रोशन थापा
बुधवार, भदौ १८, २०७६
295

७ दिनमा मर्मत नगरे आपूर्तिकर्तालाई कारबाही गर्न सिफारिस

संघीय संसद्ले संसदीय समितिका सभापतिहरूका लागि खरिद गरेको गाडीमा गुणस्तरहीन पार्टपुर्जा प्रयोग भएको ठहर भएको छ । संसदीय समितिका सभापतिहरूका लागि किनिएका गाडी एक महिनामै बिग्रिएपछि छानबिन गर्न गठित समितिले यस्तो प्रतिवेदन तयार पारेको हो । छानबिन समितिले सो प्रतिवेदन मंगलबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई बुझाएको छ ।सभापतिहरूले नयाँ गाडी बिग्रनुमा अनियमितताको आशंका गरेपछि राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेर छानबिन सुरु गरिएको थियो ।
संघीय संसद्ले संसदीय समितिका सभापतिहरूका लागि पहिलोपटक ५ वटा र दोस्रोपटक ११ वटा स्कर्पियो गाडी खरिद गरेको थियो । तर, किनिएका गाडी एक महिनामै बिग्रिएको भन्दै उजुरी परेपछि सो गाडीहरूको छानबिन भएको थियो । छानबिन समितिका संयोजक बिडारीले खरिद भएका सबै गाडीमा कमजोरी देखिएको बताए । उनले गाडीमा गुणस्तरहीन पार्टपुर्जा प्रयोग भएको देखिएको भन्दै उक्त गाडी ७ दिनमा मर्मत गर्ने, मर्मत हुन नसके फिर्ता पठाउन र फिर्ता नगरे आपूर्तिकर्तालाई कारबाही गर्न सिफारिस गरेको बताए ।सचिवालयले गत वैशाख दोस्रो साता र असार २३ गते ति गाडी किनेको हो ।

अधिकांश गाडीमा झ्याल–ढोकाका सिसा खोल्न–लगाउन नमिल्ने, कुनै स्टार्ट नै नहुने, कुनैको वाइफर नचल्ने समस्या देखिएको छ ।छानबिन समितिको प्रतिवेदन बुझ्दै सभामुख महराले त्यसको अध्ययन गरी कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाए ।
सभामुख महरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले गठन गरेको समितिमा प्रतिनिधिसभाका ३ र राष्ट्रिय सभाका २ सांसद छन् । सदस्यमा सार्वजनिक लेखा समिति सभापति भरतकुमार शाह, कानुन न्याय तथा मानव अधिकार समिति सभापति कृष्णभक्त पोखरेल, अर्थ समिति सभापति कृष्णप्रसाद दाहाल र दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्ट रहेका थिए । समितिलाई छानबिन गर्न १५ दिनको समय दिइएको थियो ।