मीनकुमार नवोदित
बुधवार, श्रावण २९, २०७६
375

विराटनगर-खानेपानी संस्थान विराटनगरले वितरण गर्ने खानेपानीमा आइरन फेला परेको छ ।
विराटनगरमा निर्माणाधीन सडक, ढल र नाकाका कारण पानीमा आइरन फेला परेको हो । संस्थानको लापरबाहीका कारण आफूहरूले आइरनयुक्त खानेपानी प्रयोग गर्न बाध्य भएको विराटनगर–११ का उपभोक्ता रामसुन्दर राजवंशीले बताए । संस्थानले वितरण गरेको पानी प्रयोग नै गर्न छाडेको उनको भनाइ छ । चार वर्षअघि दिसामा पाइने जिवाणु कोलीफर्म भेटिएको थियो । जसका कारण जण्डिस फैलिंदा एक दर्जनभन्दा बढीले ज्यान गुमाएका थिए ।

“खानेपानीको लापरबाहीका कारण विगतकै घटना दोहोरिने अवस्था देखिएको छ,” राजवंशीले भने, “जताततै पाइप फुटेका कारण ढल र नालाको पानी उपभोक्ताको धारामा पुग्ने गरेको छ ।” उनले महिनैपिच्छे बिल तिरे पनि संस्थानले वितरण गरेको पानी प्रयोग गर्न छाडेको बताए । पटक–पटक संस्थानको ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेको उनको भनाइ छ ।
विराटनगर–१२ की उपभोक्ता तारादेवी पौडेलले धारा खोल्दा बालुवा र लेदो आउने गरेको सुनाइन् । उनले धाराको पानीमा लेदो आउन थालेपछि कलको पानी प्रयोग गर्न थालेको बताइन् । “धाराको पानी खान त परै जाओस् लुगा धुने अवस्था पनि छैन,” पौडेलले भनिन्, “फोन गरेर संस्थानको ध्यानाकर्षण गराउँदा पनि सुधार भएको छैन ।” विराटनगरका अधिकांश वडामा खानेपानीको समस्या भएको छ । अधिकांश वडामा पानी नआउने, आए पनि धमिलो र खान अयोग्य पानी आएको नगरवासीको गुनासो छ ।
विकास निर्माणका कामहरू भइरहेकाले विभिन्न ठाउँमा खानेपानीका पाइपहरू फुटेकाले धाराको पानीमा लेदो र बालुवा गइरहेको कार्यालयका प्रमुख शैलेन्द्रकुमार साहले स्वीकारे । “केही स्थानमा आइरन पनि देखिएको छ,” साहले भने, “केही समयभित्रै सबै समस्या समाधान हुन्छ ।” खानेपानी समस्याको दिगो समाधानका लागि जाइकासँग कुराकानी भइरहेको बताउँदै साहले महानगरपालिका र खानेपानी संस्थानले संयुक्त रूपमा दसैंअगाडि डीपीआर तयार गरेर खानेपानीको व्यवस्थापन गर्ने गरी काम भइरहेको बताए । हाल संस्थानले साढे ११ हजार घरधुरीमा दैनिक ९० देखि १ करोड लाख लिटर खानेपानी उपलब्ध गराउँदै आएको छ ।
यसैबीच, नगरवासीको गुनासो बढेपछि नेपाली कांग्रेस मोरङले संस्थानका प्रमुखलाई ध्यानाकर्षणपत्र बुझाएको छ । तत्काल खानेपानीको समस्या समाधान नगरे कांग्रेसले कडा आन्दोलन गर्ने सभापति डिकबहादुर लिम्बूले बताए । जतिसक्दो खानयोग्य पानी वितरण गर्न र पानी नै नआएका धाराको शुल्क नलिन कांग्रेसले आग्रह गरेको छ । मानिसको जीवनसँग जोडिएको खानेपानी वितरणमा संवेदनशीन हुन मागसमेत गरेको छ ।