँछन् । हिउँदको समयमा विराटनगरबाट १० घण्टामा खाँदबारीमा सामान झार्न सकिन्थ्यो तर अहिले विराटनगरबाट लोड गरिएको ट्रिपर खाँदबारी आइपुग्न हप्ता दिन समेत लाग्ने गरेको उनको भनाइ छ ।
संखुवासभा भित्रने दुवै सडकमध्ये सुरक्षित मानिएको माथिल्लो बाटो अर्थात् धनकुटाको हिलेबाट छुट्टिएर तेह्रथुमको वसन्तपुर हुँदै संखुवासभाको चैनपुर, तुम्लिंगटार, खाँदबारी, मानेभन्ज्यांगसम्मको सडकको हालत पनि उस्तै छ । धनकुटाको सिमानामा पर्ने संखुवासभाको धर्मदेवी नगरपालिकास्थित मुडे बजारबाट चैनपुरसम्मको क्षेत्रका दर्जनौं ठाउँमा वर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध बन्ने गरेको धर्मदेवी नगरपालिकाका प्रमुख रमेशकुमार जिमीको भनाइ छ ।