सागर परियार
बिहिवार, भदौ १९, २०७६
278

जुम्ला-चन्दननाथ नगरपालिका–१ निवासी जगतबहादुर रावतको घरमा सोमबार राति आगलागी भयो । बिजुलीको तार सट भएपछि एक्कासि घरमा आगलागी भएको हो । आगो नियन्त्रणका लागि नगरपालिकामा रहेको दमकल बोलाउँदा आएन । जसका कारण आगलागीबाट करोडौंको क्षति भएको आगलागीपीडित जगतबहादुुर रावतको भनाइ छ ।
उनको घरमा रहेको सहरी गाउँघर क्लिनिकको कार्यालय, बाटुली कुलालको होटल र जय बहादुर भण्डारीको पसल पूरै घर आगलागीबाट पूर्णरूपमा नष्ट भएको छ । सहरी क्लिनिकमा आगलागी हुँदा सबै औषधि जलेका छन् भने आपतकालीन अवस्थामा पनि सिटामोल दिने अवस्था नरहेको इन्चार्ज जानकी महतले बताइन् । नगरपालिकाको दमकलले प्रभावकारी सेवा नदिएको यसअघि पनि गुनासो आएको थियो ।

यता प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार आगो नियन्त्रणका लागि दमकल बनाउन मेयरलाई फोन गर्दा फोन स्विचअप भएकाले प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले झण्डै ३ घण्टाको अवधिमा आगो नियन्त्रणमा लिए । मानवीय क्षति नभए पनि अन्नपात लत्ताकपडा, भाडाकुडा सबै पूर्णरूपमा जलेर नष्ट भएको छ । राहत उद्धारका लागि लाखौको बजेटमा खरिद गरिएको दमकल प्रयोगमा नआउँदा पीडित पक्षले धेरै क्षति बेहोर्नु परेको स्थानीय गौरीन्द आर्चायको भनाइ छ । आपतकालीन अवस्थामा प्रयोगमा नआउने दमकललाई सुुधार नगर्नु कर्मचारी जनप्रतिनिधि दुवैको गैरजिम्मेवारीपन रहेको उनको भनाइ छ ।
आगलागीबाट घर मालिक जयबहादुर रावतको २५ लाख ४१ हजार, बाटुली कुलालको होटल १ लाख २६ हजार ४० रुपैयाँको क्षति भएको प्रहरीको अनुमान छ भने सोही घरमा रहेको जयबहादुर भण्डारीको खाद्यान्न पसलको २५ लाख ७५ हजार र सहरी क्लिनिकको ४ लाख ८५ हजार गरी झण्डै ७५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । दुईतले १३ कोठाको घर जलेर बस्ने ठाउँ छैन । जनकबहादुर रावतको परिवार अहिले आफन्तकोमा बसिरहेका छन् । दमकल नगएकै कारण करोडौको क्षति भएको हो ।
५ महिनादेखि थन्कियो दमकल
चन्दननाथ नगरपालिकाले आव ०७१-७२ मा झण्डै ६० लाखको लागतमा आगलागी नियन्त्रणका लागि दमकल खरिद ग-यो । सुरुदेखि तातोपानी–२ का तेज बुढा चालक थिए । २०७४ को स्थानीय तहको निर्वाचनमा उनी पाटीको प्रचारमा हिँडेपछि उनले राजनीनामा दिए । त्यसपछि हालसम्म दमकल चालकविहीन छ । तर पानी फाइरिङ गर्ने मोटर बिग्रिएको ५ महिना भयो । तर जनप्रतिनिधिदेखि कर्मचारीले बनाउने विषयमा ध्यान नदिँदा करोडौंको क्षति हुन गएको हो ।
मेयर कान्तिका सेजुवालक अनुसार दुई पटक बनाएका हौँ । हेवी लाइसेन्सवाला चालक भेटाएका छैनौ, सूचना प्रकाशित गर्दा पनि दर्खास्त परेन, जसका कारण दमकल थन्किएको हो । आगालागी हुँदा उद्धार गर्न नक्सनु दुःखद पक्ष हो । अझै हेबी लाइसेन्स भएको चालक नभएसम्म पूर्णरूपमा दमकल सञ्चालनमा आउने अवस्था छैन । अन्य लाइसेन्स भएका चालकले दमकल चलाउन पाउँदैनन् ।

राहत प्रदान
आगलागी पीडित जयबहादुर रावतलाई विभिन्न निकायले राहत प्रदान गरेका छन् । खाने गास, बस्ने बास र लगाउने कपाससमेत नभएका पीडित परिवारलाई जिल्ला प्रशासनको राहत उद्धार कोषबाट १५ हजार नगद दिइएको छ भने नगरपालिकाले ३ कटा चालम, एक काटुन तेल, बेसारलगायतको खाद्यान्न सामग्री दिएको नगरपालिकाका विपद संयोजक लक्ष्मीचन्द्र न्यौपानले बताए । उनका अनुसार रेडक्रसबाट पाल कम्बल, बाल्टी, थाल गिलास प्रदान गरिएको छ । तत्कालका लागि थोरै राहत दिएको र थप राहतका लागि नगरपालिका बैठक बसी प्रदान गरिने मेयर सेजुवालको भनाइ छ ।