कारोबार संवाददाता
सोमवार, भदौ २, २०७६
165

जुम्ला- भवन, बाटो घाटो, धारा निर्माणका लागि करोडौ बजेट दिँदा पनि नपुगेको भन्दै योजना अलपत्र परेको हामीले देखेकै छौँ । विकास निर्माणका क्षेत्रमा उपभोक्ता समितिको मनपरि चलेपछि पछिल्लो समय विकास निर्माणका योजनाहरुले गति नलिने र दिगो नहुने समस्या विकराल छ । आफ्नै गाउँ ठाउँमा हुने विकासका लागि श्रमदान गरांै, दिगो विकासमा ध्यान दियौं भन्ने सोच सीमित व्यक्तिमा मात्रै देखिन्छ । अझै त अधिंकाश विद्यालयका अभिभावकहरू विद्यालयको आर्थिक, भौतिक तथा शैक्षिक विषयमा बेखबर हुन्छन् भने आफ्ना बालबालिकाका लागि कुनै चासो नै दिँदैनन् ।
तर जुम्लामै पहिलो उदाहरणका रूपमा तातोपानी गाउँपालिका–२ वडा डाँगीबाडागाउँवासीले नमुना काम विद्यालयका लागि गरेका छन् । झण्डै ९० घरधुरी रहेको डाँगीबाडामा सुन्दरमणि आधारभूत विद्यालय छ । जहाँ १ सय ५० बढी विद्यार्थी छन् । गत वर्षसम्म विद्यालयमा भवनको निकै समस्या थियो । भवन निर्माणका लागि वडा हुँदै गाउँपालिका पनि नधाएका होइनन् ।

तर योजना दिएनन् । सुन्दरीमणि प्राविका प्रधानाध्यापक शेरबहादुुर बुढाले भने, “विद्यार्थीलाई खुला चौरमा बसाल्ने समस्या हटाउनुका लागि पनि भवन आवश्यक थियो । तर कतैबाट पनि सहयोग नजुटेपछि डाँगीबाडा र सुन्दरगाउँका स्थानीय विद्यालयका लागि ठूलो राहत दिने निर्णय गरेको प्रअ बुढाले उल्लेख गरे । जिल्लामै अभिभावक सक्रिय भएपछि असम्भव केही हुँदो रहेन छ भन्ने सन्देश दिनका लागि भए पनि श्रमदानबाटै विद्यालयलाई ४ कोठे भवन निर्माण गरेर दिएको शिक्षक बल रावलले बताए ।
उनले भने, “गाउँपालिको स्टिमेटअनुसार हेर्ने हो भने अनुमानित झण्डै २० देखि २५ लाखसम्मको भवन छ । तर वडादेखि गाउँपालिका गुहार्दा पनि सहयोग नजुटेपछि स्थानीयले ४ कोठे भवन निर्माण गरी विद्यालयलाई दिएको बताए । अग्रेंजी माध्यमबाट पढाइ गर्दा १ देखि ३ कक्षासम्मको भवन अभाव थियो । अभिभावकको सक्रियताबाट विद्यार्थी तथा विद्यालयले ठूलो राहत पाएको छ ।
झण्डै ८२ हजारमात्रै दैनिक काम गर्दा खाएको खाजा नास्ता बराबर लागेको विद्यालयले जनाएको छ । ढुंगा माटोबाटै लिपपोत गरेर ४ कोठे भवन निर्माण भएको छ । जुुम्लामै असल अभिभावकको जिम्मेवारी पूरा गर्दै विद्यालयलाई भौतिक रूपमा सम्पन्न बनाउने दानी अभिभावकहरूलाई विद्यालयले सम्मान गर्ने बताएको छ ।
स्थानीय सरकारले शिक्षामा लगानी बढाउने योजना राखे पनि शिक्षकलाई तालिमदेखि विद्यालयका आधारभूत आवश्यकता पूरा गर्ने सवालमा गम्भीर नदेखिएको स्थानीयको गुनासो छ ।