सागर परियार
आइतवार, श्रावण २६, २०७६
276

जुम्लाको सिंजा क्षेत्रमा पर्ने तीन गाउँपालिकालाई अग्र्यानिक बनाउने अभियान सुरु भएको छ । हिमा गाउँपालिका, सिंजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाका ६ वटा गाउँलाई अग्र्यानिक बनाउने अभियान थालिएको हो । सिंजा क्षेत्रलाई अग्र्यानिक बाली पकेट क्षेत्रको रूपमा पहिलो चरणको अभियान थालिएको कृषि ज्ञान केन्द्र जुम्लाले जनाएको छ ।
कृषि ज्ञान केन्द्र जुम्लाका प्रमुख डा. तपेन्द्रबहादुर शाहका अनुसार कनकासुन्दरी गाउँपालिकाको लुडकु गाउँ, हिमा गाउँपालिकाको महावैपाथरखोला, ओदी र दधेवार गाउँ र सिंजा गाउँपालिकाको चुलेगाउँ र गोरागाउँलाई अग्र्यानिक गाउँ बनाउने घोषणा गरिएको हो । “जिल्ला नै अग्र्यानिक जिल्ला घोषणा भइसकेको छ,” उनले भने, “अग्र्यानिक वस्तु उत्पादनलाई वृद्धि गर्न अभियान थालिएको हो ।” ती गाउँमा पशुपालन, बाली संरक्षण र जैविक उत्पादनलाई प्राथमिकतामा राखेर अभियान सफल बनाउन स्थानीयलाई परिचालन गरिने भएको छ । प्राङ्गारिक नमुना गाउँ सञ्चालक समिति–५ गोराका युवा रामसिंह रावलले धान, सिमी, स्याउ, कागुनोको संरक्षण गर्न सक्रियताका साथ काम गर्ने बताए । ‘रासायनिक खेती जीवनको क्षति, प्राङ्गारिक गाउँ अग्र्यानिक गाउँ’ नारा तय गरिएको छ । यस्तो अभियानले युवालाई कृषि क्षेत्रमा लाग्ने प्रेरणा मिलेको उनको छ ।

उनका अनुसार जुम्लामा उत्पादन हुने अग्र्यानिक वस्तुको उचित बजारीकरण र आर्थिक लाभ गरी स्वरोगार बन्न सकिने बताइएको छ । यस्तै, कृषि ज्ञान केन्द्र जुम्लाले विषादी मुक्त जिल्ला बनाउने उद्देश्यसहित ब्यूटाकोलर प्रयोगमा रोक लगाएको छ । ब्यूटाकोलरको अध्यधिक प्रयोग बढ्न थालेपछि केही स्थानीयले प्रयोग गरेको पाइएमा सेवासुविधा रोक्का गर्नेसमेत बताउँदै आएका छन् ।
जुम्लामा उत्पादन हुने अग्र्यानिक वस्तुको जिल्लादेखि केन्द्रस्तरमा अध्यधिक माग रहेकाले यस्ता कार्यमा कडाई गरिएको कृषि ज्ञान केन्द्र जुम्लाका प्रमुख डाक्टर तपेन्द्रबहादुर शाहले बताए । कृषि ज्ञान केन्द्र पनि कडाईका साथ अघि बढेको उनले जानकारी दिए ।

उत्कृष्ट किसान सम्मानित
जुम्लाका आठ स्थानीय तहका चार कृषक समूह सहकारीलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार वितरण गरिएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि विकास मन्त्रालय कृषि ज्ञान केन्द्र जुम्ला कार्यालयबाट २५ हजार राशीको पुरस्कार वितरण गरिएको हो ।
पुरष्कृत हुनेमा सहकर्मी मौरीपालन सहकारी संस्था तातोपानी–४, उपहार कृषि साना सिँचाइ कृषि समूह गुठिचौर गापा–२, लोकमणी बहुपन्छीपालन टर्की फर्मका सञ्चालक रिता बुढ्थापा र कृषक हरिशरण शर्मालाई २५ हजार रूपैयाँ राशीले पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र कार्यालय जुम्लाका सूचना अधिकारी बलराम देवकोटाले बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले स्याउदेखि अन्य तरकारी उत्पादन गरेर आत्मनिर्भर बन्न सकिने बताइन् । गुठीचौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले कृषकलाई चाहिने प्रविधि र ज्ञान दिन आफूहरू प्रयासरत रहेको बताए