नरी बडु
बिहिवार, भदौ १९, २०७६
241

बैतडी-झट्ट सुन्दा दशरथचन्द नगरपालिका–५ को वडा कार्यालयले यो कस्तो क्षेत्रमा बजेट विनियोजन ग-यो होला भन्ने लाग्न सक्छ । तर दशरथचन्द नगरपालिका–५ का स्थानीयको मुख्य समस्या भनेको बाँदर आतंक नै हो ।
सोही समस्याको मागअनुसार दशरथचन्द नगरपालिका–५ को कार्यालयले बाँदर धपाउन १० लाख विनियोजन गरेको छ । दशरथचन्द नगरपालिका–५ मा बाँदरले विगत केही वर्षदेखि आतंक मच्चाएकाले बाँदर व्यवस्थापनका लागि वडा कार्यालयले १० लाख रुपैयाँ विनियोजन गरेको हो । बाँदरलगायत अन्य जंगली जनावर व्यवस्थापन गर्नका लागि उक्त रकम विनियोजन गरिएको दशरथचन्द नगरपालिका–५ का अध्यक्ष नारायणप्रसाद भट्टले बताए । वडामा विशेष गरेर बाँदरले आतंक मच्चाएको उनले बताए । खेतमा लगाएको अन्नबाली तथा फलफूल बाँदरले सखाप पार्ने गरेको छ । यसका साथै घरभित्र पसेरसमेत पकाएको खाना तथा घरभित्र थन्काएर राखेको अन्न तथा अन्य खाद्यान्नसमेत बाँदरले खाने गरेको उनले बताए ।
बाटोमा हिँड्दासमेत महिला तथा बालबालिकालाई बाँदरले आक्रमण गर्ने गरेको वडाध्यक्ष भट्टको भनाइ छ । गत साउनमा ३ जनालाई बाँदरले टोकेपछि तीनैजनालाई रेबिजविरुद्धको सुईसमेत दिइएको उनले बताए । जंगली जनावर व्यवस्थापन कसरी गर्ने भन्ने विषय टुंगो लाग्न बाँकी रहेको दशरथचन्द नगरपालिका–५ को कार्यालयले जनाएको छ । जंगली जनावर व्यवस्थापनका लागि जिल्ला प्रसासन कार्यालय, डिभिजन वन कार्यालय, दशरथचन्द नगरपालिकाले केही दिनभित्रै ठोस निर्णय गर्ने जनाएको छ । दशरथचन्द नगरपालिकाका अधिकांश वडामा विगत वर्षदेखि बाँदरले आतंक मच्चाउन थालेपछि अहिले यहाँ खेती गर्ने किसानको संख्यामा समेत कमी आएको दशरथचन्द नगरपालिकाले जनाएको छ ।