कारोबार संवाददाता
मंगलबार, भदौ २४, २०७६
310

संखुवासभा-खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका केही कर्मचारीहरुले अनियमितता गरेको सम्पूर्ण रकम रकम फिर्ता भएको छ । संस्थाका तीन कर्मचारीले अनियमितता गरेको २० लाख २० हजार ४ सय २१ रुपैयाँ रकम संस्थाको बैंकमा जम्मा भएको संस्थाले जानकारी दिएको हो ।
अनियमित देखिएको २० लाख २० हजार ४ सय २१ रुपैयाँमध्ये संस्थाका लेखापाल लक्ष्मण पराजुलीले ६२ हजार ६ सय २७ रुपैयाँ, प्रशासन सहायक जुनिता कार्कीले तीन पटक गरी ५ लाख ६१ हजार ८ सय ६४ रुपैयाँ र काउण्टर सहायक सुरेश ढकालले दुई पटक गरेर १३ लाख ९५ हजार ९ सय ३० रुपैयाँ जम्मा गरेको संस्थाका अध्यक्ष नरेन्द्र राईले बताए ।

ढकालले ६ हजार ४ सय पाँच रुपैयाँ २७ पुष २०७५ मा नै जम्मा गरेको थियो । बाँकी रहेको १३ लाख ८९ हजार ५ सय २५ रुपैयाँ भने यहि भदौ १६ गते जम्मा गरेको अध्यक्ष राईले बताए ।
खानेपानी संस्थामा भ्रष्टचार भएको जनगुनासो आउन थालेपछि समितिले नगरपालिकाका तत्कालीन लेखा अधिकृत रुद्रमणी श्रेष्ठको संयोजकत्वमा गठन गरेको छानविन समितिले रकम अनियमितता भएको प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन अनुसार ५ बुङ रसिद हराएको र उक्त रसिद वापत ५ लाख एक हजार पाँच रुपैयाँ रकम ढकालबाट नै असुल्ने समितिले निर्णय गरेको थियो ।
अनियमिततामा संलग्नहरुले आफू निर्दोश भएको भन्दै रकम फिर्ता गर्न आलटाल गरिरहेका थिए । दोषी ठहरिएको तीनै जनालाई हाल समितिले बर्खास्त गरिसकेको छ ।