गोविन्द खत्री
मंगलबार, श्रावण २८, २०७६
362

सुर्खेत-वीरेन्द्रनगर नगरपालिकामा लामो समयदेखि बस्दै आएका वीरेन्द्रनगरवासीलाई नयाँ लालपुर्जा वितरण गर्ने भएको छ ।
नगरपालिकाले सहरी नापी अर्थात् पुनः नापी गरी पुराना जग्गाधनीलाई नयाँ पुर्जा वितरण गर्ने भएको हो । नगरपालिकाले यसको थालनीसमेत गरिसकेको छ । यसअघिको लालपुर्जामा सडकको लगत कट्टा नगरिएकाले पुनः नापीपछि सडकको लगत कट्टा गरी नयाँ पुर्जा वितरण गरिएको छ । नगरपालिकाको गुरुयोजना अनुसार जग्गा धनीले अब आफ्नो जग्गामा परेको सडकको लगत कट्टा गरी लालपुर्जा पाउने छन् । वीरेन्द्रनगरमा अधिकांश पुराना सडकको लगत कट्टा नगरिएको हुँदा नयाँ पुर्जा पाउनेमा साविकको वीरेन्द्रनगरमा बस्दै आएका पुराना जग्गाधनी बढी हुनेछन् । गत वर्षबाट नापी सुरु गरिएकोमा कतिपय वडामा नयाँ लालपुर्जा वितरण कार्य पनि सुरु भइसकेको छ । नगरपालिकाको सहयोगमा नापी कार्यालय सुर्खेतले २०७५ कात्तिक ७ गते सूचना प्रकाशन गरी नयाँ पुर्जा वितरणको काम थालेको थियो । जसअन्तर्गत साविकको वडा नम्बर ९ मा रहेका जग्गाधनीलाई नयाँ प्रमाणपुर्जा वितरण गरिसकिएको छ भने साविकको वडा नम्बर ७ मा यही साउन २५ गते पुर्जा वितरण कार्य सुरु गरिएको छ ।

नापी कार्यालय सुर्खेतका नापी टोली प्रमुख मिनलाल आचार्यका अनुसार वडा नम्बर ९ र ७ मा ३ सय २७ प्रमाण पुर्जा बनाइएको छ । ती मध्य हालसम्म २ सय ९१ जग्गाधनीले पुर्जा लगिसकेका टोली प्रमुख आचार्यले बताए । बाँकी पुर्जा बनाउने काम भइरहेको उनले बताए । उनका अनुसार वडा नम्बर ८ मा जग्गा दर्ता गर्ने कार्य भइरहेको छ भने वडा नम्बर १० का लागि सात दिने सूचना प्रकाशित गर्ने तयारी छ । यस्तै वडा नम्बर ५ मा बाँकी रहेका सिटहरू नापनक्सा गर्ने काम अघि बढाइएको छ । उनले वीरेन्द्रनगरका सम्पूर्ण वडामा नापनक्सा गर्ने योजना रहेको बताए । वीरेन्द्रनगरका उपत्यकाभित्रका वडामा नयाँ नापी नक्सा तयार गरिने र उपत्यका बाहिर पनि आवश्यकताका आधारमा गरिने बताए ।
उपत्यकामा वीरेन्द्रनगरका १ देखि १२ वडा पर्दछन् भने १३ देखि १६ नम्बर वडा उपत्यकाबाहिर पर्दछन् । टोली प्रमुख आचार्यले दर्ता तथा प्रमाणपुर्जा वितरण कार्यमा जग्गा धनीको उपस्थिति भने उत्साहजनक नभएको बताएका छन् । टोलीले नापी गरेर सबै काम सके पनि जग्गा धनीको कारणले वितरणमा केही ढिलाइ भइरहेको उनको भनाइ छ । जग्गाधनीहरू समयमै पुर्जा लिन नआएको उनले बताए ।
सडकको लगत कट्टा नहुँदा जग्गाधनीले बाटोको समेत तिरो तिर्नुपर्ने बाध्यता थियो । नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले बाटोको गुरु योजनाअनुसार सहरी नापीले विभिन्न क्षेत्रमा रहेका बाटोको लगतकट्टा गर्ने भएकाले अनावश्यक तिर्दै आएको कर अब जग्गाधनीले तिर्नु नपर्ने बताए । नापी कार्यमा सहभागी भई सहयोग गर्नका लागि समेत उनले आग्रह गरेका छन् ।
वीरेन्द्रनगर नगरपालिकाले चालू आव ०७६÷७७ मा सहरी नापी कार्यक्रम शीर्षकमा ४० लाख रकम विनियोजन गरेको छ । यसअन्तर्गत साविकको नगरपालिकाका सबै वडामा नापी तथा पुर्जा वितरण गरी सक्ने लक्ष्य नगरपालिकाको छ । यस्तै नापी टोलीले केन्द्र सरकारको सहयोगमा सुर्खेत जिल्लाका अन्य विभिन्न स्थानीय तहमा २०२९ सालमा छुट भएका गाउँ ब्लकहरूको पनि नापी गर्ने काम सुरु गरेको छ । जसअन्तर्गत पञ्चपुरी नगरपालिकाको साविकको सालकोट र छापे्र गाविस, बराहताल गाउँपालिकाको साविकको लेखगाउँ र तेलपानीमा जग्गा नाप जाँच गरी प्रमाणपुर्जा वितरण गर्ने कार्य भइरहेको टोली प्रमुख आचार्यले जानकारी दिए । चौकुने गाउँपालिकामा साविकको रेक्चा र बासपानी, सिम्ताको बजेडिचौर, गुर्भाकोटको घुमखहरे, गुमी, मालारानी, वीरेन्द्रनगर नगरपालिकाको रतु, लेकबेंसीको डाँडागाउँ, साटाखानी, च्यारकुले र भेरीगंगाको रामघाट गाविसमा जग्गा नापजाँच गरी प्रमार्णपुर्जा वितरण गरिने जनाइएको छ ।
२०२९ सालमै गुरुयोजना तयार गरी बसाइएको वीरेन्द्रनगर बजारमा पछि विस्तार भएका सडकको लगतकट्टा हुन सकेको थिएन । तत्कालीन राजा वीरेन्द्र शाह सुर्खेतको वीरेन्द्रनगर सवार भएसँगै व्यवस्थित सहरीकरणको योजना २०२९ सालमा अघि सारिएको थियो । उनको निर्देशनमा माधवभक्त माथेमाको नेतृत्वमा २०२९ माघ २९ मा भौतिक योजनाको टोली गठन गरी चरणबद्ध रूपमा वीरेन्द्रनगरका तत्कालीन १२ वटा वडाको गुरुयोजना बनाइएको थियो । सोही योजनाअनुसार व्यवस्थित सहरीकरण गर्न सरकारले दुई सय ३२ बिघा जग्गा अधिग्रहण गरेर आवास क्षेत्र, पार्क, स्कुललगायतको क्षेत्रका लागि छुट्टाएको थियो । अहिले वीरेन्द्रनगर नगरपालिकाले विस्तारित नगरपालिकाको नयाँ गुरुयोजनासमेत बनाइरहेको छ ।