कारोबार संवाददाता
बुधवार, भदौ १८, २०७६
297

संखुवासभा-रगत अभावका कारण अकालमा ज्यान गुमाउन परेको भन्दै संखुवासभाका महिला ब्लडबैंक स्थापना गर्न लागिपरेका छन् । बर्सेनि दर्जन बढी बिरामीले समयमै रगत नपाउँदा ज्यान गुमाउनु परेको भन्दै महिलाहरू ब्लडबैंक स्थापना गर्न कम्मर कसेर लागिपरेका हुन् ।
महिलाहरूले रेडक्रस श्रृर्जनशील रक्त सञ्चार सेवा केन्द्र नामबाट ब्लडबैंक स्थापनाका लागि बैंक खातामार्फत सहयोग संकलन गरिरहेको श्रृजनशील सामुदायिक विकास केन्द्र संखुवासभाकी अध्यक्ष राधादेवी बस्नेतले बताइन् । अहिले संखुवासभा र भोजपुरबाट जिल्ला अस्पताल खाँदबारी ल्याइएका सुत्केरी, दुघर्टनाका घाइते तथा आकश्मिक घट्नामा परेकालाई रगत चाहिए प्रहरी, सेना र रेडक्रसकर्मीबाटै रगत दिँदै आएको छ ।

समयमा रत्तदाता नपाइने, ब्लड ग्रुप नमिल्ने, भनेको समयमा अन्य विभिन्न समस्या आइपर्ने गरेकाले ब्लडबैंक नै स्थापना गर्न अभियान सञ्चालन गरिएको अध्यक्ष बस्नेतको भनाइ छ ।
संखुवासभामा ब्लडबैंक नहुँदा विशेषगरी महिला तथा गरिब र विपन्नवर्गले आपतकालीन अवस्थामा रगत नपाएकै कारण अनाहकमा ज्यान गुमाउनु परेको भन्दै श्रृजनशील सामुदायिक विकास केन्द्रले गत मंसिरमा मनकामना मेलामा चिया बिक्री गरी रकम संकलन अभियान थालनी गरेको थियो । एक दिने मेलामा चिया बिक्रीबाट संकलित २९ हजार ५ सय संकलन गरी सुरु गरिएको अभियानको खातामा अहिले करिब ९ लाख रकम जम्मा भइसकेको नेपाल रेडक्रस सोसाइटी जिल्ला साखा संखुवासभाका सभापति सरोज वज्राचार्यले जानकारी दिए ।
नेपाल रेडक्रस श्रृजनशील सामुदायिक विकास रक्तसञ्चार सेवा केन्द्रद्वारा सञ्चालित अभियानमा देश तथा विदेशमा रहेका नेपालीले सहयोग गर्दै आएका छन् । ब्लडबैंक स्थापनाका लागि संखुवासभामा रहेका विभिन्न सामाजिक संघसंस्थाले समेत सहयोग गर्ने क्रम बढेको श्रृजनशील सामुदायिक विकास केन्द्रकी सचिव बबिता कार्की कटुवालले बताइन् । केही दिनअघि नेपाल महिला संघले आफ्नो स्थापना दिवसको अवसर पारेर १५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको थियो । त्यसैगरी गत आइतबार तीजको अवसर पारेर खाँदबारी–३ स्थित मिलन महिला समूहले पनि १६ हजार ३ सय ९५ रुपैयाँ सहयोग गरेको थियो ।
हालसम्म १० लाख ४ हजार ५ सय संकलन भएको नेपाल रेडक्रस शाखाका उपकोषाध्यक्ष एवं श्रृजनशील सामुदायिक विकास केन्द्रकी सचिव बबिता कटुवालले जानकारी दिइन् । संखुवासभा र भोजपुरबाट उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएका बिरामी रगत नपाएकै कारण करिब १ सय ५० किमि टाढा रहेको सुनसरीको घोपा र विराटनगर तथा काठमाडांैका सुविधा सम्पन्न अस्पताल पुग्नुपर्ने बाध्यता छ ।


सातामा धेरै पढिएको