लक्ष्मीप्रसाद सापकोटा
सोमवार, श्रावण २७, २०७६
805

पर्वत-“साउन महिना सकिनै लाग्यो खेत बाँझै छ, हिउँदमा लगाएको अन्नबाली असिनाले खायो,” पर्वतको फलेवास नगरपालिका–३ का नारायण भुसालले भने, ‘‘हिउँद र वर्षामा नै खेती थन्काउन नपाएपछि गाँउभर भोकमरीको चिन्ता छ ।” फलेबासका कृषक भुसाल मात्रै होइन, हिउँदमा खेतबारीमा लगाएको मकै असिनाले सोत्तर बनाउँदा उत्पादन शून्य भए पनि बर्षामा धान रोपेर वर्षदिनका लागि अन्नको जोहो गर्ने सपना देखेका पर्वतका धेरै कृषक अहिले टाउकोमा हात लगाएर बस्न बाध्य छन् ।
पर्वतको कुस्मा र फलेबास नगरपालिका तथा मोदी गाउँपालिकाका धेरै क्षेत्रमा गएको जेठमा परेको असिनाले मकै र कोदोको बीउ नै नष्ट गरेको थियो । यी ठाउँमा असिनाका कारण मकै उत्पादन कुनै ठाउँमा शतप्रतिशत नै घटेको छ भने धेरै ठाउँमा ५० प्रतिशत पनि भएको छैन । “पसाउने बेलाका मकै असिनाले टुक्राटुक्रा बनाइदियो,” कृषक रामबहादुर परियारले भने, “असिनाले मकै सखाप बनाएपछि न त मान्छेले खाने मकै भयो न त पशुपंछीलाई खुवाउन नै एक गेडो नै छ ।”

तर, असारमा राम्रोसँग वर्षा भइदिए धान उत्पादन राम्रो होला र मकैको घाटा उठाउँला भन्ने आशमा थिए कृषक । असार र साउनमा मूल फुट्ने गरी वर्षा नहुँदा आकासेपानीको भरमा रहेका कृषकले धान रोप्नै पाएका छैनन् । खेतमा बीउको उमेर बढी भएकाले ढल्ने अवस्थामा छ भने रोपेको खेतमा पानी नहुँदा धाँजा फाटेको छ । असार र साउनमा पर्याप्त वर्षा नभएका कारण जिल्लाको १५ प्रतिशतभन्दा बढी धानखेतमा रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ । सधैंका वर्षजस्तो भए यतिबेला रोपाइँ सकिने बेला भएको छ । तर, यस वर्ष अधिकांश ठाउँमा रोपाइँ हुन सकेको छैन । रोपाइँका लागि आवश्यक पानी नभएकाले खेत ढिलो रोपिएको र केही खेत बाँझोसमेत रहन सक्ने कृषि ज्ञान केन्द्र कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मी बताउँछन् । जलजलामै राम्रो धान फल्ने क्षेत्रको अवलोकन गरेर फर्किएका रेग्मी बुढो बीउ रोप्ने र रोपाइँ ढिला हुँदा उत्पादन पनि धेरै घट्ने सम्भावना रहेको बताउँछन् ।
सिँचाइ सुविधा नभएकाले मुसाले धानको बीउसमेत काट्न थालिसकेको किसानहरूले बताएका छन् । अघिल्ला वर्षहरूमा धान पसाएपछि मात्र खेतमा मुसा लाग्ने गरे पनि यस वर्ष बीउ नै काट्न सुरु गरिसकेको छ । पर्वतमा करिब ९ हजार हेक्टर जमिन धानखेतीका लागि योग्य छ । तर पछिल्ला वर्षमा धानखेती गर्ने क्रम घट्दो छ । आवश्यकताअनुसारको पानी नहुनु, उत्पादनयोग्य भूमिलाई घडेरी बनाउनु, सडक विस्तारका क्रममा खेत नष्ट हुनु, बसाइँसराईपछि गाउँको खेतबारी बाँझै छोड्नुलगायतका कारणले ८ हजार ७ सय हेक्टर क्षेत्रफलमा मात्र मात्र धान लगाउने गरिएको तथ्यांक छ । पर्वतमा प्रतिहेक्टर जमिनमा २.८ मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।


सातामा धेरै पढिएको