कारोबार संवाददाता
आइतवार, श्रावण २६, २०७६
335

म्याग्दी-जिल्लास्थित सरकारी कार्यालय तथा स्थानीय तहमा राखिएको विद्युतीय हाजिर प्रभावकारी भएको छैन । निगरानीको अभावमा सरकारी कार्यालयका ६ वटा पालिकामा राज्यको सेवाप्रवाहलाई जनतामाझ प्रभावकारी बनाउन कर्मचारीलाई विद्युतीय हाजिर राखिए पनि प्रभावकारी कार्यान्वयन छैन ।
संघ, प्रदेश र स्थानीय तहले कार्यालयमा समयमै कर्मचारी आउने ब्यवस्थाका लागि लाखौ रुपैयाँ खर्च गरेर विद्युतीय हाजिर राखेका छन् । कर्मचारी कार्यालयमा १० बजे आउने हाजिर गर्ने कार्यालयको काम बेवास्ता गर्दै आफ्नो काममा बाहिर निस्कने र ४ बजे आउने हाजिर गर्ने चलन बढेको छ ।

सांसद, गाउँपालिका अध्यक्ष तथा विभिन्न कार्यालयका प्रमुख उपस्थित भएको कार्यक्रममा सरुवा भएर गएका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जिल्लामा विद्युतीय हाजिर राखिएको कार्यालयमा हाजिर गर्ने जनताको काम छोडेर कर्मचारी आफ्नो काममा निस्कने चलन बढेको बताए । उनले भने विद्युतीय हाजिर नभएको कार्यालयमा पनि समस्या उस्तै रहेको जानकारी दिए ।
राज्यको सेवालाई जनतामाझ प्रभावकारी बनाउन सरकारले खर्च गरेर विभिन्न क्षेत्रमा राखिएको हाजिरको प्रयोगमात्र भएको छ कि सेवाप्रवाह पनि प्रभावकारी भएको छ वा छैन निगरानी बढाउन जनप्रतिनिधि तथा कार्यालयका प्रमुखलाई प्रजिअ अधिकारीले आग्रह गरेका थिए । हाजिरमात्र होइन सेवाप्रवाह र योजना कार्यान्वयनमा कर्मचारीको गतिविधिको अभिलेख हेर्न आग्रह गरेका थिए ।
स्थानीय तहले पालिकाभित्र भएका विभिन्न विषयगत शाखा कार्यालय, वडा कार्यालय र विद्यालयमा लाखौं रुपैयाँ खर्च गरेर विद्युतीय हाजिर राखेको छ । तर धेरै ठाउँमा प्रयोगविहीन भएको छ भने जनप्रतिनिधिहरू प्रयोग भएको छ वा छैन बेखबर भएका छन् ।
कर्मचारीलाई कार्यालयमा समयमै आउने हाजिर गर्ने र कार्यालयको सेवाप्रवाहलाई ढिलासुस्ती हटाउन संघ, प्रदेश र स्थानीय तहले विद्युतीय हाजिर राखेको छ । तर कार्यालय पुग्दा कार्यालय प्रमुखसहित अन्य सहयोगी कर्मचारीसमेत कार्यालयमा भेटिँदैनन् । राज्यको सेवासुविधा लिएर संघीयता कार्यान्वयन, सुशासनको विकास, सेवाप्रवाहलाई छिटोछरितो बनाउने कर्मचारी कार्यालयको काम छोडेर ब्यक्तिगत ब्यवसायमा बढी हिँड्ने चलन बढेको छ । सिँहदरबारको अधिकार गाउँगाउँमा भन्ने मूल नारा जनताले कसरी अनुभूति गर्ने ।
हिउदँभरि कार्यालयले सञ्चालन गरेको योजना कार्यान्वयनतर्फ ध्यान नदिने आर्थिक वर्षको अन्त्य असार लाग्यो भने योजना कार्यान्वयनको लागि तथा बिल मिलान गरी भुक्तानी दिनका लागि समय सीमाभन्दा पनि रातभरि काम गर्ने चलन कर्मचारीकोे छ ।
सदरमुकामस्थित रहेका जिसस, बेनी नगरपालिका, प्रशासन, अदालत, हुलाक, बेनी अस्पताल पूर्वाधार विकास कार्यालयमा विद्युतीय हाजिर जोडिए पनि अधिकांश कर्मचारी समय कार्यालयमा भेटिँदैन्न । निगरानी तथा अनुगमन गर्ने जनप्रतिनिधि तथा कार्यालय प्रमुख विभिन्न कार्यक्रममा ब्यस्त हुन्छन् । कार्यालयमा नआउने कर्मचारीलाई उजुरी परे पनि कारबाही नगरी राजनीतिक संरक्षण गर्ने प्रवृत्ति बढेको छ ।

धिरन खत्री