अमरराज आचार्य
मंगलबार, श्रावण २८, २०७६
440

दाङ-जमिन बाँझै राख्दा अतिक्रिमण हुने जोखिम बढदै गएपछि स्वर्गद्वारी आश्रमले लिजमा दिने गरेको छ ।
जमिन अतिक्रमणसँगै किसानबाट कुत उठ्न छोडेपछि स्वर्गद्वारी आश्रमले जग्गा लिजमा दिन सुरु गरेको हो । जग्गा लिजमा दिँदा नियमित आम्दानी आउने र जमिनसमेत सुरक्षित हुने भएपछि आश्रमले करिब ३० बिघा जमिन व्यावसायिक प्रयोजनका लागि लिजमा दिएको छ । दाङमा करिब साढे सात बिघा जमिन र देउखुरी क्षेत्रमा २० देखि २२ बिघासम्म जमिन व्यावसायिक प्रयोजनका लागि लिजमा दिएको स्वर्गद्वारी आश्रमका प्रशासनिक प्रमुख हरि अधिकारीले बताए ।

“जमिन लिजमा लगाउँदा आश्रमलाई नियमित आम्दानी हुने र जग्गा पनि संरक्षण हुने देखिएपछि लिजमा दिन थालेका छौँ,” प्रशासनिक प्रमुख अधिकारीले भने, “हाल देउखुरी र दाङ उपत्यकामा गरी करिब ३० बिघा जमिन लिजमा लगाएका छौं ।” प्रशासनिक प्रमुख अधिकारीका अनुसार हाल आश्रमले घोराहीको कपासीमा रहेको जग्गा अटोभिलेज सञ्चालनका लागि ६ बिघा, त्यस्तै झिगौरामा रहेको एक बिघा जग्गा अटो शोरुम राख्नका लागि व्यावसायिक प्रयोजनका लागि भाडामा दिएको छ । झिगौरामा रहेको जग्गाबाट आश्रमले मासिक प्रतिकठ्ठा ३५ सय र अटोभिलेजमा बसेका व्यवसायीबाट उठ्ने रकमको ४३ प्रतिशत रकम आश्रमलाई प्राप्त हुने गरेको प्रशासनिक प्रमुख अधिकारीले बताए । बाँकी रकम अटो व्यवस्थापनको कार्यमा खर्च हुनेसमेत अधिकारीले जानकारी दिए ।
त्यस्तै देउखुरीको चैलाही मौजामा रहेको करिब २२ बिघा जमिन इँटा उद्योग सञ्चालनका लागि भाडामा दिएको र त्यसबाट वार्षिक ३० लाख रुपैयाँ आम्दानी हुने आश्रमले जनाएको छ । यसले आश्रम सञ्चालनका लागि नियमित आम्दानी आउने र जग्गासमेत संरक्षण हुने आश्रमको विश्वास रहेको अधिकारी बताउँछन् । स्वर्गद्वारी आश्रमको हाल दाङ, रोल्पा र प्युठानमा गरी नौ सय ९८ बिघा जमिन रहेको तथ्यांक छ । एक हजार १२ बिघा जमिन रहे पनि विभिन्न स्थानको जग्गामा सडक निर्माण गर्दा घटेर हाल नौ सय ९८ बिघामा रहेको आश्रमको तथ्यांकमा उल्लेख छ ।
जसमा दुई सय ८९ जना मोही किसान रहेको स्वर्गद्वारी आश्रमका प्रशासनिक प्रमुख अधिकारीले बताए । “स्वर्गद्वारीको जग्गामा मोही किसान भएका दुई सय ८९ जनामात्र छन्,” प्रशासनिक प्रमुख अधिकारीले भने, “तर अहिले आश्रमको जग्गामा २ हजारभन्दा बढी घर बनेका छन् । जुन किसानलाई आश्रमले चिन्दैन ।” तर आश्रमको जग्गामा जबरजस्ती बसेको अधिकारीले बताए । ती किसानबाट १५ हजार क्विन्टल धान उठ्न बाँकी रहेको आश्रमले जनाएको छ । लालपुर्जामा सीमित जग्गाको आयस्ता नपाउँदा आश्रम मन्दिरमा चढेको पैसाले चल्दै आएको छ ।