गोपाल पोखरेल
सोमवार, भदौ २, २०७६
234

उदयपुर सदरमुकाम गाईघाट हुँदै बगेर जाने त्रियुगा नदी र चुरे क्षेत्रबाट बग्ने करिब एक दर्जन खहरे खोलाका कारण यस वर्ष पनि उदयपुरको सयौं बिघा खेतीयोग्य जमिन बगर बनेको छ ।
अघिल्ला वर्षजस्तै यस वर्ष पनि त्रियुगा नदीका साथै ठाँडी, सनुवा, कङ, मोथियाही, हडिया, बाउन्नालगायतका एक दर्जन खहरे खोलामा आएको बाढीले कृषकले गोड्ने तयारी गरिरहेको धान खेत बगर बनाएको हो । “बाढीले त्रियुगा नगरपालिकाको मिलनचोक, खैजनपुर र जोगीदहका साथै चौदण्डीगढी नगरपालिकाको हडिया र सुन्दरपुर गाउँको करिब ३ सय बिघामा लगाइएको धानसहित खेत पुरेको छ,” जोगीदहका जुरी चौधरीले भने, “गत सालजस्तै यस वर्ष पनि अघिल्लो दिन लहलह धान भएको खेत भोलिपल्ट बगर भएको हेर्नुप¥यो ।” उनका अनुसार कङ र त्रियुगा खोलामा आएको बाढीले जोगीदहको मात्रै २ सय बिघा बढीमा लगाइएको धान खेत पुरेको उनले जानकारी दिए ।

“चुरेबाट बग्ने खहरे र त्रियुगा नदीका कारण हरेक वर्षायाममा यस क्षेत्रको सयौं बिघा खेतीयोग्य जमिन बालुवाले पुरिँदा जग्गाधनीले हरेक वर्ष सुकुम्वासी बन्नु परेको छ,” चौदण्डीगढी ५ सिवाईका महमद मुस्लिम भन्छन्, “त्रियुगा नदीले सालन्य पुर्दै जाँदा सात बिघाभन्दा बढी खेत भएका परिवार सुकुम्वासी बनेर अहिले दाउरा बेचेर गुजारा गरिरहेका छन् ।” कमाई खाने खेत सबै बगर बनेपछि कतिपय स्थानीय बासिन्दा अन्यत्र विस्थापित समेत भएको उनको भनाइ छ ।
“दक्षिण पश्चिमतर्फ खिइँदै गएको चुरे पहाड र उत्तरपूर्वतर्फ महाभारत पहाडको बीचमा अवस्थित उपत्यका आकारको भू–बनोट रहेको त्रियुगा क्षेत्र नै उदयपुरको सबैभन्दा बढी अन्न उत्पादन हुने खेतीयोग्य जमिनको क्षेत्र मानिन्छ,” सुन्दरपुरका देवी बस्नेतले भने, “तर, त्रियुगा र चुरे क्षेत्रबाट बग्ने करिब एक दर्जन खहरेले ४० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिन कटान गरिसके ।” नदी कटान समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न नसक्ने हो भने अबका ५ वर्षभित्र त्रियुगा क्षेत्रको ९० प्रतिशत खेतीयोग्य जमिन बगर बनेर जाने उनले बताए ।
पूर्वपश्चिम भएर फैलिएको चुरे वन शृंखला उदयपुर, सिराहा र सप्तरीको सिमाना मानिन्छ । माथिल्लो क्षेत्रको उदयपुरतर्फ संरक्षणमा लागे पनि तल्लो क्षेत्रका सिराहा र सप्तरीबाट चुरे अतिक्रमण भइरहेकाले पनि चुरेबाट बग्ने खहरेले उदयपुरतर्फको खेतीयोग्य जमिन बगर बनाइरहेको सरोकारवाला बताउँछन् ।
मालपोत कार्यालय उदयपुरको तथ्यांकअनुसार विगत २६ वर्ष यता त्रियुगा नदी र चुरे क्षेत्रबाट बग्ने दर्जनौँ खहरेका कारण जिल्लाको ११ हजार बिघाभन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत भइसकेको छ । कृषि उत्पादन र जैविक विविधताका दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने त्रियुगा उपत्यकाभित्रको उर्वर भूमि संरक्षणका लागि सरकारी नीति निर्माता तथा योजनाविद्हरूको ध्यान केन्द्रित हुनुपर्ने सरोकारवाला बताउँछन् ।