कारोबार संवाददाता
मंगलबार, भदौ ३१, २०७६
205

इलाममा निर्माण भएको शीतभण्डार (कोल्डस्टोर) सञ्चालन हुन नसक्दा जिल्लाका किसानलाई समस्या भएको छ । करोडौं रकम खर्चेर निर्माण गरिएको शीतभण्डार सञ्चालन नहुँदा जिल्लाका किसानले उत्पादन गरेका कृषि उपज भण्डारण गर्न नपाएकाले समस्या आएको हो ।
जिल्लामा धेरै प्रकारका कृषिजन्य उत्पादन हुन्छन् । कृषि उत्पादनका लागि अग्रणी इलामका बासिन्दाले शीतभण्डार निर्माण भएर पनि उपभोग गर्न पाएका छैनन् । इलाम सदरमुकाममा निर्माण भएको शीतभण्डार सम्पन्न भएको ८ वर्ष बित्यो तर सञ्चालनमा आउन सकेको छैन । निमाण भएको आठ वर्ष बित्दा पनि शीतभण्डार सञ्चालन हुन नसकेपछि जिल्लाका किसान निराश भएका छन् ।
इलाम नगरपालिका–९ शेरामा बनेको शीतभण्डार नेपाल भारतमैत्री परियोजना हो । भारतीय दूतावासको सहयोगमा ६ करोड रुपैया“ खर्चेर शीतभण्डार बनाइएको भए पनि लामो समयसम्म सञ्चालन नहु“दा नगरपालिकालाई आर्थिक भार बढ्दै गएको छ । महंगा र महत्वपूर्ण उपकरण बिग्रने अवस्थामा पुगेका छन् । दुई हजार मेट्रिक टन क्षमता भएको कोल्डस्टोर सञ्चालनमा नआउँदा  यहाँ उत्पादन हुने किवी, आलु टमाटरसहितका फलफूल, सागसब्जी लगायतले उचित बजार पाउन सकेको छैन ।
सो शीतभण्डार तत्कालीन कांग्रेसको पालामा शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेलामा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले शिलान्यास गरेका थिए । त्यसपछि फेरि नेपाल भारतमैत्री शीतभण्डार निर्माण गर्ने भनेर भारतीय मन्त्रीले पुनः उद्घाटन गरे । दुईपटक उद्घाटन गरी बनाइएको शीतभण्डार सञ्चालन नहुँदा निर्माण सकिए यता नगरपालिकाले विद्युत् उपभोगको रकम, नियमित मर्मतसम्भार र एक कर्मचारीको खर्च नगरपालिकाले बेहोर्नु परिरहेको छ ।
एकपल्टमा एकैखाले उत्पादनमात्र भण्डारण गर्न मिल्ने ‘सिंगल च्याम्बर’को भएकाले पनि शीतभण्डार सञ्चालनमा ल्याउन कठिनाइ भएको विज्ञहरूको भनाइ छ । फरक फरक जातका कृषिजन्य उत्पादन भण्डारण गर्न फरक फरक नै तापक्रम आवश्यक पर्दछ । फरकफरक तापक्रममा फरक खाले तरकारी र फलफूल लगायतका कृषिजन्य उत्पादन राख्न सक्ने गरी ‘मल्टिच्याम्बर’ बनाउनु पर्ने आवश्यकता पर्ने भए पनि हचुवाका भरमा शीतभण्डारको निर्माण गरिएकाले समस्या भएको उनीहरूको भनाइ छ ।
यता नगरपालिकाको सो विषयमा फरक धारणा छ । ‘सिंगल च्याम्बर’ भएकाले केही असर नगर्ने भए पनि शीतभण्डार सञ्चालन गर्न कसैले हिम्मत नै नगरेकाले सञ्चालनमा आउन नसकेको जवाफ आउने गरेको छ । नगरपालिकाले पटक पटक ठेक्का खुलाउँदा पनि दिगो सञ्चालनका लागि अहिलेसम्म केही नआएको नगरपालिकाको भनाइ छ । सञ्चालन गर्न आएका चितवनका एक ब्यवसायीले ठेक्का समयअघि नै सम्झौता तोडेर भागेका थिए । नियमित सञ्चालन होस् भनेर कम मूल्यमा ठेक्का लगाउने योजना भए पनि कोही कसैले वास्ता नगरेको इलाम नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाह बताउँछन् । उनका अनुसार जिल्लामा निर्माण भएको शीतभण्डार यो नै पहिलो हो । हालसम्म अन्य शीतभण्डार स्थापना पनि भएका छैनन् ।
इलाम नगरपालिकाले कर्मचारीवापत मासिक १५ हजार, बिजुलीको विलवापत वार्षिक ६ लाख हाराहारीमा र वार्षिकरूपमा शीतभण्डारलाई चुस्त राख्न लाखौं रुपैया“ खर्च गरिरहेको छ । चल्न नसकेको शीतभण्डार नियमित यतिधेरै खर्च भइरहेको कार्यालयको तथ्यांकमा उल्लेख छ । पहिलो शीतभण्डारको अभ्यास भएकाले पनि धेरैले सञ्चालनको आ“ट गर्न नसकेका हुन् । यो शीतभण्डार सञ्चालन हुनसके अन्य शीतभण्डार जिल्लाका अन्य स्थानमा खुलीसक्ने थिए ।
जिल्लामा अझै पनि बेमौसमका सागसब्जी तथा फलफूल बिक्री गर्न कृषकले सकेका छैनन् । स्कुस, का“क्रा, फर्सी, रायो सागजस्ता तत्काल बिक्री गर्न बजार पु-याउनु पर्ने बाध्यता छ । इलाम नगरपालिका–५ बरबोटेकी एक महिला किसानले उपभोक्ताको घरघरमा घुमाएर तरकारी बेच्ने समस्या कहिल्यै हट्न नसकेको भन्दै चिन्ता गरिन् । उनले उत्पादन भएको सागसब्जी तत्काल उपभोक्ता माझ नपु-याए बिग्रिने भएकाले पनि पिठ्युँमा बोकेर उपभोक्ताको घरघरमा पु-याउनु पर्ने बाध्यता हट्न नसकेको बताइन् । उनीहरूले शीतभण्डारलाई चाँडो सञ्चालन गर्नका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । स्थानीय सरकारले प्रदेश र केन्द्र सरकारसँग समन्वय गरेर शीतभण्डार सञ्चालन गर्नसके जिल्लाका व्यापारी, व्यवसायी तथा किसानलाई पनि राहत मिल्ने थियो । हाल केहीमात्र बेमौसमी फलफूल तथा तरकारी झापाका शीतभण्डारबाट ल्याउने गरेको जिल्लाका ब्यवसायीले बताएका छन् ।

 

टीका खतिवडा