कारोबार संवाददाता
शुक्रवार, श्रावण २४, २०७६
538

ताप्लेजुङ-बिहानीको सिमसिम साउने झरी । घरको आँगनमा जनप्रतिनिधिसहित स्थानीयवासी । गोलो आकारको उपस्थितिले आँगनकोबीच भाग खाली छ । फुङ्लिङ् नगरपालिका–५ की वडाध्यक्ष भीमादेवी ओझाले ढिला नगरी उपभोक्ता समिति गठन निर्देशिका वाचन गरिन् । “ठूला योजना पनि माघसम्म सम्पन्न गर्ने अभियानमा छौं ।” वडाध्यक्ष ओझाले भनिन्, “साउन मसान्तसम्म उपभोक्ता समिति गठन गर्छौं । भदौदेखि योजनाको काम सुरु गरी तोकिएको समयमा सक्छौं ।”
वडा नं.–५ स्थित उकालीपानीमा ३ वटा योजना सञ्चालन गर्न उपभोक्ता समिति गठनका लागि भेला भएका छलफलमा जुटे । वडासचिव कर्ण मादेनसहित वडासदस्यहरूले उपभोक्ता समिति गठनका लागि सहजीकरण गरे । ३ वटै योजनाको समितिमा महिला, पुरुष, दलित, अपांग तथा पिछडिएका वर्गलाई समावेश गरियो । ३ लाखको उकालीपानी पैदलमार्गको समिति अध्यक्षमा छनोट भएका लक्षुमण गुरुङले तोकिएकै समयभित्र सम्झौता गरी काम सक्न आतुर रहेको बताए । गुरुङले भने, “प्रायः असारमा मात्र उपभोक्ता समिति गठन र काम हुन्थ्यो । यद्यपि लाभान्वित घरधुरी भेला भएर बेलामा गरेको काम गुणस्तरीय र पारदर्शी हुने अपेक्षा छ ।”

वडाअध्यक्ष ओझाका अनुसार वडाका लागि ९२ लाख रुपैयाँका १७ वटा योजना स्वीकृत भएका छन् । पूर्वाधार निर्माण, मठमन्दिर जिर्णोदार, सामुदायिक भवन, जनचेतनामूलक कार्यक्रम समावेश छन् । टोल सुधार समिति सचिव अमृत खुदाङले वडाले समितिका लागि प्रशासनिक खर्चमा भेदभाव गरेको दुःखेसो पोखे । गाउँमा योजना छनोटदेखि वडा तथा नगरको गतिविधिबारे सू–सुचित गराउने कामका लागि खर्च भएको रकमसमेत दिने भनेर नदिएको उनले बताए । सचिव खुदाङले भने, “अरु वडाका समिति नै पिच्छे १० हजार दियो । तर हामीलाई दिइएन, किन ?” जवाफमा वडाध्यक्ष ओझाले भनिन्, “नगरका ११ वटै वडाका गरी थुप्रै समिति छन् । यदि दिइएको रहेछ भने म पहल गर्छु ।”
फुङलिङ नगरपालिका–९ का वडाध्यक्ष तारानाथ बरालले साउनमै उपभोक्ता समिति गठनको तस्बिर आफ्नो फेसबुकमा सेयर गरे । अध्यक्ष बरालले भने, “तस्बिर असारे विकास अन्त्यको संकेत हो । किनकि बजेट आएकाले समिति गठनसँगै काम गर्ने बाटो खुल्यो ।” फुङलिङ नगरपालिका–२ का वडाध्यक्ष मोहन न्यौपानेले विकासका काम गर्न असार कुर्ने प्रवृत्तिको अन्त्य गर्न नगर सरकार लागि परेको बताए । नगरपालिका प्रवक्तासमेत रहेका न्यौपानेले भने, “बेलामा समिति गठन र सम्झौतामात्र गर्दैनौ । कामको गुणस्तरियता पनि जाँच गर्छौ ।” चालू आव ०७६-७७ का लागि फुङलिङ नगरपालिकाले स्वीकृत गरेको योजना सञ्चालनका लागि उपभोक्ता समिति गठन सुरु गरिएको छ । समिति गठन, सम्झौता, अनुगमन र निकासा एउटै महिनामा गरिने असारे विकासको झल्को दिने गरी काम अब हिउँदमै सम्भव हुनेमा स्थानीयवासी आशावादी छन् ।

देवराज गुरुङ