कृञ्जला पुलामी
मंगलबार, भदौ २४, २०७६
303

सिन्धुली-प्रदेश नम्बर ३ सरकारले महिलाका लागि बनाएको भवनमा होटल सञ्चालन गरेको छ । प्रदेश सरकारको कुल ३० करोड लागतमा जिल्लाको तीनपाटन गाँउपालिका—११ चक्मके बजारमा निर्माण गरिएको भवनमा होटल सञ्चालन गरिएको हो ।
स्थानीय सरकारको समन्वयमा स्थानीय महिला सञ्जालका लागि निर्माण गरिएको सो भवनको साउन १२ गते उद्घाटन गरी १५ गतेकै दिन दुईवटा कोठा भाडामा दिएको हो । महिलालाई कार्यालय सञ्चालन र कार्यक्रम गर्न सहज होस् भनेर आरसीसी भूकम्प प्रतिरोधात्मक १ एक तले ४ कोठाको भवन निर्माण गरिएको हो । तर सञ्जालले भने होटल सञ्चालनका लागि कोठा भाडामा दिएको हो । सञ्जालले आफ्नो कार्यक्रम खुल्ला चौरमा गरेर कोठाचाहिँ भाडामा लगाएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । गाउँपालिकाले भाडामा कार्यालय सञ्चालन गरिरहेका बेला सरकारी लगानीमा निर्माण गरिएको भवनमा होटल सञ्चालन गर्नु गैरजीम्मेवारीपूर्ण कदम भएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका हुन् ।

एक स्थानीयले भने, “गाउँपालिकाकै एउटा शाखा सञ्चालन गरेको भए पनि गाउँपालिकालाई भार कम हुन्थ्यो । भवनको दुरुपयोग हुँदा पनि जनप्रतिनिधि चुपचाप छन् ।” सञ्जालकी अध्यक्ष जानुका तिमल्सिनाले भने भवन भाडामा दिएको नभई एक महिनालाई सामान स्टोर गर्न दिएको बताइन् । “एउटी महिलाले १ महिनाको लागि सामान राख्न कोठा दिनुस् भनिन्, हामीले सल्लाह गरेर खाली कोठामा राख्न दिएका हौं,” उनले भनिन्, “सटर हालेको कोठा भएकाले कार्यक्रम गर्न असजिलो भयो । त्यसैले खाली कोठा सहयोग स्वरुप सामान राख्न दिएको हो ।” दुःख पाएकी महिलालाई मानवताको हिसाबले निःशुल्क कोठा दिएको उनको भनाइ छ ।
तिमल्सिनाले कोठा भाडामा नभई निःशुल्क दिएको भने पनि होटल सञ्चालक वीरबहादुर ठकुरीले मासिक ३ हजार रुपैयाँ तिर्ने सहमतिमा आफूले २ वटा कोठा भाडामा लिएको बताए । “मैले त ३ वटा कोठा दिनुस् भनेको थिएँ,” वीरबहादुरले भने, “पैसामा कुरा नमिले पछि एक वर्षसम्म भाडा नबढाउने सर्तमा २ वटा कोठा मात्रै लिएँ ।”
यता गाउँपालिका उपाध्यक्ष पदममाया तामाङ यो कुरामा आफू बेखबर रहेको भन्दै पन्छिइन् । “मैले पनि प्रत्यक्ष देखेको छैन । तर अरुले होटल चलाएको रैछ भन्दै थिए,” उनले भनिन्, “कोठा भाडामा लगाउनु प¥यौ भनेर सल्लाह चाँहि भएको हो तर होटलकै लागि भन्ने कुरा मलाई पनि थाहा थिएन ।” होटलका लागि कोठा भाडामा दिएको रहेछ भने तुरुन्तै हटाउन लगाउने उनले बताइन् । तर तामाङ कार्यालय र घर आवतजावत गर्ने बीच बाटोमै सो भवन निर्माण गरिएको छ ।
प्रदेशसभा सदस्य प्रदिप कटुवालले भने होटल सञ्चालन गर्दा भवनको दुरुपयोग भन्न नमिल्ने भन्दै महिला सञ्जालले स्रोत व्यवस्थापनका लागि त्यसो गरेको भन्दै बचाउ गरे । “पहिले नै कोठा भाडामा दिएर स्रोत व्यवस्थापन गर्ने योजना र एउटा कोठामा कार्यालय सञ्चालन गर्ने भनिएको थियो,” उनले भने ।