अमरराज आचार्य
शुक्रवार, भदौ २०, २०७६
350

पुल आधा, खोला पुरै

दाङ-एक साताअघि देउखुरी गढवा–४ कटेयान गाउँ निवासी शर्मिला चौधरी विद्यालय जान घरबाट हिँडिन उनी गढवा गाउँपालिका–५ स्थित चैनपुर माध्यमिक विद्यालयमा पढ्छिन । घरबाट करिब आधा घण्टाको दूरीमा रहेको विद्यालयमा पुग्नै लाग्दा फर्किनु पर्ने बाध्यता भयो । जसको कारण हो गढवा गाउपालिका–५ मा रहेको दंगाली खोला । खहरे खोला उर्लिंदै ठूलै भेल आइरहेको थियो । तर्न सक्ने अवस्था थिएन । खोला काट्यो भने विद्यालय आइहाल्थ्यो तर खोला तर्न नसक्दा घर फर्कनु प-यो । खोलाको ढिकबाट विद्यालय हेरिन् र निराश भएर घर फर्किन् ।

त्यस्तै बाध्यता छ गढवा गाउँपालिका–५ निवासी शर्मिला चौधरीलाई पनि । वर्षात्को समयमा विद्यालय पढ्न आउँदा होस् या घर फर्किंदा भालुुदोन्द्रे खोलाले घण्टौ छेक्ने गरेको छ । “खोलामा पुल नहुँदा पानी परेको बेला विद्यालय जान मिल्दैन,” शमिलाले भनिन्, “उर्लेर आउने खहरे खोलाले छेकिहाल्छ ।” पानी परेको बेला अधिकांश समय विद्यालय छुट्ने गरेको उनी बताउँछिन ।
यो बाध्यता उनीहरूलाई मात्र होइन उक्त सडक भर विद्यालय आउने विद्यार्थीसँगै शिक्षकले समेत भोग्दैछन् । गएको असारको अन्त्य तिर खोलामा आएको ठूलो भेलले पुलको दक्षिण भाग कटान गरेपछि पुलको दक्षिण भागमा खोला बग्ने गरेको छ । जसले गर्दा वर्षात्को समयमा विद्यार्थीहरू खोला तर्न सक्दैनन् र घरफर्कनु पर्ने बाध्यता रहेको विद्यालयका शिक्षक दानबहादुर बिसीले बताए । “पुल हँुदा विद्यार्थीलाई विद्यालय आउन जान सहज थियो,” शिक्षक बिसीले भने, “तर अहिले पानी ठूलो पर्दा विद्यार्थी छेकिने गरेका छन् ।” खोलाले पुलको दक्षिणतिरको भाग काटेपछि विद्यार्थीसँगै उक्त सडक भएर हिँड्ने स्थानीयलाई समेत समस्या भएको उनी बताउँछन् ।
गत असारमा आएको भलले पुलमा क्षति पु-याएपछि खोला भने भल आएको बेला पुल बाहिरबाट बग्ने गरेको छ । यसले विद्यार्थीलाई खोला तर्न समस्या भएको छ । पुल निर्माण भएपछि स्थानीयलाई समेत सहज भएको थियो तर पुलमा समस्या आएपछि गढवा गाउँपालिका–४ र ५ का लोखरपुुर, मगहर, लालपुुर, पर्सिया र कटेयान गाउँलगायतका विद्यार्थीसँगै स्थानीयलाई समेत समस्या भएको छ । पुलमा आएको समस्या समाधानका लागि पटक पटक वडा कार्यालय र गाउँपालिकालाई जानकारी गराए पनि समाधानका लागि पहल नगरेको विद्यालयका शिक्षक बिसीले बताए । “पुलमा समस्या आएपछि त्यसको प्रभाव विद्यालयमा देखिएको छ, पानी पर्दा विद्यालयमा विद्यार्थी आउँदैनन्,” विद्यालयका शिक्षक बिसीले भने, “विद्यालयमा आएको बेला पनि पानी पर्ने जस्तो गरे बिदाई गर्नुपर्ने बाध्यता छ ।” गाउँपालिका वा वडा सरकारले चाहेमा यो समस्या समाधान गर्न सकिने भए पनि इच्छा नदेखाएको स्थानीयको गुनासो रहेको छ । तत्कालका लागि पुलमा काठको भ-याङ बनाएर हिँड्ने गरिएको छ ।
गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भने चालू आवमा समस्या समाधान गरिने बताए । “वर्षात्को समयमा खोलामा आएको भेलले पुलमा समस्या पारेको थियो, त्यो तत्काल समस्या समाधान गर्नसक्ने अवस्था थिएन,” गाउँपालिका अध्यक्ष यादवले भने, “वर्षात् कम हँुदै गएकाले अब मर्मत गरिने छ ।” गाउँपालिका अध्यक्ष यादवले भालुुदोन्द्रे खोलामा यसै वर्ष नयाँ पुुल बन्ने बताए ।