घनश्याम पौडेल
बुधवार, भदौ २५, २०७६
303

अर्घाखाँचीको छत्रदेव गाउँपालिका बल्कोटका यमबहादुर विश्वकर्मा सन्धिखर्क आउन गाडी चढे । उनले बल्कोटबाट सन्धिखर्क जिपमा आएको १३० रुपैयाँ भाडा तिरे । सन्धिखर्क–बल्कोट सडक पिच छ । जम्मा १८ किलोमिटर रहेको सडकमा उनले दोब्बर भाडा तिरेर सन्धिखर्क आए । जिल्लामा पछिल्लो वर्ष यातायातका साधनमा प्रतिकिलोमिटर दररेट अध्यावधिक नभए पनि छिमेकी जिल्ला गुल्मीमा पिच सडकमा प्रतिकिलोमिटर ३ रुपैयाँ १५ पैसा कायम भएको छ । १८ किलोमिटर सडकमा बढीमा ५७ रुपैयाँ भाडा हुन्छ, तर उनले करिब ५७ प्रतिशत भाडा तिरे ।
जिल्लामा पक्की सडकको दररेट ३ रुपैयाँ ३८ पैसा छ, त्यसका आधारमा पनि ६० रुपैया भाडा हुन्छ, तर ७० रुपैयाँ बढी भाडा तिर्न बाध्य भए । जिल्लाको पणेना–सन्धिखर्क सडक २५ किलोमिटर छ, यहाँ ३०० भाडा छ, यहाँका बासिन्दाले करिब १४० रुपैयाँ बढी भाडा तिर्न बाध्य छन् । पणेनाका नारायण पोख्रेलले भने, “पाल्पाको तानसेनदेखि सन्धिखर्क सडक ६४ किलोमिटरमा ५०० भाडा लिने गर्छन्, यहाँ पनि भाडा महँगो छ ।” सन्धिखर्क, गोखुंगा २४ किलोमिटर सडकको भाडा २०० रुपैयाँ छ, गोखुंगाका सुदिप पन्थीले भने, “झण्डै ४० रुपैयाँ मंहगो भाडा तिर्न बाध्य छांै,” उनले भने ।

सन्धिखर्क, धनचौरको पाकुरी सड्क २३ किलोमिटरमा दुई सयँ रुपैँया भाडा छ, पाकुरी देखि अमराई २० किलोमिटरमा पनि दुई सय भाडा छ, धनचौरका अशोक चुदाँलीले भने, सन्धिखर्क, धनचौर, अमराई पुग्दा करिब २८० रुपैँया भाडा हुन्छ, तर १२० रुपैयाँ बढी भाडा तिर्न बाध्य छन्, यहाँका स्थानीय बासिन्दा ।
पाणिनी गाउँपालिकाकै नेटा–घुम्ती सडक १८ किलोमिटर छ, यहाँ भाडा २५० लिने गर्छन्, यहाँ दररेटअनुसार ११७ रुपैयाँ भाडा हुन्छ, तर यहाँ आवतजावत गर्ने स्थानीयले पनि दोब्बर भाडा तिर्न बाध्य छन् । जिल्लाका अधिकांश सडकमा स्थानीय चर्को भाडा तिर्न बाध्य छन्, भाडा घटाउन माग गर्दै पटकपटक जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएका छौँ, बल्कोटका बाबुराम पौडेलले भने, तर सुनुवाइ भएको छैन । “जनताहरू दोब्बर भाडा तिर्न बाध्य छन्, स्थानीय सरकारदेखि सम्बन्धित निकाय पनि मौन छन्,” पौडेलले भने ।
जिल्लामा पश्चिम नेपाल बस व्यवसाय, देउराली यातायात व्यवसायी प्रालि, लंका यातायात प्रालिका गाडीहरू सञ्चालनमा छन् । जिल्लाको देउराली यातायात अर्घाखाँची प्रालिका अध्यक्ष योगेन्द्र खड्का भन्छन्, “बर्खाको समयमा भाडा बढी लिएका होलान्, यसमा समितिलाई जानकारी छैन, बढी भाडा लिएका ठाउँमा घटाउँछौ,” खड्काले भने, “बर्खामा बढाएर भाडा लिएको भए यसमा हाम्रो ध्यान जानेछ ।”
प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल भन्छन्, “स्थानीय सरकार, यातायात व्यवसायी र हामी बसेर भाडा दररेट कायम गरी बढी लिएका ठाउँमा घटाउन लाग्छौँ । मेलापर्वको सयमा छतमा यात्रा गराउने यातायातका साधनलाई नियन्त्रण र कारबाहीका लागि प्रक्रिया अगाडि बढाउँछौँ,” प्रजिअ पौडेलले भने ।