कारोबार संवाददाता
सोमवार, श्रावण २७, २०७६
384

बाँके- नेपालगन्जलाई सौन्दर्यकरण र हरित नगरीको रूपमा विकास गर्न थालिएको छ । सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई नेपालगन्जको आयोजनामा हरित सहरको रूपमा विकास गर्न बृहत् वृक्षरोपण सुरु भएको छ ।
सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राइले आइतबार नेपालगन्जको जमुनाबाट वृक्षरोपण सुरु गरे । सातवटा प्रदेशका सातै सहरमा बिरुवा रोप्ने मन्त्रालयको कार्यक्रमअन्तर्गत नेपालगन्जमा मात्रै १० हजार बिरुपा रोपिने उनको भनाइ छ । सरकारले नै देशभर वृक्षरोपण गर्ने अभियान चलाइरहेका बेला सहरी विकास मन्त्रालयले भने प्रदेशका प्रमुख सहरहरूमा त्यहाँको सौन्दर्यकरण र हरियालीका लागि वृक्षरोपण सुरु गरेको हो । सौन्दर्य झल्काउने यी बिरुवा भारतको कोलकोत्ताबाट ल्याइएको पनि मन्त्री राइले बताए ।

वृक्षरोपण कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवल शम्शेर राणा, बाँके प्रहरी प्रमुख वीरबहादुर ओलीलगायतले पनि वृक्षरोपण गरेका थिए । सहरी विकासमन्त्री राइले दुई तीन महिनाभित्र नगरमा १० हजार बिरुवा रोपिने बताए । सुर्खेत रोडको जमुनाहादेखि राँझा चोकसम्म र नगरका सार्वजनिक स्थलमा पनि बिरुवा रोप्ने लक्ष्य छ । सडक क्षेत्रको खाली ठाउँ, सार्वजनिक स्थल, सरकारी कार्यालय, विद्यालयलगायतका क्षेत्रमा सो प्लान्ट लगाइने बताइएको छ ।
सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले नेपालगन्जमा ‘१० हजार बिरुवा लगाउने’ पूर्वघोषणा कार्यान्वयनमा ल्याएका छन् । आइतबार बिहान जमुनाहस्थित सडकको ग्रिनबेल्टमा बिरुवा लगाउँदै मन्त्री राईले १० हजार बिरुवा रोप्ने अभियानको उद्घाटन गरे । उनले गत जेठमा गृहनगर आएका बेला हरित सहरका लागि रुख रोप्ने घोषणा गरेका थिए ।