कारोबार संवाददाता
शुक्रवार, श्रावण २४, २०७६
266

सिन्धुपाल्चोक-अविरल वर्षात्का कारण पहिरो जान थालेपछि भूकम्पपीडितका घर बगाउनुका साथै जिल्लाका विभिन्न गाउँवासी विस्थापित हुन थालेका छन् । घर माथिबाट आएको पहिरो, नदीले कटान गरेको जमिन र भास्सिन थालेका जग्गाका कारण सम्भावित विपदका डरले स्थानीय विस्थापित हुन थालेका हुन् ।
लगातारको वर्षाले आएको पहिरोले भूकम्पपीडितका दुई घर बगाएको छ । दर्जनौं परिवार विस्थापित बनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वर्षाका कारण चौतारा साँगाचोकगढी नगरपालिका ३ बतासेमा दुई घर पहिरोले बगाएको हो । त्यस्तै लक्ष्यु र घट्टेखोलामा आएको बाढीले बलेफी गाउँपालिकामा दुई घर र एक विद्यालयमा पूर्णरूपमा क्षति पु-याएको कार्यालयका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । त्रिपुरासुन्दरी गाउँपालिका धुस्कुनमा पहिरोका कारण ९ घर विस्थापित भएका छन् भने २२ घर उच्च जोखिममा छ ।

प्रहरीको तथ्यांकअनुसार बतासेमा बगाएका दुई घरमा ३० लाख बढीको क्षति भएको छ । कुलबहादुर तामाङ र सेतीमाया तामाङले भूकम्पपछि पुनर्निर्माण गरेको घर पहिरोले बगाउँदा मानवीय क्षति हुन नपाए पनि चौपाया र अन्य धनमाल क्षति भएको हो । डीएसपी काफ्लेका अनुसार कुलबहादुरको गाई, बाख्रा, कुखुरा, घर गरेर १६ लाख ८० हजार रुपैयाँ बराबर र सेतीमायाको १३ लाख ६५ हजार रुपैयाँ बराबरो क्षति पुगेको छ । बलेफीको सिम्मासिङमा बाढीले सिम्मासिङ आधारभूत विद्यालय र चन्द्रमाया गुरुङको घरलाई क्षति पु-याएको हो । “यहाँ कुनै पनि बेला समस्या आउनसक्छ,” डीएसपी माधवप्रसाद भन्छन्, “एघार घर उच्च जोखिममा हुनुका साथै झण्डै ८० घर प्रभावित भएका छन् ।” पहिरो र बाढी पीडा भोग्न बाध्य बनेका जिल्लावासीलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको उनले जानकारी दिए ।
विस्थापितहरू कोही बारीको पाटामा आश्रय लिएका छन् भने केहीले छिमेकीको घरमा साँघुरिएर बसेका छन् । “बल्लबल्ल बनाएको एउटा घर पनि बगायो, परिवार राख्ने ठाउँ छैन,” आफू छिमेकीको घरमा शरण लिइरहेको बताउँदै बतासेका कुलबहादुर तामाङले भने, “भएको अन्न, धनमाल अनि चौपाया सबै बगाएकाले आफूसँग सिंगो ज्यानमात्रै बचेको छ ।” उनले अबको बाँकी जिन्दगी अन्योल भएको गुनासो पोखे ।
वर्षाका कारण पानीको भलसँगै खेतबारी बगाउँदै घरसम्म ल्याएपछि त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुनका शिवकुमार कार्कीको परिवारसहित गाउँका नौं परिवार विस्थापित भए । घर कामै नलाग्ने गरी क्षति भएको छ । “आम्दानीको स्रोत छैन, अनुदानबाट बनाएको घर पनि बगायो,” उनले भने, “घरमा मात्रै हैन खेतबारीमा पनि भलसँगैको पहिरो पसेको छ ।” खेत र बारीमा लगाएको सबै अन्न पहिरोले पुरेकाले अब परिवार कसरी पालने भन्ने चिन्ताले सताएको उनले दुःखेसो पोखे ।
घर माथिबाट पहिरो आउन थालेपछि स्थानीयवासीले उद्धारका लागि जनप्रतिनिधिले गुहारेका थिए । गाउँवासी पीडितबाट सहयोगको याचना आएपछि वडाअध्यक्ष सुकदेव रिसालले समस्या समाधानका लागि पहल गरिरहेको जानकारी दिए । “विस्थापितलाई आवश्यक सामग्रीको व्यवस्था हुँदैछ,” उनले भने । धुस्कुनको फागु, चित्रेपाटी, फापर चौर बढी जोखिममा रहेको उनले बताए । अविरल वर्षाका कारण सीमा गाउँ तातोपानीदेखि हेलम्बुसम्म जिल्लाभर साना ठूलो पहिरो गएस“गै अधिकांश बस्ती जोखिममा परेको छ ।

किशोर बुढाथोकी