कारोबार संवाददाता
शुक्रवार, श्रावण २४, २०७६
494

दाङ- तुलसीपुर विद्युत् प्राधिकरणले तुलसीपुर उपमहानगरपालिका–११ का विपन्न परिवारलाई निःशुल्क रूपमा विद्युत्को मिटरबक्स वितरण गरेको छ ।
प्राधिकरणले एक कार्यक्रमको आयोजना गरी निःशुल्क मिटरबक्स वितरण गरेको हो । कार्यक्रम प्राधिकरणका प्रमुख दीपकजंग चौधरीको अध्यक्षता र वडा नं. ११ का वडा अध्यक्ष चित्रबहादुर वलीको प्रमुख आथित्यमा वडाका ३० जना विपन्न परिवारलाई निःशुल्क रूपमा विद्युत्को मिटर बक्स वितरण गरिएको हो । वडा कार्यालयले गरेको सिफारिसका आधारमा विद्युत् प्राधिकरणले निःशुल्क मिटर बक्स वितरण गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष वलीले विद्युत् कार्यालयले विपन्न परिवारलाई निःशुल्क मिटर बक्स वितरण गरेर राम्रो कार्यको सुरुवात गरेको बताए । यसले गरिवका झुपडीमा पनि बिजुली बत्तीको उज्यालो पु¥याउने स्थानीय सरकारको सपना सार्थक हुने आशा उनले व्यक्त गरे ।
विद्युत् प्राधिकरणका प्रमुख चौधरीले उज्यालो नेपाल कार्यक्रमअन्तर्गत सबैको गरिबको घरको अन्धकार हटाउन प्राधिकरणको केन्द्रीय योजनाअनुसार मिटर बक्स निःशुल्क वितरण गरिएको जानकारी दिए । यो अभियानले विद्युत् चोरी अभियानको अन्त्य हुने उनले आशा व्यक्त गरे । वडा सदस्यहरु घनश्याम गौतम र सुवाश डिसीले सधंै आसपासका धनी मानिसको घरको उज्यालो हेरेर बस्नु पर्ने परिस्थिति अन्त्य गर्न विद्युत्ले निकै उदारणहरणिय भूमिका निर्वाह गरेको बताए ।
३५ लाख बराबरको मिटर बक्स वितरण गरिँदै
तुलसीपुर विद्युत् प्राधिकरणले तुलसीपुर उपमहानगरपालिका–२ को सिफारिसको आधारमा त्यहाँ पुगेर २० जनालाई निःशुल्क मिटर बक्स वितरण गरेको थियो । यसअघि प्राधिकरणले आफ्नो कार्य क्षेत्रअन्तर्गत पर्ने दंगिशरण, शान्तिनगर र बबई गाउँपालिकामा निःशुल्क मिटर बक्स वितरण सकिसकेको छ । बुधबारसम्म कुल ४ सय ८० वटा मिटर बक्स विपन्न परिवारलाई वितरण गरि सकिएको छ । केन्द्रीय सर्कुलेसन अनुसार एउटा गाउँपालिकामा १ सय ६० वटा र उपमहानगरपालिकामा २ सय ६० वटा मिटर बक्स निःशुल्क वितरण गर्ने अनुमतिप्राप्त रहेको कार्यालयका प्रमुख दीपकजंग चौधरीले जानकारी दिए ।
जिल्लामा एउटा मिटर बक्सको मूल्य सेवा शुल्कसहित २ हजार ५ सय रुपैयाँ पर्छ । त्यो जडान गर्न आवश्यक तारसहित सबै जोडेर एउटा मिटर बक्सको कुल ४ हजार २ सयदेखि ४ हजार ५ सय रुपैयाँसम्म पर्ने प्रमुख चौधरीले बताए । “हामीले एउटा मिटर बक्सको एभरेज ५० मिटरको दरले तार लाग्ने गरि हिसाब निकालेका छौं,” प्रमुख चौधरीले भने, “कतै त ५÷ ७ सय मिटरसम्म तार तान्नु परेको अवस्था छ ।” तुलसीपुर विद्युत् प्राधिकरणले कुल ७ सय २० वटा मिटर बक्स निःशुल्क रूपमा वितरण गर्ने अख्तियारी पाएको र त्यसमध्ये बुधबारसम्म ४ सय ८० वटा वितरण भइसकेको चौधरीले जानकारी दिए ।
पहिला हामी गाउँपालिकाका विकट बस्तीमा वितरण गर्न थालेको बताए । विकट क्षेत्रमा सकेर अहिले उपमहानगरपालिकाभित्र वितरण गर्ने थालिएको बताए । सकभर यही महिनामा वितरण गरेर सक्ने प्रयास गरिएको उनको भनाइ छ । त्यस्तै उनले हालसम्म झन्डै २५ लाख रुपैयाँ बराबरको मिटर बक्स वितरण गरिएको जानकारी दिए ।

 


सातामा धेरै पढिएको