गोविन्द खत्री
आइतवार, श्रावण २६, २०७६
354

सुर्खेत-वीरेन्द्रनगरमा लामो समयदेखि समस्या बन्दै आएका छाडा पशु व्यवस्थापनका लागि गौशाला निर्माण गर्न थालिएको छ । छाडा पशुचौपायाको व्यवस्थापनसँगै जैविकमल, जैविक विषादी र वायोग्यास उत्पादन गर्ने उद्देश्ययले बहुआयमिक गौशाला निर्माण गर्न लागिएको हो ।
वैकल्पिक ऊर्जा पवद्र्धन केन्द्रको ४० प्रतिशत र प्रदेश सरकारको ६० प्रतिशत अनुदानमा निर्माण गर्न लागिएको गौशालाको लागत करिब सवा करोड छ । गौशलाको निर्माणको जिम्मा भने के.पी व्यावसायिक सेवा केन्द्रले लिएको छ । वीरेन्द्रनगरको सुब्बाकुनामा झन्डै २ बिघा जग्गा २० वर्षका लागि भाडामा लिएर गौशाला निर्माण गरिएको केन्द्रका प्रबन्ध निर्देशक ढकालले बताए । उनका अनुसार वैकल्पिक ऊर्जाको ६० प्रतिशत लगानीमै वार्षिक साढे दुई लाख रुपैयाँ भाडा दिने गरी उक्त गौशाला निर्माण गर्न लागिएको छ । प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ४० प्रतिशत सहयोग गर्ने उनले बताए । “एकातिर छाडा पशुचौपायाले सडक दुर्घटना निम्त्याएकाले यसको व्यवस्थापन गर्न जरुरी देखिन्छ,” उनले भने, ‘अर्कोतिर व्यवस्थापन गर्दा उत्पादन हुने मल, मूत्रले कृषकलाई फाइदा पुग्छ ।”

प्रदेशकै नमुना उद्योगका रूपमा हेरिएको गौशाला निर्माणको काम सुरु भइसकेको छ । “कुनै पनि कच्चापदार्थ बाहिरबाट ल्याउनु नपर्ने, उत्पादन गरिएको वस्तु स्थानीय बजारमै खपत हुन्छ,” उनले भने, “यसले प्रदेश सरकारको अर्गानिक प्रदेश बनाउने लक्ष्यअनुरुप जैविक मल र जैविक विषादीको पनि उत्पादन हुन्छ ।” गौशालामा पशुको रेखदेख गर्नका लागि दुईजनाले रोजगारी पाउनेछन् । गौशालामा एकजना व्यवस्थापक र एक जना कामदार राखिएको छ ।
नगरकै समस्याका रूपमा रहेको छाडा पशु चौपाया व्यवस्थापनका लागि नगरपालिकाले दीर्घकालीन समाधान खोजेको उपप्रमुख मोहनमाया ढकालले बताइन् । व्यवस्थापन गरिए पनि यो समस्या पटकपटक देखिन थालेकोले दीर्घकालीन समाधानका रूपमा गौशालालाई लिइएको उनले बताइन् ।
कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा छाडा चौपायाका कारण सवारी चालक र पैदलयात्रीले समस्या झेल्दै आएका छन् । छाडा चौपायाका कारण दुर्घटनाको जोखिम रहेको स्थानीय विन्दुलाल रेग्मीले बताए । “बाहिर विकसित ठाउँमा छाडा पशुले सडकमा भएको समाचार टिभीमा हेर्दा हाम्रो जस्तो समस्या आउँदैन होला भन्ने लाग्थ्यो,” रेग्मीले भने, “तर हेर्दाहेर्दै हामीकहाँ समस्या देखिसक्यो ।” छाडा पशु व्यवस्थापन नगरे जोखिम बढ्दै जाने भन्दै नगरपालिकाले दीर्घकालीन समाधान खोज्नुपर्ने उनले बताए । गाईले दूध दिने बेलासम्मगोठमा बाँध्ने र दूध दिन छोड्ने बित्तिकै छाडा छोड्ने प्रवृत्तिले छाडा चौपायाको संख्यामा वृद्धि भएको उनको भनाइ छ । सुर्खेत छिञ्चु सडक खण्ड र सुर्खेत बड्डीचौर सडक खण्डमा छाडा पशुचौपायाको समस्या बढी छ ।

 


सातामा धेरै पढिएको