कारोबार संवाददाता
आइतवार, श्रावण २६, २०७६
382

पोखरा- कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढामगरले चाडपर्व मनाउने नाममा अनावश्यक रूपमा भोजभतेर गर्नु भ्रष्टचारलाई प्रश्रय दिनु बताएका छन् । शुक्रबार पोखरा शान्ति नगरमा भ्रष्टचारविरुद्धको नागरिक निगरानी संस्थाको सचिवालय उद्घाटन समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी बुढामगरले विभिन्न चाडपर्व, जन्मदिन, वार्षिकोत्सवको अवसरमा अनावश्यक भोजभतेर गर्नुले भ्रष्टचारलाई प्रश्रय हुने दाबी गरेका हुन् ।
नागरिक स्तरबाटै भ्रष्टाचार नियन्त्रण गर्न निगरानी गर्नुपर्ने बताउँदै उनले नियम कानुनमा रहेर कुनै पनि चाडपर्वको मर्म र धर्मअनुसार मनाउन सुझाव दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रमुख काशिराज दाहालले कास्कीमा भ्रष्टाचारका बढी उजुरी परेको भरमै बढी भ्रष्टाचार भएको भन्न नमिल्ने बताए । उनले भने, “मनाङमा एउटा मात्र उजुरी परेको छ के मनाङमा भ्रष्टाचार भएको छैन, नागरिकको पहुँच कसरी भएको छ भन्ने कुरा यसमा जोडिएको हुन्छ, भ्रष्टाचार न्यूनीकरण गर्न सबैको साथ र सहयोग आवश्यक पर्छ ।”
कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले भ्रष्टाचारमा लिनेसँगै दिने पनि दोषी हुने दाबी गरे । कुनै सार्वजनिक निकायमा कुनै व्यक्तिको काम कारबाही ढिलासुस्ती भएमा हामी आफैले मेरो काम किन ढिला भनेर प्रश्न गर्नुपर्ने नकि झुण्डझुण्ड भएर जान नहुने उनको तर्क थियो । संस्थाका संस्थापक एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले देशका धेरै क्षेत्रमा अनियमितता र भ्रष्टाचार भएको दाबी गरे । नागरिक समाज, सुरक्षाकर्मीले देशका धेरै ठाउँमा हुने गरेका अनियमितता र भ्रष्टाचारलाई खोजीखोजी केलाउनु पर्ने उनले बताए । हाल तीन तहको सरकारमा झन छताछुल्ल भ्रष्टाचार भएको उनको दाबी छ ।