अमरराज आचार्य
मंगलबार, भदौ ३१, २०७६
197

दाङ-घोराही उपमहानगरपालिकाभित्र गरिएको रिसोलिङ तथा कालोपत्रे गुणस्तरहीन भएको छानबिन समितिले जनाएको छ । छानबिन समितिले पत्रकार सम्मेलनको आयोजना गरी प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।
प्रतिवेदन नगरपालिकाको कार्यपालिकाको बैठकमा पेस गरिएको छानबिन समितिका संयोजक तथा घोराही उपमहानगरपालिकाका प्रवक्ता भरत अर्यालले जानकारी दिए । कार्यपालिकाको बैठकले दिएको प्रतिवेदनसमेत सर्वसहमतिमा पारित गरेको उनले बताए । नगर क्षेत्रमा भएका काम गुणस्तरहीन भएको पाएपछि घोराही उपमहानगरपालिका पूर्वाधार महाशाखाका इन्जिनियर र प्राविधिकलाई विभागीय कारबाही समेत गरिएको छ । अहिले ती कर्मचारीलाई अन्य शाखामा सरुवा गरिएको छ भने केहीलाइ अधिकारसमेत कटौती गरिएको छ । काम गुणस्तरहीन भएको जनगुनासो आएपछि २०७६ असार २२ गते बसेको नगरपालिकाको ६२ औँ  बैठकले अर्यालको संयोजकत्वमा वडा नं १५ का वडाध्यक्ष रमेशकुमार पाण्डे र वडा नं १४ का वडाध्यक्ष शक्तिराम डाँगी सदस्य रहेको ३ सदस्यीय समिति गठन गरिएको थियो । समितिले प्रदेश पूर्वाधार कार्यालयका इन्जिनियरलाईसमेत सँगै लिएर भएका कामका बारेमा छानबिन गरेको थियो । समितिले स्थानिय बासिन्दा, उपभोक्ता समिति, सम्बन्धित स्थानमा पुगेर छानबिन गरेको सदस्य रमेशकुमार पाण्डेले जानकारी दिए । समितिले काम भएको मूल्यांकन गरेर मात्र रकम प्रदान गर्ने सिफारिस गरेको जनाएको छ । समितिले नगरपालिका क्षेत्रमा भएका ३८ वटा सडकका बारेमा अध्ययन गरेको थियो । अध्ययनका क्रममा कर्मचारीहरूले निर्माण गर्दा आप्mना निर्माण सामग्री पाइएको समितिले जनाएको छ । त्यसैगरी दररेटसमेत फरक फरक पाइएको प्रवक्ता अर्यालले बताए । घोराही बजार क्षेत्रभित्र यो प्रविधि अवलम्बन गर्दा कहीं कतै आन्तरिक छलफल नै नगरी हचुवाको भरमा ठेक्का प्रक्रिया अगाडि बढाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । कुल रकम १ करोड २१ लाख ४२ हजार ८ सय ५७ रुपैयाँ भए पनि ७५ लाख ७ हजार १ सय २७ रुपैयाँमा २०७५ चैत १३ गते सम्झौता भएको थियो । उक्त कार्य गर्नेका लागि वेस्ट डेभलपमेन्ट कन्स्ट्रक्सन प्रालिले जिल्मा पाएको थियो ।

काम सुरु २०७६ साल जेठ २० गतेबाट सुरु भएको थियो । उक्त रिसोलिङ प्रविधि ४० डिग्री तापक्रम भएमात्र बिटुमिनको सदुपयोग हुने प्राविधिकहरू बताउँछन् । उक्त कार्य रेखदेख गर्नेका लागि उप महानगरपालिकाको २०७५ चैत २१ गते च.न ४४२७ को पत्रअनुसार योजना प्रमुख निर्देशन र साइट इन्चार्जको रेखदेखमा रही नक्सा डिजाइनबमोजिम कार्य सञ्चालन हुने भनेर सूचितसमेत गराइएको थियो तर त्यसअनुसार काम हुन सकेन ।
ठेकेदार कम्पनीले ६.३० किलोमिटर रिसोलिङको सम्झौता गरेकोमा २.८३ किलोमिटरमात्र कुल परिणाममा बिटुमिन प्रयोग भएको भन्ने विषयमा ल्याब टेष्ट गर्दा मात्र एकिने हुने हुँदा थप अनुसन्धान गर्ने देखिने प्रतिवेदनमा उल्लेख गरिएको छ । २.८३ किलोमिटर काम हुँदासमेत योजना प्रमुखको लापरबाही देखिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । रिसोलिङ गरिएको क्षेत्र हाल अस्तव्यस्त रहेको गिट्टी सफाइ निर्माण कर्ताबाट गराएर मात्र योजना प्रमुखबाट पुनः मूल्यांकन गरी भुक्तानी दिन उपयुक्त हुने भनिएको छ ।