कारोबार संवाददाता
मंगलबार, भदौ १७, २०७६
330

धनगढी उपमहानगरपालिकाले मापदण्ड मिचेर सडकमै मनोरञ्जनका लागि भौतिक संरचना बनाएर सडक साँघुरो पारेको छ ।
धनगढी उपमहानगरपालिका–१, पार्कमोडबाट रंगशाला जाने सडकलाई साँघुरो पारेर नगरपालिकाले सन्ध्याकालीन कार्यक्रम आयोजना गर्नका लागि मञ्च बनाइरहेको हो । धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले पार्कमोड क्षेत्रमा विभिन्न संरचना निर्माण गरी मोटरेबल सडकलाई पैदलमार्ग बनाउन लागेको बताए । धनगढी उपमहानगरपालिकाको सडकलाई साँघुरो पार्ने कार्यलाई स्थानीयले विरोध गरिरहेका छन् । सडकमै भौतिक संरचना निर्माण गर्दा सडक साँघुरो भएर दुर्घटना हुने खतरा रहेको स्थानीयको भनाइ छ । “यहाँ साँघुरो सडक छ । त्यो पनि ठाउँ–ठाउँमा खाल्डाखुल्डी छन् । त्यसैमा सडकमै भौतिक संरचना निर्माण गर्न थालेपछि झन् समस्या वृद्धि हुने देखिएको छ,” स्थानीय मनोज जोशीले भने, “उपमहानगरपालिकाले यो सडक फराकिलो बनाउनुको सट्टा उल्टै भौतिक संरचना निर्माण गरेर साँघुरो बनाउदै छ ।”

चापभन्दा निकै साँघुरो सडक रहेको धनगढीमा सडक फराकिलो बनाउन माग उठिरहेको बेला उपाहानगरपालिकाले नै एसियाली विकास बैंकको सहयोगमा विभिन्न सडक फराकिलो बनाउने योजना ल्याएको छ । तर उपमहानगरपालिकाले चल्तीको सडकलाई पैदलमार्ग बनाउन थालेपछि यसको चर्को विरोध भएको छ ।
उपमहानरपालिकाले पार्कको गेटकै अगाडि साँझको समयमा विभिन्न कार्यक्रमका साथै ठेला नास्ता सञ्चालनका लागि भौतिक संरचना र चौतारा निर्माण गर्ने जनाएको छ । उपमहानगरपालिकाका इन्जिनियर द्विजराज भट्टले दिउँसोको समयमा पनि अनुमति लिएर विभिन्न सडक कार्यक्रम आयोजना गर्न सकिने बताए । उनले खासगरी साँझ तथा रातिको समयमा सांगीतिक कार्यक्रम आयोजना गर्न पाउने तथा ठेला नास्ता सञ्चालन गर्ने गरी संरचना निर्माण भइरहेको बताए ।
सडक क्षेत्रमा भौतिक संरचना निर्माणको लागि उपमहानगरपालिकाले १५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । इन्जिनियर भट्टले सडक छेउका खोका तथा ठेला व्यवस्थापन र सांस्कृतिक संग्रहालयको लागि पनि भौतिक संरचना निर्माण भइरहेको जनाए । उनले सडकका लागि १० मिटर चौडाइ छोडेर भौतिक संरचना निर्माण गरिरहेको बताए । तर नेपाल सरकारले सहरी क्षेत्रको सडक कम्तीमा २० मिटर चौडाइ हुनुपर्ने मापदण्ड तोकेको छ । धनगढी उपमहानगरपालिकाले सो भौतिक संरचना निर्माण गर्न लागेको सडक धनगढीको मेनरोडलाई धनगढी दिपायल द्रुतमार्गसँग जोड्ने मूल सडकमा पर्छ ।


सातामा धेरै पढिएको