कारोबार संवाददाता
शुक्रवार, भदौ ६, २०७६
354

जुम्ला-नेपाल टेलिकमको धेरैजसो कार्यालय कर्णाली अञ्चलको जुम्लामा छन् । जुम्लाबाटै मुगु, डोल्पा र हुम्ला जिल्ला हेर्नुपर्छ । डोल्पा जिल्लाका लागि जुम्लाको चिमारा मालिकाबाट लाइन गएको छ । मुगुका लागि डाँफेलेक हुँदै मुगु र हुम्ला जिल्लामा लाइन गएको छ । चारवटै जिल्ला जुम्लाबाट हेर्नुपर्छ । टेलिकम शाखा जुम्लाका प्रमुख पदमबहादुर महताराले भने, जम्मा ४ जना कर्मचारी छौं ।
एकजना करार प्राविधिक र ३ जना स्थायी कर्मचारी छौं, भौगोलिक विकटताले कतै समस्या आउँदा जान आउन निकै मुस्किल छ । कर्मचारी अभावकै कारण सेवा प्रभावकारी हुन नसकेको समेत निमित्त प्रमुख महताराले सुनाए । कारोबार दैनिकको साउन २७ गतेको अंकमा टेलिकमको सेवा प्रभावकारी छैन । सुरक्षा गार्डलाई इलेक्टोनिक ज्ञान आवश्यक भन्ने समचार प्रकाशितपछि नेपाल टेलिकमको ध्यानाकर्षण भएको बताए ।

जुम्लामा मंगलबार भएको नागरिक सुनुवाइ कार्यत्रममा कर्मचारी अभावकै कारण सेवा प्रभावकारी हुन नसकेको बताए । कर्णाली टेलिकममा काम गर्न कर्मचारी आउन मान्दैनन्, कर्मचारी व्यवस्थापनमा केन्द्रले चासो नदिँदा कर्णालीमा सञ्चारको समस्या हुँदै आएको उल्लेख गरे । हिमाली क्षेत्रमा रहेका कुल जनसंख्याको ९५ प्रतिशत नागरिक नमस्ते सिम प्रयोग गर्छन् ।
चार जिल्लामा काम गर्ने दुईजना मात्रै प्राविधिक छन् । जुम्लाबाट हुम्ला, डोल्पाका रिपिटर टावरमा जान एक साता लाग्छ, टावरमा समस्या आएपछि कर्मचारी अभावकै कारण साता दिनसम्म सञ्चार अबरुद्ध हुने बाध्यता रहेको समेत प्रमुख महताराले बताए । कर्णालीका चार जिल्ला हेर्ने चित्र शाही र श्रीधर अधिकारी दुईजना मात्रै प्राविधिक छन् ।
दुईजना मध्य कोही विदामा बस्दा टावरमा समस्या आयो भने सञ्चारविहीन हुने बाध्यता छ । अहिलेसम्म कर्णालीका टेलिकमका टावरमा हुने समस्या र सुधार हुन समय लाग्नुको कारण नै कर्मचारी अभावको समस्या छ भने आपतकालीन अबस्थामा सुरक्षा गार्डलाई इलोक्टोनिक ज्ञान दिनुपर्ने सबालमा भने टेलिकमकै नियममा नरहेको बताए । सुरक्षा गार्डलाई रिपिटर टावरको सुरक्षाका लागि मात्रै राखेको आवश्यक ज्ञान भने नदिएको टेलिकम प्रमुख महताराले स्वीकार गरे ।
तालिम प्राप्त सुरक्षा गार्ड राख्न थप कर्मचारीनै व्यवस्था गर्नुपर्ने देखिन्छ । जुम्लाबाट कर्णालीमा जिल्लाभरी लाइन विस्तार भएको र अलि समस्या हुँदा सम्बन्धीत जिल्लामै पुग्न अप्ठ्यारो हुने गरेको छ । तर, नागरिक सुनुवाइ कार्यत्रममा यस्तो गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले टेलिकममा कर्मचारी व्यवस्थापनका लागि पहल गरिने बताइन् ।
उनले कर्मचारी अभावका कारण नागरिक सञ्चारविहीन हुनुपर्ने बाध्यतालाई चाँडै हटाउने उनको भनाइ छ । जुम्लाबाटै तीन जिल्लामा लिंक पठाइएको छ । तर, सम्बन्धित जिल्लामा कर्मचारी कम्तीमा पनि दुईजना आवश्यक छ । निमित्त प्रमुख पदम महताराका अनुसार कर्मचारी व्यवस्थापन नभएसम्म कर्णालीमा नागरिकको अपेक्षाअनुसार टेलिकमले सेवा प्रभावकारी दिन नसकिने समेत उल्लेख गरे ।