कारोबार संवाददाता
सोमवार, भदौ २, २०७६
356

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खयरमा चट्याङ लागेर भेडा मर्दा १० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । शुक्रबार राति ११ः३० बजे परेको चट्याङ लागेर खर्कमा बास बसेका ६१ वटा भेडा मरेका छन् । करीब १० लाख मूल्य बराबरको क्षति पुगेको कृषकसमेत रहनुभएका वडा सदस्य राजेश तिलिजा पुनले जानकारी दिए ।
सबैभन्दा धेरै तिलिजाका २६ वटा भेडा मरेका छन् । लालवीर तिलिजा, मिनबहादुर गुरुङ, टिकजित तिलिजा, यामबहादुर पाइजा, डिलप्रसाद शेरपुञ्जा र कमल तिलीजाका भेडा पनि मरेका छन् ।
एउटा भेडाको मूल्य १५ हजारदेखि २५ हजारसम्म छ । सबै कृषकका भेडालाई गोठालाले एउटै खर्कमा राखेका थिए । घार प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल गएको छ । पाउद्वार गाउँदेखि खयर पुग्न करीब १२ घण्टा उकालो हिँड्नुपर्छ । पीडित कृषकले क्षतिपूर्ति र घुम्ती गोठमा पालिने भेडाबाख्राको पनि बिमा सुविधा हुनुपर्ने माग गरेका छन् ।