कृञ्जला पुलामी
बिहिवार, भदौ ५, २०७६
307

सिन्धुलीको कमलामाई नगरपालिकाले ९ महिनामा ५ सय पशुलाई सुत्केरी भत्ता वितरण गरेको छ । नगरपालिकाले गत आर्थिक वर्ष ०७५÷७६ मा ५ सय गाई भैँसीलाई सुत्केरी भत्ता वितरण गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले २०७५ मंसिर १ गतेदेखि ब्याएका गाईभैँसीलाई सुत्केरी खाद्यान्न सहयोग स्वरुप नगद १ हजार रुपैयाँ भत्ता दिन सुरु गरिएको हो । नगरपालिकाको पशु विकास शाखाका चिकित्सक हरिहर लामिछानेका अनुसार गत आवमा शाखाको लक्ष्यअनुरूप नै भत्ता वितरण गरिएको छ । “हाम्रो टार्गेट नै ५ सय पशुलाई भत्ता दिने थियो,” उनले भने, “पशु सुत्केरी भत्ता कार्यक्रममा किसानहरूको आकर्षण बढिरहेको छ ।” नगरपालिकाले गत आवमा सुत्केरी भत्ताका लागि ५ लाख रुपैयाँ विनियोजन गरेको भन्दै उनले लक्ष्य अनुसार भत्ता वितरण गरिएको बताए ।

किसानहरूबाट सुत्केरी पशुको भत्ता दिन निवेदन सङ्कलन गरेर असार मसान्तसम्ममा ५ सय वटा सुत्केरी पशुलाई सुत्केरी भत्ता वितरण गरेको हो । कार्यालयमा संकलन भएका निवदेनका आधारमा एक हजारका दरले ५ लाख रुपैयाँ सुत्केरी भत्ता वितरण गरेको लामिछानेले बताए ।
किसानले पशुको सुत्केरी भत्ता लिन वडा कार्यालयको सिफारिस, पशुधनी र ब्याएको गाईभैँसीको बच्चासहित देखिने फोटो र नागरिकताको प्रतिलिपि सहितको निवेदन नगरपालिकामा दर्ता गर्नु पर्ने व्यवस्था गरिएको छ । संकलन भएको निवेदनका आधारमा प्रत्येक दुई–दुई महिनामा किसानहरूलाई कार्यालयमा बोलाई उक्त भत्ता उपलब्ध गराईएको हो । यसरी उपलब्ध भत्ताबाट सम्बन्धित किसानहरूले ब्याएको पशुलाई पौष्टिक आहार र खाद्यान्न किनेर खुवाउने गरेका छन् ।
नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले पशु सुत्केरी भत्ता कार्यक्रममा किसानको आकर्षण बढेकाले सो कार्यक्रमलाई चालु आवमा पनि निरञ्तरता दिएको बताए । उनले भने, “यस कार्यक्रममा किसानहरूको उत्साहजनक सहभागीता छ । गाँउ–गाँउमा नयाँ किसानहरू थपिएका छन् । यसले किसानहरूलाई व्यवसायीक बन्न प्रोत्साहन मिलेको छ ।”
व्यवसायीकरुपमा किसानहरूलाई पशु पालन गर्न प्रोत्साहन गर्दै नगरक्षेत्र भित्र सफा र स्वस्थ दुग्ध उत्पादन बढाउने उदेश्यले सुत्केरी भएका गाई भंैसीलाई खाद्यान्न सहयोगका लागि भत्ता वितरण गरिएको खत्रीले बताए ।
पशु पालनका लागि उपयुक्त क्षेत्रका रुपमा रहेको कमलामाई नगरपालिकामा व्यावसायिकरुपमा नै धेरै किसानहरूले पशुपालन गरेका छन् । नगरपालिकाका भद्रकाली, जलकन्या, रानीचुरी, रानीवास, डाँडीगुराँसेलगायतका क्षेत्रलाई नगरपालिकाले भैंसी पकेट क्षेत्र बनाउने तयारी गरेको छ । साथै नगरको ढकालगाउँ, गैयाटार, पाथिपरानलगायतका ठाउँ भने गाई पालनका लागि उपयुक्त क्षेत्र रहकाले किसानहरूलाई अनुदान र विभिन्न सहयोग गरिरहेको नगरापलिकाले जनाएको छ ।