कारोबार संवाददाता
बुधवार, भदौ १८, २०७६
252

पर्वत-गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष र संघीय सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाउने घोषणा गरिरहेका छन् । दुवै पर्यटन वर्षलाई मध्यनजर गर्दै पर्यटकीय पूर्वाधारहरु धमाधम निर्माण भइरहेका छन् । गत आर्थिक वर्षदेखि पर्वतमा झण्डै एक दर्जन भन्दा बढि पदमार्ग र ४८ स्थानमा होमस्टे सेवा निर्माण भएका छन् ।
जिल्लाको विकट गाउँ विहादी गाउँपालिका वडा नं. १ बाच्छामा रहेको प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल बच्छेश्वर जाने पदमार्ग निर्माण सम्पन्न भएको छ । झण्डै तीस लाख रुपैयाको लागतमा बाच्छा देउरालीदेखि बच्छेश्वर मन्दिरसम्मको पक्की सिँढी सहितको पदमार्ग निर्माण भएको हो ।

गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा एक किलोमिटर लामो पदमार्ग निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो । जसमा १ हजार तीन सय ३९ वटा सिँढी रहेका छन् । पदमार्ग निर्माण भएपछि कालीगण्डकी करिडोर हुँदै आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मन्दिरसम्म पुग्न सहज हुने भएको छ । त्यसैगरी बच्छेश्वर हुँदै पर्यटकीय स्थल गोल्र्याङधाममा जानका लागि पनि सहज भएको पदमार्ग निर्माण समितिका अध्यक्ष चित्रबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारका पर्यटन मन्त्री विकास लम्सालको पहलमा बजेट बिनियोजन भएपछि पदमार्गसँगै गाउँमा होमस्टे समेत विस्तार भएको छ ।
पदमार्ग बनेपछि गाउँमा दुईवटा होमस्टे समेत सञ्चालनमा आएका छन् । बच्छेश्वर सामुदायिक होमस्टे र सालडाँडा सामुदायिक होमस्टे सञ्चालनमा आएका हुन् । दुईवटै होमस्टेका लागि प्रदेश सरकारले १० लाख रुपैयाँका दरले बिनीयोजन गरेको थियो । उक्त रकमबाट दुईवटा समाजघर निर्माण भएका छन् । गाउँमा आउने पर्यटकलाई समाजघरमा स्वागत गर्ने र खाना खुवाएपछि गाउँमा सञ्चालित होमस्टेमा बास बसाउनेगरी व्यवस्था मिलाईएको समेत पदमार्ग निर्माण समितिका अध्यक्ष गुरुङले जानकारी दिए ।
उनका अनुसार गुरुङ संस्कृति, स्थानीय अर्गानिक खाना, लोकल कुखुरा, लोकल मदिरा, सिन्कीको अचार, भटमास, मकै, कोदोको ढिडोलगायत गाउँमा उत्पादित तरकारीका परिकारहरु पर्यटकलाई दिन थालिएको छ । त्यतिमात्र हैन साँझमा गुरुङ संस्कृति समेत देखाउने गरिएको छ । सालैजो, यानीमाया, सुनिमाया, सोरठी तथा महिला पुरुषबीच र आउने बाह्य पर्यटकसँग स्थानीय महिलाहरुको दोहोरी गीतहरु समेत गाएर पर्यटकलाई मनोरञ्जन दिने व्यवस्था गाउँमा गरिएको छ ।
पछिल्लो समय बढ्दो युवा पलायनका कारण रित्तिदै गएको गाउँमा होमस्टे र पदमार्ग निर्माणले चहलपहल बढाएको स्थानीय नन्दु गुरुङले जानकारी दिइन् । उनले भनिन् ‘रोजगारी खोज्दै पलायन हुनु यहाँको बाध्यता थियो, अहिले केहि मात्रामा रोकिएको छ ।’ यहाँका अधिकांस गुरुङ्ग समुदायका परिवारहरु बेलायत, हङकङमा बसोबास गर्दै आएका छन् भने युवाको बेलायती र भारतीय सेनामा बढ्दो आकर्षण रहेको उनले बताइन् ।
हराउँदै जान थालेको गुरुङ्ग संस्कृतिको जगेर्ना गर्नका लागि तमु संग्राहलय निर्माणको काम पनि धमाधम भइरहेको छ । पुरातत्व विभागको सहयोगमा गुरुङ्ग संग्राहलय निर्माणको कामले तीब्रता पाएको हो । चित्रबहादुर गुरुङ र स्थानीय युवा सविन गुरुङ लगायतको पहलमा संग्रहालयको निर्माणकार्य अन्तिम चरणमा पुगेको बताइएको छ ।
सदरमुकाम कुश्माबजारबाट झण्डै तीस किलोमिटरको दुरीमा रहेको उक्त गाउँमा भ्रमण वर्षमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सुविधाजनक रुपमा राख्न सकिने होमस्टे सञ्चालक सविन गुरुङले बताए । सडक समेत स्तरोन्नती भइरकेकाले मध्यपहाडी लोकमार्गबाट डेढ घण्टाको यात्रामा उक्त गाउँमा पुग्न सकिने जनाइएको छ । होमस्टेमा दैनिक एक सय भन्दा बढी पर्यटकलाई राख्न सकिने गरी व्यवस्थापन गरिएको बताइएको छ ।