कारोबार संवाददाता
शुक्रवार, भदौ २०, २०७६
412

ताप्लेजुङ-जिल्लाका १ नगरपालिकासहित ८ वटै स्थानीय तहमा कर्मचारी अभावले सेवाग्राही मर्कामा परेका छन् । दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका हुन् ।
मेरिङ्देन गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी हेल्थ असिस्टेन्टमा कार्यरत छन्, हेमन्त प्रधान । तर, चार महिनायता उनी पञ्जिकरणको काम पनि गरिरहेका छन् । बिरामीको उपचार गर्नेसहित जन्म, मृत्यु र बसाइँसराइ दर्ता गर्ने र वडाको बैठक सञ्चालन गर्ने जिम्मेवारी छ । गाउँपालिका अध्यक्ष गणेशबहादुर चोङ्वाङ्का अनुसार केन्द्रले कर्मचारी सरुवा गर्ने तर नपठाउने समस्याले सेवाप्रदायक र सेवाग्राही मर्कामा परेका छन् । “सेवाप्रवाह कसरी प्रभावकारी हुन्छ ?” अध्यक्ष चोङ्बाङ्ले भने, “३२ जना कर्मचारीको दरबन्दी छ । दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृतमात्र छन् ।” गाउँपालिकाका ६ वटै वडामा स्वास्थ्य कर्मचारीहरू सचिवको समेत जिम्मेवारीमा छन् ।

सिरिजंघा गाउँपालिकाका वडा पनि स्वास्थ्यकै कर्मचारीको भरमा छन् । आठ वटा वडामध्ये २ वटा वडामा मात्रै प्रशासनका सचिव रहेको प्रमुख प्रशासकीय अधिकृत प्रसन्नदिप राईले बताए । प्राविधिक धारका सचिवले वडा समितिको बैठक बोलाउने, माइन्युट उठाउने र निर्णय लेख्नेजस्ता प्रशासनिक कार्यमा व्यस्त हुँदा सेवाप्रवाहमा समस्या भएको छ । गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले भने, “कर्मचारी अभावमा सेवाप्रवाहमा हुने समस्या भनी साध्य छैन । भएकाले जेनोतेनो काम भ्याएका छन् ।” स्वीकृत दरबन्दीअनुसार मिक्वाखोला गाउँपालिकामा २४ जना स्थायी कर्मचारी हुनुपर्ने हो । तर, अहिले चारजना मात्रै छन् । विषयगत शाखाको काम करारका कर्मचारीको भरमा चलिरहेको छ । ५ नम्बर बाहेकका वडा कार्यालयमा स्वास्थ्य र प्राविधिक कर्मचारी सचिव छन् । एउटैलाई दोहोरो तेहेरो जिम्मेवारी दिएर गाउँपालिकाले सेवा प्रवाह गरिरहेको प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र गुरुङले बताए ।
समायोजनपछि जिल्लाका नौवटै स्थानीय तहमा कर्मचारी रित्तिएका छन् । कर्मचारी अभावले काम गर्न नसकिएको जनप्रतिनिधिको गुनासो छ । एचए, अहेव र सबओभरसियर, ओभरसियरलाई जिम्मेवारी दिएर भए पनि सेवा प्रवाह गरिरहेको सिदिङवा गाउँपालिकाका अध्यक्ष नरबहादुर कडरियाले बताए । अध्यक्ष कडरियाले भने, “दुर्गम क्षेत्रमा कर्मचारी अड्याउनै मुस्किल बन्यो । कार्यसम्पादनमा समस्या हुन्छ ।” फुङलिङ नगरपालिकामा चालक, कार्यालय सहयोगी र मालीबाहेक ५१ जनाको दरबन्दी छ । २७ जनामात्रै पूर्ति भएको प्रमुख प्रशासकीय अधिकृत महेशराज तिम्सिनाले सुनाए । ६ वडा रहेको मैवाखोला गाउँपालिकामा २५ जनाभन्दा माथिको स्थायी दरबन्दी हो । हाल ७ जना स्थायी र ३ जना करारका कर्मचारी छन् । अब उपभोक्ता समिति गठन, योजना छनोटलगायतका कार्य धमाधम गर्ने समय भएकाले समस्या रहेको गाउँपालिका अध्यक्ष राजन थत्लुङले बताए । कर्मचारी नै अपुग भएपछि सेवाप्रवाह प्रभावकारी नहुनु अनौठो नभएको जनप्रतिनिधि स्वयंमले बताउने गरेका छन् ।